• नियमित रुपमा गरेमा आगामी फागुनसम्म नेपाली कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नु पर्ने हो । तर, अहिलेको छाटकाट हेर्दा नियमित महाधिवेशन गर्नेतर्फ होइन, विधानमा रहेको विशेष अवस्थामा केन्द्रिय समितिको बहुमतले एक बर्ष थप्ने तर्फ सभापति शेरबहादुर देउवा र पदाधिकारी देखिन्छन् । त्यसैको तयारीका रुपमा अहिलेको राष्ट्रिय जागरण अभियान रहेको धेरैको आकलन छ । यी र कांग्रेसको आन्तरिक राजनीतिका बारेमा हामीले कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालासंग कुराकानी गरेका छौं । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको सारसंक्षेप :

    स्थापनमा सभापति शेरबहादुर देउवासंग धेरै असन्तुष्टि बाहिर आएको देखिन्न । तर, पुरानो सस्थापन गुटभित्रको उपगुटमा विभक्त छ, नेताहरु त्यसैमा रमाइरहेका छन । ति गुट मिलाउने प्रयास तपाईले गरिरहनु भएको छ, कुरा मिल्यो त ?
    हो, अलि सिनियर भनिएका सबै नेता केहिले मुख खोलेरै केहिले रणनीतिक रुपमा आफुलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्न लाग्नु भएको छ । बाहिर नखुलेपनि विमलेन्द्र नीधि समेत सभापतिको उम्मेदवार भएको आफ्ना निकटस्थहरुलाई भनिरहनु भएको छ ।

    वरिष्ठ उपभापति भएकाले सभापतिमा दावी गर्नु प्राकृतिक र स्वभाविकै हो । अहिलेसम्म त सबै उम्मेदावर भनिरहेका छन् । बाहिर देखिएजस्तो नेताहरुबीच भेटघाट नभएको भने होइन । क्लोजली कुराकानी भइरहेको छ । जिल्ला जिल्लामा पुग्दा सबै समूहका नेता कार्यकर्ता भेट्छु ।

    जिल्लाका कार्यकर्तामा अहिलेका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल हुँदै हुँदैन भनेर स्पष्ट रुपमा भनिरहेका छन् । तर, उनीहरु नभएपछि को हो भन्ने खोजीमा छन् । अहिलेसम्म डा. शेखर, डा. शशाङ्क, प्रकाशमान, सिटौला, अजुनजी कोहीलाई पनि यही हुनु पर्छ भनिरहेका छैनन्, नयाँ नेतृत्व कसलाई ल्याउने भनेर खोजिरहेका छन् ।

    १३ औं महाधिवेशनमा तत्कालिन सस्थापन एक हुन नसक्दा देउवा सभापतिमा निर्वाचित हुनुभयो । त्यसवेला के गल्ती भएको थियो ?
    मुख्य गल्ती रामचन्द्र जीले सिटौला जीलाई व्यवस्थापन गर्न प्रयास नगरेर गर्नुभयो । रामचन्द्रजीमा व्यवस्थापकीय क्षमता देखिएन । उहाँहरुले प्यानल बनाउनु भयो, किनकि बनाउँने बेलामा कहिले म सामेल हुन्थे, कहिले हुदैनथे ।

    सबैलाई समेट्न नसक्दा असन्तुष्टि देखियो साथीहरुमा तिमीलाई यहाँ व्यवस्थापन गछौं भनेर सम्झाइ कोहि भएन । सबै आ–आफ्नो तरिकाले अगाडि बढ्दा महाधिवेशन प्रतिनिधिलाई गुटमा प्रतिवद्ध बनाउने कोहि भएन ।

    अहिले पनि पुरानो सस्थापन एक हुने सम्भावना देखिन्न, सस्थापन एक गठ हुने सम्भावना कत्तिको छ ?
    पुरानो सस्थापनमा एकता ल्याउने प्रयास त भइरहेको छ । तर, एक हुने सम्भावना त्यति देखिन्न । बर्तमान सस्थापन पनि १४ औं महाधिवेशनसम्म एक गठ रहने सम्भावना त म त्यति देख्दिन ।

    देउवाजीलाई पहिलेदेखि अहिलेसम्म सहयोग गरिरहेका र मत दिएका साथीहरुले त्यो व्लकमा आफ्नो भविष्य देखिरहेका छैनन् । पार्टी खत्तम भइसक्यो भन्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।

