काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १ महिना लामो राष्ट्रिय जागरण अभियान समापन भए पनि काँग्रेसका नेताहरु बीचको आरोप प्रत्यारोप अझै सकिएको छैन । कार्यकर्ताको मनोबल उठाउन भन्दै काँग्रेसले वैशाख २५ देखि जागरण अभियान चलाएको थियो । शनिबार पहिलो चरणको जिल्ला केन्द्रित जागरण अभियान सकिएको छ । दोस्रो चरणको प्रदेश निर्वाचन क्षेत्र केन्द्रित अभियान भदौ २४ बाट असोज १० सम्म हुनेछ । तेस्रो चरणमा पुस ७ देखि १६ सम्म पालिकामुखी अभियान हुनेछ । काँग्रेसका ‘दस भाइ’ युवा नेताहरुले जागरण अभियान सञ्चालनका लागि नेतृत्वलाई दबाब दिँदै आएको थिए ।
यता गत असारमा हेटौँडामा बसेको काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलाले पनि जागरण अभियानको माग गरेको थियो । यस्तै मङ्सिर– पुसमा सम्पन्न महासमिति बैठकमा पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गराउनुपर्ने चर्को माग उठेको थियो । त्यसको केही समयपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आगमी १४औँ महाधिवेशन गर्नेगरी तालिका नै प्रस्तुत गरे । त्यसबेला महाधिवेशन पूर्वतयारीका लागि पौडेलले केही आधारसमेत प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको तालिकाको पहिलो नम्बरमा देशव्यापी जागरण अभियान सञ्चालन गर्ने उल्लेख थियो । महासमिति लगत्तै ‘पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित सदस्यता वितरण अभियान’ गर्ने पौडेलको प्रस्ताव थियो ।
प्रस्तावको चार महिनापछि सुरु भएको जागरण अभियानको पहिलो चरण सकिँदै गर्दा पार्टीभित्र केही प्रश्न पनि खडा भएका छन् । नेताहरु पहिला जागरण अभियान कि सङ्गठन सुधार भन्ने प्रश्नमा विभाजित मानसिकतामै छन् । सङ्घ र ६ वटा प्रदेशको सरकारमा काँग्रेस प्रतिपक्षी भूमिकामा छ ।
कार्यकर्ताले प्रतिपक्षले बलियो र प्रभावकारी भूमिका निर्वाह नगरेको, प्रमुख नेताहरु पार्टीमा भागबण्डाको खेतीमा लागेको भन्दै प्रश्न उठाइरहँदा नेताहरु ती विषय सम्बोधनमा लाग्नुको साटो पहिले जागरण अभियान कि सङ्गठन निर्माण भन्ने कुरामा रुमल्लिएका छन् । वाइडबडी घोटाला, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण, संविधानविपरीत संसदमा विधेयक प्रस्तुत, संवैधानिक परिषद्मा विपक्षी दलको नेताबिना नै भएका निर्णयलगायतका मुद्दालाई पार्टीका नेताहरूले मजबुत ढङ्गले उठाउन नसकेको नेतृत्वप्रति धेरै कार्यकर्ताको गुनासो छ ।
सरकार काण्डैकाण्डमा फस्दा प्रतिपक्षले बलियो प्रतिवाद गर्न नसकेका बेला जगारण अभियानबाट काँग्रेस जागृत हुने अपेक्षा गरिए पनि अपेक्षकृत माहोल तयार गर्न सकेको देखिँदैन । जागरणले औचित्य पुष्टि गर्ने नसकेको पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले खुलेआम बताइरहेका छन् ।
