काठमाडौं : नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न सकेन। पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो।
सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएको पाइएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा गणतन्त्र दिवसका अवसरमा आयोजित पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा रामचन्द्र पौडेल पक्षीय नेताहरू उपस्थित नै भएनन्।
नेता पौडेल पनि जागरण अभियान चलिरहेका बेला निकट नेताहरूलाई लिएर जिल्लहामा निस्के। पौडेल मात्र होइन, नेता प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, शेखर कोइरालासहितका नेताहरूले पनि आफ्नो सक्रियता बढाए। उनीहरूको ध्यान पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानेभन्दा नेतृत्वको आलोचना गर्ने र आगामी महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउनमै केन्द्रित बनेको छ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले सञ्चालन गरेको अभियानले नेता–कार्यकर्तासँगको भेटघाटमा सहयोग पु¥याएको दाबी गरे। पार्टीको संरचनाबिनै सुरु गरेको अभियानले ठूलो परिणाम दिन नसक्ने उल्लेख गर्दै पौडेलले १४औं महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिए। ‘कहाँ के समस्या रहेछ र को–को सक्रिय रहेछन् भन्ने जानकारी लिने काम भएको छ,’ उनले भने, ‘कांग्रेसलाई जगाउने हो भने अब महाधिवेशनमा जुट्नुपर्छ।’
पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँ संविधानअनुसार पार्टी संरचना निर्माण नहुँदा जागरण अभियान प्रभावकारी बन्न नसकेको दाबी गरे। ‘
आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आमलोकतन्त्रवादीमा समेत निराशा छाएको छ,’ उनले भने। पार्टीलाई विधिविधानका साथै विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थका आधारमा सञ्चालन गर्ने प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाउँदै सिंहले मुलुकमा रहेका चुनौती सामना गर्न पार्टी सशक्त र प्रभावकारी बन्नुपर्ने आवश्यकता औल्याए। ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो,’ सिंहले भने, ‘यही ढर्राले पार्टी चल्दैन।’
केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले शीर्ष नेताहरूको ध्यान महाधिवेशनतर्फ केन्द्रित रहे पनि तल्लो तहका नेता–कार्यकर्ताको ध्यान संगठन निर्माणमै रहेको बताइन्। केन्द्रमा मौलाएको गुटको असर तल्लो तहसम्म परेको गुनासो आमनेता तथा कार्यकर्ताको रहेको सुनाउँदै उनले भनिन्, ‘केन्द्रमा गुटबन्दी हुँदा तलसम्म समस्या भयो।
केन्द्रीय तहबाटै सच्चिएर आउनुप¥यो भन्ने सबैको धारणा छ।’ कांग्रेसले कांग्रेसलाई नै हराएको भन्दै केही ठाउँमा गुटगत आरोप–प्रत्यारोप भए पनि अभियानका कारण मन माझामाझ भएको उनले सुनाइन्। ‘सरकारका गलत कामविरुद्ध जनतालाई जागृत गराउने र पार्टी संगठनलाई चलायमान बनाउने एउटा राम्रो माहोल बनेको छ।’
केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीले सञ्चालन गरेको पहिलो चरणको जागरण अभियानले तल्लो तहसम्मका संगठनलाई चलायमान बनाउन सहयोग पुगेको दाबी गरे।
पार्टीका तल्लो तहसम्मका संरचनाहरू निर्माणमा पनि अभियानले सहयोग पु¥याएको बताउँदै यादवले भने, ‘केन्द्रदेखि तलसम्म रहेको गुटगत विभाजनलाई कम गर्न सहयोग पुग्यो।’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणको अभियानले पार्टीलाई ऊर्जा थपेको दाबी गरे।
‘पहिलो चरणको अभियानले गाडी स्टार्ट भएको छ,’ शर्माले भने, ‘दोस्रो चरणले गाडीलाई हाइवेमा ल्याउँछ र तेस्रोले गन्तव्यका लागि गति दिनेछ।’
आफ्नै नेतृत्वमा जारी संविधानअनुसार पार्टीको सांगठनिक संरचना बदल्दै कांग्रेसले विधान संशोधन गरेको छ। नयाँ संविधानअनुसार प्रदेशदेखि तल्लो तहसम्मका कार्यसमिति र निकायहरूलाई मात्र होइन, पार्टीका विभाग अझै गठन हुन सकेको छैन।
आठ तहको सांगठनिक संरचना बनाएको कांग्रेसले केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र बुथको व्यवस्था विधानमा छ। तर १४औं महाधिवेशनसँगै ती संरचनाहरूलाई पूर्णता दिँदै जाने पार्टी पदाधिकारीहरूले बताउँदै आएका छन्।
पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ माघ २ गतेदेखि नेतृत्वविहीन छ भने तरुण दलसहितका भ्रातृ संगठनको केन्द्रीय समिति पूर्ण छैन।
कांग्रेसले शनिबार कैलाली र कञ्चनपुरबाहेकका जिल्लामा एकमहिने अभियान समापन गरेको छ। तीन चरणको अभियान सञ्चालन गर्नेगरी कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले पुस १६ गते अभियान समापन गर्नेछ।
नागरिक दैनिकबाट