    अहिलेसम्म चुनावमा हारको जिम्मेवारी सभापतिजीले नलिनुमा उहाँको पक्षका नेताहरु नै रुष्ट छन् । चुनावको समिक्षाका लागि कांग्रेसको केन्द्रीय समिति बोलाउन ६ महिना लाग्यो । अहिलेका युवा पुस्ताले त पार्टी बाच्यो भने मात्रै हामी अगाडि जान सक्छौं भन्ने हेर्छन नि । पार्टी कमजोर भयो भने हाम्रो भविष्य के हुने भन्ने चिन्ता उनीहरुको छ ।

    सभापति भएर के गल्ती गरेकाले देउवासंग धेरै नेता कार्यकर्ता रुष्ट छन् ?
    गुटको राजनीतिमा रमाउने बानीले कांग्रेसलाई सबैभन्दा धेरै कमजोर बनाएको छ । देउवाजी आफैले सरकारको नेतृत्व गर्दा र कांग्रेसको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्रहरी महानिरिक्षक नियुक्ति प्रकरण, प्रधानन्यायाधिस सुशीला कार्कीलाई महाअभियोग प्रकरण, राजदुत नियुक्ति प्रकरणलगायतका प्रकरणले कांग्रेसलाई कमजोर बनाएको छ ।

    यी कार्यले पार्टी कार्यकर्तामा राम्रो भन्दा नराम्रो सन्देश वढि पुग्दा पार्टीलाई घाटा पु¥यायो । स्थानीय तहमा पार्टीका तर्फबाट कहि कतै पनि उम्मेदवारको टिकट दिदा पार्टीमा कसैसंग पनि छलफल गर्नु उपयुक्त ठान्नु भएन ।

    प्रचण्ड सधै कांग्रेससंगको सहकार्यमा रहन्छन् भन्ने इम्प्रेशन परेपछि पार्टीले भरतपुर महानगर पालिकामा दिएको उम्मेदवारी सभापतिको भिटो लगाएर फिर्ता लिएर प्रचण्डकी छोरी रेणु दाहाललाई सहयोग गर्ने सर्कुलर जारी गर्नु भयो ।

    तत्कालिन माओवादीसंग साठगाठ गरेर टिकट वितरण भयो, स्थानीय तहमा । टिकट कसरी वितरण भयो भन्ने सबैसामु जगजाहेरै छ ।

    निर्वाचनका बेला गरेको गल्ती चाहि के थियो ?
    स्थानीय तहको टिकट केन्द्रले दिन मिल्दै नमिल्ने कुरा थियो । तर, देउवा जीले केन्द्रबाटै टिकट दिनुभयो, जसले नतिजा अप्रत्यासित आयो । केन्द्रका नेताले स्थानीय तहमा लोकप्रिय मान्छे नचिनेकोले आफ्ना निकटलाई टिकट दिदा यस्तो अवस्था आयो ।

    प्रदेशसभा र प्रतिनिधिसभामा टिकट वितरण गर्दा पनि केहि कमजोरी भएका छन् । कांग्रेसले उपेन्द्र यादवलाई छोडिदिने, महन्थ ठाकुरलाई छोडिदिने, विक्रम पाण्डेलाई छोडिदिने विषयमा संसदीय बोर्डको बैठकमा कहिल्यै छलफल भएन, त्यो बोर्डमा म पनि थिए ।

    को संगको छलफलका आधारमा दिइयो, जानकारी दिइएन । ६ महिना अगाडि रेणु दाहाल ठिक, ६ महिना पछाडि विक्रम पाण्डे ठिक, कसरी हुन्छ ? कमल थापालाई कांग्रेसले छोडिदिन पर्ने, तर कमल थापाले कांग्रेसका उम्मेदवार विरुद्ध उम्मेदवार उठाउँदा उहाँले केहि नभन्ने । सिटौला जी हार्नुमा सभापतिको होइन भने कस्को गल्ती हो ?

    दुई तिहाई मत भएको नेकपासंग सशक्त रुपमा विरोध गर्न किन सकिरहेको छैन कांग्रेसले ?
    नेपाली कांग्रेसका सस्थापक अग्रजहरुले हामीलाई एउटा राजनीतिक सस्कार दिएर जानु भएको छ । लोकतान्त्रिक पद्धतिमा तिमीहरु हिड् भन्ने उहाँहरुको उपदेश हामीलाई छ । अर्को राजनीतिमा नैतिकता हुनुपर्छ भन्ने पाठ पनि सिकाएर जानु भएको छ ।

