काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक महिनाअघि जागरण अभियानलाई पार्टी सुधार गर्ने ‘ट्याब्लेट’ का रूपमा चित्रण गरेका थिए । शनिबार पहिलो चरण सकिँदै गर्दा उनले यो अभियानलाई गाडीसँग दाँजे । ‘पहिलो चरणमा कांग्रेसले गाडी स्टार्ट गरेको छ, दोस्रो चरणले स्टार्ट भएको गाडी हाइवेसम्म ल्याउँछ,’ उनले कान्तिपुरसँग भने, ‘तेस्रो चरणको कार्यक्रमले गन्तव्यसम्म पुर्याउँछ ।’
स्थानीय तहका नेता तथा कार्यकर्ताले भने पार्टी सुधारका लागि तलभन्दा केन्द्रकै मुहान सफा हुनुपर्ने सुझाव दिएका छन् । झापाका जिल्ला अध्यक्ष उद्धव थापाले जागरण अभियानले पहिला नेताहरू नै जागृत हुनुपर्छ भन्ने निचोड निकालेको सुनाए । ‘तल धेरै बिग्रेको छैन । बिग्रेको केन्द्र हो,’ एक महिनासम्म कार्यक्रममा खटिएका उनले भने, ‘पहिला नेताहरूमै जागरण सुरु होस् भन्ने आम कार्यकर्ताको मत छ ।’
कार्यकर्ताको मनोबल उठाउन भन्दै कांग्रेसले वैशाख २५ देखि जागरण अभियान चलाएको थियो । शनिबार जिल्ला केन्द्रित जागरण अभियान सकिएको छ । दोस्रो चरणको प्रदेश निर्वाचन क्षेत्र केन्द्रित अभियान भदौ २४ बाट असोज १० सम्म हुनेछ । तेस्रो चरणमा पुस ७ देखि १६ सम्म पालिकामुखी अभियान हुनेछ ।
दोस्रो चरणको अभियान सुरु हुनु अगावै नेताहरूले एकताको ठोस सन्देश दिनुपर्ने माग कार्यकर्ताको छ । कांग्रेस केन्द्रीय कार्यालयको प्रारम्भिक रिपोर्टअनुसार पहिलो चरणको अभियानमा ७७ जिल्लामा ९ सयभन्दा बढी कार्यक्रम भएका छन् ।
अभियानअन्तर्गत सभा, जुलुस, अन्तर्क्रिया र चेतनामूलक कार्यक्रम गरिएका थिए । केन्द्रले सबै जिल्लामा प्रतिनिधि खटाएको थियो । कार्यक्रम छिटो छरितो बनाउन एक महिलासहित ५ जनाभन्दा बढी वक्ता हुन नहुने नियम केन्द्रले सबै जिल्लालाई सर्कुलर गरेको थियो । आसन ग्रहणमा त्यस्तै नियम बनाइएको थियो । नेताहरूलाई ठूला माला पहिर्याउन बन्देज गरिएको थियो । ‘आसनग्रहण र भाषणको पट्यारलाग्दो प्रवृत्तिमा सुधार आउनु सुखद पक्ष हो,’ थापाले थपे, ‘कार्यकर्ताले पार्टी सुधारका लागि धेरै मुद्दा उठाएका छन् । ती मुद्दा नेतृत्व तहकाहरूले कसरी लिन्छन्, त्यसैको पर्खाइमा तल्ला तहका कार्यकर्ता छन् ।’
उनका अनुसार कार्यकर्ताले नेताहरूप्रति मुख्य रूपमा प्रतिपक्षले बलियो र प्रभावकारी भूमिका निर्वाह नगरेको विषयमा प्रश्न गरेका छन् । सरकार काण्डैकाण्डमा फस्दा प्रतिपक्षले बलियो प्रतिवाद गर्न नसकेको गुनासो कार्यकर्ताले गरेका छन् । तीन तहकै सरकारमा कांग्रेस प्रतिपक्षमा छ । वाइडबडी घोटाला, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण, संविधानविपरीत संसद्मा विधेयक प्रस्तुत, संवैधानिक परिषद्मा विपक्षी दलको नेताबिनै भएका निर्णयलगायतका मुद्दालाई पार्टीका नेताहरूले दह्रोसँग उठाउन नसकेको गुनासोसमेत उनीहरूको छ ।
जुम्लाका सभापति दीपबहादुर शाहीले केन्द्रीय सदनमा पार्टीका सांसदहरूले बेलाबखत मुद्दा उठाए पनि प्रदेश र स्थानीयस्तरमा भने प्रतिपक्षको भूमिका निकै कमजोर रहेको बताए । ‘त्यसका पछि मुद्दाहरूमा लिने अडानमा पार्टी नेताहरूकै अन्योलले पनि काम गरेको छ,’ उनले भने । उनका अनुसार पार्टीका स्थानीय तहका संरचना तदर्थ छन् । संघीय मोडलअनुसारको संरचनाका पार्टी संगठन छैनन् । प्रदेश कार्यसमिति नहुँदा प्रदेश सरकारमा प्रतिपक्षीय भूमिका फितलो छ ।
