काठमाडौं, २८ जेठ । प्रहरीमा राजनीतिक नेतृत्व यसरी हावी हुँदै गएको छ कि बढुवामात्र होइन सरुवामा समेत ठूलो चलखेल हुन थालेको छ । विभिन्न नेताका अनेक स्वार्थका कारण डीआईजीको सरुवा समेत गृह मन्त्रालयले गर्नसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा जानुभन्दा अगाडि नै डीआईजीको सरुवा गर्ने तयारी थियो । तर, सहमति हुन नसक्दा सरुवा सरेको छ ।
प्रदेश इन्चार्ज हुन चाहने डीआईजीहरुकै चलखेलका कारण पनि समयमा सरुवा हुन नसकेको हो । प्रदेश नम्बर १, ३ र गण्डकी प्रदेशका डीआईजीहरुको एक वर्षको अवधि पुगिसकेको छ ।
अन्य प्रदेशका डीआईजीको पनि ६ महिना पुगिसकेको छ । ३० वर्षे सेवाहदका कारण सबै डीआईजीलाई प्रदेश इन्चार्ज बनाउन एक वर्ष अवधि नपुगी सरुवा गर्नुपर्ने अवस्था आएको छ ।
त्यसकारण सबै प्रदेशमा डीआईजीको हेरफेर गर्ने गृह मन्त्रालयको तयारी छ । तर, एकातर्फ नेताको स्वार्थ अर्कोतर्फ जसरी पनि प्रदेश इन्चार्ज हुने डीआईजीको चाहनाका कारण तिव्र प्रतिस्पर्धा भएकाले सरकारले समयमै सरुवा गर्न सकेन ।
उता सरुवा हुन लागेको मौकामा डीआईजीहरु तस्करीमा संलग्न भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । प्रदेश १ का डीआईजी केदार रिजालले आइतबार दिएको सर्कुलरमा प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको उल्लेख छ ।
३० वर्षे सेवाहद हटाउने खेलमा लागेका डीआईजी रिजाल नेताहरुलाई खुशी बनाउन आफैं कमाउने धन्दामा लागेको प्रदेशका प्रहरीहरु बताउँछ । सोलुखुम्बु घटनामा उनको कमजोर कमाण्ड रहँदा प्रहरीको बदनाम भएको भन्दै केन्द्रीय सुरक्षा समितिको बैठककमा उनीमाथि कारबाहीको माग समेत उठेको थियो ।
त्यस्तै प्रदेश नम्बर ३ का डीआईजी दीपक थापाको ध्यान पनि यतिबेला असुलीमै छ । सात महिनापछि अवकाश पाउन लागेका उनी कमाउने अन्तिम मौका यही हो भनी तस्करीको सेटिङमा लागेका छन् ।
सई बुद्धि चौधरीमार्फत उनले पैसाको डिल गर्दछन् । गण्डकी प्रदेशका डिआईजी दानसिंह बोहरा पनि असुलीमै लागेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।
प्रदेश नम्बर २ का डीआईजी हरिबहादुर पाल, प्रदेश नम्बर पाँचका पिताम्बर अधिकारी, कर्णाली प्रदेशका महेशबिक्रम शाह र सुदूरपश्चिम प्रदेशका डीआईजी सुरज केसी भने आफूहरुको सरुवा रोक्न शक्तिकेन्द्र धाइरहेका छन् । केही डीआईजीहरु भने महानगरीय प्रहरी कार्यालयको प्रमुख हुने दौडमा लागेका छन् ।
प्रदेश १ का प्रहरी चिल्लै ?
नेपाल प्रहरीको गोप्य आन्तरिक सर्कुृलर फेसबुकमार्फत बाहिरिएको छ । जुन सर्कूलरले प्रहरी अधिकारीहरु सुरक्षामा भन्दा कमाउन केन्द्रित भएको प्रष्ट हुन्छ । प्रदेश नम्बर १ प्रहरी कार्यालयले गरेको गोप्य सर्कुलर इलाका प्रहरी कायाृलय धरानले फेसबुकमार्फत सार्वजनिक गरेको हो ।
गल्तीवस सार्वजनिक गरिएको सो सर्कुलर पछि हटाइएको थियो । जसले प्रहरीमा हल्लीखल्ली भएको छ । सो सर्कुलरमा प्रहरीहरु नै तस्करीमा लागेको, विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न चासो नदिएको, ड्युटी कमजोर देखिएको तथा प्रहरी सार्वजनिक कार्यक्रममा जिल्ला इन्चार्जहरुले चासो नदिएको उल्लेख छ ।
विप्लव समूहका बारेमा प्रहरी चिल्लै रहेको भने उल्लेख गरिएको छ । सबै प्रहरी कार्यालयका इन्चार्जहरुलाई गरिएको त्यो गोप्य सर्कुलर यस्तो छ :