संस्थापनइतर पक्षले जागरण अभियान काँग्रेसलाई बलियो बनाउनभन्दा ‘सभापति शेरबहादुर देउवालाई बलियो’ बनाउन प्रयोग भएको आरोप लगाएका छन् । यता कार्यकर्ताले दोस्रो चरणको अभियान सुरु हुनुअगावै नेताहरूले एकताको ठोस सन्देश दिनुपर्ने माग अगाडि सारेको छन् । प्रमुख नेताहरुबीचको यस्तो आरोप– प्रत्यारोपको शृङ्खला अहिले युवा नेतासम्म आइपुगेका छ ।
विश्वप्रकाशमाथि गगनको बारम्बार काउन्टर
जागरण अभियान र नेतृत्व परिवर्तनको विषयलाई लिएर काँग्रेसका दुई युवा नेताबीच रोचक घोचपेच नै चलेको छ । कार्यक्रम जारी रहेका बेला केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान नेतृत्वबाट काँग्रेसमा जागरण नआउने बताएपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको बचाउ गरेका थिए । उनले अहिल्यै नेतृत्व परिवर्तनको बेला नभएको भन्दै पार्टीलाई नवीन ढङ्गले रूपान्तरण गर्न जागरण अभियानले सघाउने दाबीसमेत गरेका थिए ।
पहिलो चरको जागरण अभियान समापनपछि रातोपाटीसँगको कुराकानीमा पनि उनीहरुले आ–आफ्नै तर्क अघि सारे । थापाले भने, ‘पहिलो चरणको जागरण अभियान त सकियो । पार्टीको आदेशमा साथीहरू जिल्ला जानुभयो । तर सन्तुष्टि छैन, साथीहरूले असन्तोषबीच काम गर्नुभएको हो । भ्रातृसंस्थाहरूको अधिवेशन नहुँदा सबैतिर अन्योल छ । पार्टीको संरचना नहुँदा कार्यकर्ता अलमलमा छन् । अनि कसरी जागृत हुन्छ काँग्रेस ?’
थापाको दाबी विपरीत पार्टी प्रवक्ता शर्माले पनि ०४६ सालपछि जागरण अभियानले पार्टीमा उत्साह ल्याएको दाबी गरे । शर्माले भने, ‘जागरण समापन हुँदै गर्दा पार्टीमा एकताको सन्देश दिएको छ । यो अभियानले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई जोड्ने काम मात्रै गरेन, आम पार्टीको संयन्त्रलाई समेत जोड्दै नेतासँगै पार्टी दौडिरहेको सन्देश दिएको छ । अभियानले काँग्रेसले गति पनि समातेको छ ।’ तर प्रवक्ता शर्माको दाबीलाई खण्डन गर्दै नेता थापाले अभियानमा नै गुटगत ‘गन्ध’ आएको सङ्केत गरे ।
‘जागरणकै सिलसिलामा म १५–२० जिल्ला गएँ । जिल्लामा साथीहरू परिचालित भएका छन् । केही नभएका बेलामा जिल्लाका कार्यक्रमले तरङ्ग ल्याएका छन् । तर सँगै पार्टीको संरचना अस्तव्यस्त हुँदा संरचनाले काम गर्न पाएका छैनन्,’ नेता थापाले भने, ‘साथै सङ्घीयता अनुरूपका संरचना नहुँदा, भ्रातृसंस्थाको अधिवेशन नहुँदा तल गएर कसरी काम गर्ने भन्ने अन्योल जिल्ला जानुभएका साथीहरूमा देखियो । केन्द्रको गुटगत रोग जिल्ला तहमा पनि छ । जागरणको खटन पटनमा पनि गुटगत देखिएको गन्ध देखिएको थियो । यसले कसरी सबै नेता कार्यकर्तालाई जोड्छ । जागरण अभियानको घोषण गर्दा नै गहन, छफल र परामर्श गरिएन ।’ प्रवक्ता शर्माले जागरण अभियान कसैलाई छल्ने गरी नल्याएको भन्दै यसबाट पार्टीले गति लिएको दाबी गरे ।
