चितवन, २७ जेठ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको अभियोगमा पक्राउ परेका नेकपाका स्थानीय युवा नेता प्रकाश कँडेलसहितका अन्य चार जनालाइ स्थानीय प्रशासनले गएराती छाडेको छ ।
मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानलाइ कुल्चेर उनीहरूलाई आइतबार राती स्थानीय प्रशासनले रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले नेकपाका स्थानीय नेता प्रकाश कँडेल, भैरव बास्टाकोटी, ध्रुब चापागाइँ र सुरेन्द्र बिकलाई आइतबार राति हाजिरी जमानीमा छाडिएको स्विकार्नुभयो ।
प्रहरीको हिरासतमा रहेका चार जना युवाहरु सहित अन्य १४ जना सहित १८ जनाको समूहले गत, जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरूले जस्ताको बार भत्काइदिएका थिए । त्यहीं घटनामा पक्राउ परेका अन्य १४ जनालाई गत, जेठ २० गते नै प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।
हिरासतमै रहेका अन्य अभियुक्तहरुले समेत हिजो आइतबार राती एक बिज्ञप्ती जारी गर्दै देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रंगशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेसँगै उनीहरूलाई प्रहरीले रिहा गरेको मल्लले बताउनुभयो ।
सर्वाधिक चासोको बिषय बनेको उक्त रंगशालाको बार भत्काउने मुख्य अभियुक्तसहितका युवाहरूलाई स्थानीय प्रशासनले छाडिदिएपछि चितवन प्रहरीको नेतृत्व कमजोर रहेको पुष्टि हुन्छ । एसपी मल्ल , स्थानीयसंग डराएको भन्दै उनको तीब्र आलोचना भएको छ ।
दु:ख गरेर प्रहरीले समात्छ तर, स्थानीयले आन्दोलन गरेकै भरमा कार्वाही बिना नै रिहा हुन्छ भने यस्तो अवस्थामा प्रहरीले कसरी काम गर्न सक्छ ? भन्दै एक प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा प्रश्न गरेका छन् ।
रंगशालाको बार भत्काएको आरोपमा १४ जना ५ दिनमै छुटे भने मुख्य अभियुक्त सहित अन्य ४ जना भने ११ दिनमै छुटेका थिए ।
मुख्य अभियुक्त नेकपाका स्थानीय नेता प्रकाश कंडेललाई नेकपाले यसअघि नै पार्टीबाट निष्कासन गरेको थियो भने अर्का नेता भैरव वास्ताकोटीलाई २ महिनाको लागी पार्टीबाट निष्कासन गरिएको नेकपाका नेता यम बहादुर परियारले जानकारी दिए ।
यस अघि रंगशालाको बार भत्काएपछि आक्रोशित भएका सीताराम कट्टेल, कुञ्जना घिमिरले प्रकाश कँडेललाई ‘अपराधी’, ‘देशद्रोही’ भनेका थिए ।
उता, रंगशाला निर्माणका लागि सीताराम कट्टेल र कुञ्जना घिमिरेले देश विदेशमा उठाएको रंकमको हरहिसाब पनि स्थानीयले माग गरेका छन् । स्थानीयहरूले चन्दाबाट उठेको रकमको जानकारी सबैलाई हुनुपर्ने बताएका हुन् ।
न्यूजअभियान
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        