    नैतिकता विनाको राजनीति गडबडाउछ । हामी त्यही अवस्थामा छौ । उहाँहरु नैतिकताका आधारमा राजनीति गरेकाले कसैले औला ठड्याउन सकेनन् । अहिले नैतिकताको कसीमा खरो उत्रिन सकेका छैनौं । चाहे नेतृत्वमा रहेका नेताहरु होउन वा म लगायत अन्य साथीहरु । कांग्रेस त्यसैले कमजोर भएको हो । नेतृत्वमा रहेकाले धेरै जिम्मेवारी त अवस्य नै लिनुपर्छ ।

    जागरण अभियानको क्रममा नेतृत्वले डण्डा बर्साउन लाग्यो भनेर टिप्पणी गर्नु भाथ्यो, कारण के हो ?
    जनजागरण अभियानमा ७७ जिल्लामै अनुशासन समितिले कांग्रेस नेतृत्वलाई नेता कार्यकर्ताले केहि लाल्छना लगाए तुरुन्त खवर गर्नु भनेको छ । त्यो भनेको डण्डा चलाउन खोजेको होइन । कांग्रेस के रेजिमेण्टेड पार्टी हो ।

    आजभोलि मलाई खुसी लाग्छ, नेकपाभीत्र पनि रेजिमेन्टेसन हट्न लाग्यो । त्यो पार्टी र मुलुकका लागि खुसीको कुरा हो । बामदेव गौतमले मिडिया काउन्सीलको बारेमा बक्तव्य निकाल्नु भयो, त्यो प्रधानमन्त्री वा पार्टी अधयक्षलाई सेन्सर गरेको हो नि । नेता कार्यकर्ताले सभापतिलाई सेन्सर गर्न नपाउने हो भने, पार्टी कहाँ रहयो, एनजीओ भइहाल्यो नि ।

    सभापति पार्टीको स्थानीय समितिलाई नेतृत्वको सुराकी बनाउने तयारीमा हुनुहुन्छ ?
    स्थानीय तहलाई मात्रै होइन, डिएलएलाई चिठी नै लेखेर खटाएको छ ।

    जागरण अभियानप्रति तपाईको असन्तुष्टि हो ?
    महासमितिमा अलिअलि छलफल भयो । तर, केन्द्रीय समितिमा मसिनो छलफल नै नगरी अभियान सुरु भयो । कांग्रेसको संगठनबारे कार्यकर्तालाई ऊर्जाशील र चुस्तदुरुस्त बनाउने अनि सरकारका गलत कामबारे कार्यकर्ता र नागरिकलाई सुसूचित गराउने मुख्य दुई उद्देश्य हुन, अभियानका ।

    उद्देश्य ठीक छन्, तर बिडम्बना के भने वडादेखि प्रदेशसम्मै कांग्रेसको संगठन छैन । पहिला संगठन निर्माण गरेर मात्रै अभियान गरेको भए पो ठिक हुन्थ्यो छ, संगठन नै नभएको अवस्थामा अभियान गरेर के काम ? हामीले विधान त फे¥यौँ, संरचना फेरेनौँ ।

    वडा, गाउँपालिका, नगरपालिका र प्रदेशमा नै संरचना नभएपछि कसरी अभियान सफल हुन्छ ? गाउँपालिकाको अध्यक्ष छैन, वडामा दुई–तीनजना सभापति छन । क्षेत्रीय सभापति पहिले २४० जना थिए, अब १६५ जना बनाउनुपर्ने अवस्था छ ।

    अभियानको गर्नुको उद्धेश्य के पाउनु भयो ?
    विधानअनुसार यही वर्ष १४औँं महाधिवेशनका कार्यक्रम सुरु हुनुपर्ने हो । त्यसो गर्दा वडा, पालिका वा प्रदेशको पनि संरचना बन्ने थियो । प्राथमिकता त त्यो पो हो । अधिवेशनभन्दा जागरण अभियानमा जोड गर्नु भनेको महाधिवेशन सार्ने सभापतिको दाउ पो हो कि ?

    विधानमा भएको व्यवस्थामा टेकेर सार्न त मिल्यो नि होइन र ?
    विशेष परिस्थितिमा एक वर्ष लम्ब्याउन पाउने व्यवस्था छ । तर, विशेष परिस्थिति के छ ? हामी संघ र कुनै पनि प्रदेशमा सरकारमा छैनौँ । यस्तो वेलामा त संगठन गर्ने हो ।

    अधिवेशन भयो भने गुटबन्दी पनि कम हुँदै जान्छ । अन्तरघुलन हुन्छ । तर, सभापति कार्यकर्ताको ध्यान ‘डाइभर्ट’ गर्ने र महाधिवेशनबाट भाग्ने सोचमा देखिनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…