त्यस्तै अन्योल स्थानीय सरकारका कामकारबाहीमा पनि छ । ‘यो जागरण अभियानले गाउँगाउँमा प्रतिपक्षीय भूमिका निर्वाह गर्न चेतना जगाएको छ,’ शाहीले भने, ‘तर केन्द्रमा नेताहरूको गुटगत संकीर्ण भावनाले पार्टी संरचना अझै तदर्थमा छ । संघीय ढाँचाअनुसार संगठन बनाउन नसक्नु नेताहरूको कमजोरी हो । कांग्रेसलाई एकढिक्का बनाउन पहिला नेताहरूमै जागरण होस् भन्ने धारणा कर्णालीमा पनि छ ।’
कार्यकर्ताले पहिले जागरण अभियान कि संगठन सुधार भन्ने प्रश्न पनि उठाएका छन् । केन्द्रीय कार्यसमितिको म्याद आगामी दस महिनामा सकिँदै छ । विधानअनुसार फागुन मसान्तमा नियमित महाधिवेशन गर्नुपर्छ । केन्द्रीयको महाधिवेशन हुनुभन्दा एक वर्ष अगावै स्थानीय तहको अधिवेशन भइसक्नुपर्ने विधानमा भनिएको छ ।
सभापति शेरबहादुर देउवा भने महाधिवेशनतिर भन्दा आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा डेढ वर्ष कार्यकाल बढाउने योजनामा छन् । यसबारे देउवाले केन्द्रीय कार्यसमिति बैठकमै जानकारी गराएका थिए । पार्टी विधानले चार वर्षको कार्यकाल तोकेको छ । विधानअनुसार थप एक वर्ष बढाउन पाइन्छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाले साढे ५ वर्षसम्म महाधिवेशन गर्न सुविधा दिएको छ । त्यही प्रावधानलाई टेकेरै महाधिवेशन सार्ने योजनामा देउवा रहेका हुन् ।
पाल्पाका कांग्रेस सभापति वीरबहादुर रानाले नियमित समयमै महाधिवेशन गर्नुपर्ने र प्रतिपक्षको भूमिका सशक्त बनाउनुपर्ने आवाज चौतर्फी उठेको बताए । ‘संविधान बनाउन नेतृत्व गरेको पार्टीकै संरचना पुरानै ढाँचामा रहँदा गलत सन्देश गएको छ,’ उनले भने, ‘त्यसै कारण नियमित महाधिवेशन समयभित्रै गर्नुपर्नेमा तल्ला तहका कार्यकर्ताको जोड छ ।’
स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज नभएको र समानुपातिक समावेशिता कोटा दोहोर्याउन नपाउने व्यवस्था विधानमा नराखिएको प्रति कार्यकर्ताहरू रुष्ट देखिएका छ । महासमिति बैठकमा दुई तिहाइभन्दा बढी सदस्यको ‘म्यान्डेट’ विपरीत केन्द्रीय कार्यसमितिले उल्टाएको यस व्यवस्थालाई सच्याउनुपर्ने उनीहरूको आग्रह थियो । कतिपय जिल्लामा गुटगत प्रभावको असर कार्यक्रममै देखिएको थियो । एउटा गुटले गरेको कार्यक्रममा अर्को गुटका नेता तथा कार्यकर्ता सहभागी भएका थिएनन् ।
सप्तरीका सभापति दिनेश यादवले अभियान उत्साहजनक भएको बताए । ‘सप्तरीमै ५० हजारभन्दा बढी कार्यकर्ता कार्यक्रममा सहभागी भए । यस्तो अभियान ०४६ सालपछि अहिल्यै देखिएको हो,’ उनले भने, ‘मधेस कांग्रेसको भोट बैंकसमेत हो । मधेसीप्रति मधेसका जनताको भरोसा टुटेको पाइयो ।’
भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा नेताहरूलाई मिल्न कार्यकर्ताको ठूलो पंक्तिबाट दबाब परेको बताए । ‘पार्टी एक हुनुपर्छ भन्ने चाहना सबै कार्यकर्तामा छ,’ उनले भने, ‘पार्टीभित्र धेरै गुट भए पनि भक्तपुरमा त्यसको प्रभाव परेन ।’ पार्टी प्रवक्ता शर्माले पनि ०४६ सालपछि जागरण अभियानले पार्टीमा उत्साह ल्याएको दाबी गरे ।
उनका अनुसार जागरण अभियानका क्रममा १२ वटा भाषाका गीत बजाइएका थिए । ‘यो अभियानले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई जोड्ने काम मात्रै गरेन, आम पार्टीको संयन्त्रलाई समेत जोड्दै नेतासँगै पार्टी दौडिरहेको सन्देश दिएको छ’ शर्माले भने ।