‘चुनावको परिणामपछि काँग्रेस जागरण अभियानको पहिलो चरणले ग्यारेजमा थन्किएको जस्तो लागेको काँग्रेसको गाडी स्टार्ट भएको छ । दोस्रोे चरणमा गाडी हाइवेमा आउँछ । तेस्रो चरणमा गन्तव्यका लागि गति लिन्छ,’ प्रवक्ता शर्माको भनाइ छ । जागरण अभियानबारे संस्थापन इतरका नेताहरुको आशङ्काबारे प्रवक्ता शर्माले अगाडि भने, ‘यो कसैलाई छल्ने गरी ल्याइएको कार्यक्रम होइन । पार्टीको महासमिति बैठकले निर्णय गरेर सुरु गरिएको कार्यक्रम हो । सभापति शेरबहादुर देउवा एउटा लागेर सुरु भएको पनि होइन । केही कार्यक्रम नहुँदा महाधिवेशनसम्म के गरेर बस्ने ? महाधिवेशनमा मृत भएर जाने वा जागृत भएर जाने ? केही भएन भन्ने साथीहरूलाई मेरो प्रश्न छ ।’
तर नेता थापाले भने ढिलो गरी जागरण अभियान सञ्चालन गर्दा १४ औँ महाधिवेशन समयमा हुने सम्भावना अब टरेको सङ्केत गरे । ‘नियमित महाधिवेशनका लागि यसै वर्षको फागुन अन्तिमसम्मको समयावधि रहेको छ । १४ औँ महाधिवेशन समयमा हुने सम्भवना देखिँदैन । यता साथीहरुले पनि हाम्रो यतिखेर काम छैन, विशेष अवस्थामा छैनौँ तर पार्टीले अधिवेशन गर्नेतर्फ पहल गरेन भन्ने छ,’ थापाले भने, ‘सरकारले गरेका कामलाई दरिलो रूपमा उठाउनु हाम्रो धर्म हो । तर आफैभित्र सुधार गरे मात्रै दरिलो रूपमा सरकारविरुद्ध उभिन सकिन्छ ।’
प्रवक्ता शर्माले जागरण अभियानलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै जागृत काँग्रेसको नेतृत्व गर्ने वा मृत भनेर प्रश्नसमेत गरे । ‘महधिवेशनमा जागृत काँग्रेसको नेतृत्व गर्न चाहेको हो कि झगडा गरेर मृत भएको काँग्रेसको नेतृत्व गर्न चाहेको ? गाउँ–गाउँमा राजनीतिक बहस सिर्जना भएका, छलफल र संवाद बढेका छन् । चुनावमा मात्र गाउँ आउँछन् भन्ने आरोपलाई चिरेका छौँ । साथै कार्यकर्ता मात्र होइन, नेता पनि सच्चिनुपर्छ भन्ने आएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ प्रवक्ता शर्माले भने ।
जगरणले उब्जाएको आशङ्का
केन्द्रीय कार्यसमितिको म्याद आगामी दस महिनामा सकिँदै छ । विधानअनुसार फागुन मसान्तमा नियमित महाधिवेशन गर्नुपर्छ । केन्द्रीयको महाधिवेशन हुनुभन्दा एक वर्ष अगावै स्थानीय तहको अधिवेशन भइसक्नुपर्ने विधानमा भनिएको छ ।
सभापति देउवा भने महाधिवेशनतिर भन्दा आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा डेढ वर्ष कार्यकाल बढाउने योजनामा अगाडि बढेको देखिन्छन् । पार्टी विधानले चार वर्षको कार्यकाल तोकेको छ । विधानअनुसार थप एक वर्ष बढाउन पाइन्छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाले साढे ५ वर्षसम्म महाधिवेशन गर्न सुविधा दिएको छ ।
त्यही प्रावधानलाई टेकेरै महाधिवेशन सार्ने योजनामा देउवा रहेको इतरपक्षको बुझाइ छ । चुनाव लगत्तै जागरण अभियान सञ्चालनका लागि दबाब दिँदा पनि नगरेको र यतिबेला जागरण गर्नु महाधिवेशन नगर्ने बहानाको इरतपक्षको आरोप छ ।