१) विप्लव समूहको गतिविधि बढिरहेको छ, जिल्लाहरुले हिजोआज मान्छेहरु नियन्त्रणमा लिएको छैन । बढीभन्दा बढी मान्छेहरुलाई एग्रोसिभ भएर समात्ने नियन्त्रणमा लिने भनेर मौखिक रिपोर्ट गरेको छ अन्य चिल्लै छ ।
सूचना संकलनमा कमी भएर हो या जिम्मेवारी बहन गर्न नसकेको हो मानिस नियन्त्रणमा लिनलाई लापर्वाही गरेको हो ? मैले २४ घण्टाको अल्टिमेटम सबैलाई दिएको छ, भोलि बेलुकासम्म विप्लवको गतिविधिमा संलग्न मानिसहरु पक्राउ गर्न नसक्ने जिल्ला इन्चार्जलाई म स्पष्टीकरण सोधेर कारबाही गर्छु बेलै सजग भउर काम गर्नु ।
२) सोलुको छेस्काममा भए जस्तै घटना अन्य जिल्लाहरुमा पनि हुन सकछ, सबै प्रहरी उच्च मनोबलको साथमा राख्ने, आफ्नो सुरक्षालाई समेत ध्यानमा राखि उच्च मनोबलका साथ प्रतिकार राम्रासँग गर्ने, भोलि बाटै ठाउँ ठाउँमा एआरपीहरु खटाउने कमजोर रहेको प्रहरी चौकीहरुमा रात्री मुकाम गराउने र जिल्ला इन्चार्जहरुलाई मैले भनिसकेको छु, हप्तामा दुई वटा युनिटको दिनमा अनुगमन गर्ने निर्देशन गर्ने, एक वटा युनिटमा गई बास बस्न भनेर कुनै जिल्ला इन्चार्जहरुले पनि रिपोर्टिङ गरेको छैन, भोलिबाटै कार्यान्वयन गर्ने कुन ठाउँमा जाने हो रिपोर्टिङ गरेको छैन, भोलिबाटै कार्यान्वयन गर्ने कुन ठाउँमा जाने हो रिपोर्टिङ गर्ने ।
३) रातको ड्युटीमा पहिलोको भन्दा निकै कमीकमजोरी देखिएको छ, जिल्ला इन्चार्जहरु चेन्ज भएर हो या राम्रो अनुगमन नभएर हो ? अर्को कुरा रातको ७/८ बजेपछि सिप्रअहरु सिभिल पोशाक लगाउने लस्याक लुसुक बरालिएर हिँडेको पाएको छु, अब मैले कहीँ कतै फेला पारे भने स्पोटमा कारबाही गर्छु र जिल्ला इन्चार्जहरु रातको १२ः०० सम्म अनिवार्य रुपमा खटिने १२ः०० पछि ट्वाइसीलाई निकाली अनुगमन गर्ने गराउने ।
४) बोर्डर एरियाहरुमा प्रहरी कर्मचारीहरुकै मिलोमतोमा तस्करी मौलाएको भनी रिपोर्टहरु आएको छ । प्रहरीहरु गैर व्यवसायिक आर्थिक लेनदेन घटनामा संलग्न रहेको भन्ने केही ठाउँका सूचनाहरु आएको छ । गैर व्यवसायिक कृयाकलाप ऐन, नियम प्रतिकूल हुने कार्य कोही कसैलाई क्षम्य हुँदैन ।
शून्य सहनशीलतामा काम गर्ने गराउने प्रमनिज्युबाट निर्देशन पनि पठाइसकेको छ । सोही भने अनुसार कार्य गर्ने गराउने ।
५) प्रहरी हिरासतको व्यवस्थापन प्रभावकारी बनाउने, पक्राउ परेका जघन्य केशका थुनुवाहरु पनि भागेको भाग्यै छन्, अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । थुनुवा ल्याउँदा लैजाँदा सुरक्षामा ध्यान दिने, हिरासतमा पनि थुनुवामध्येबाट लाइन पाले खटाउने बसेको छ, छैन चेक जाँच बेलाबेलामा गर्ने ।
६) जिल्लाहरुले बेला बेलामा समुदाय साझेदारी कार्यक्रमहरु गरी बेला बेला जाहेर गरी राखेकै थियो, अहिले जिल्लामा नयाँ इन्चार्जहरु आएपछि सबै बन्द भए त के भएको हो ? पहिला के के काम हुँदैथ्यो हेरेर गर्नु पर्दैन ।
७) गुण्डागर्दी र लुटपाटको घटना भैरहेको छ, धरानको पानमारामा लुटपाट गर्ने मान्छे अहिलेसम्म पक्राउ हुन सकेको छैन । उर्लाबारीमा फेरि गुण्डाहरु आएर जबर्जस्ती कागज गर्यो भनी सुनिएको गुण्डागर्दीलाई पूर्णरुपले निमिट्यान्न बनाउने, दृष्टिमा उल्लेख छ ।
८) प्रदेश ट्राफिकको एसपी नयाँ आएको छ, पहिलाको एसपी साबले थालनी गरेको कार्ययोजना अनुरुप प्रभावकारी कार्ययोजना बनाई जनचेतना लगाउन आफूले गर्नुपर्ने कार्यहरु प्रभावकारी तरिकाले गर्ने गराउने, पहिलाझैं दुई जना सिप्रअको कमाण्डमा राडर गन निकाल्ने ।