इटहरी । नेपाल पत्रकार महासंघले इटहरी घट्नामा पत्रकारहरु नै दोषी रहेको निष्कर्ष निकालेको छ ।
पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित बनाएपछि घट्नाले अर्कै रुप लिएको महासंघको ठहर छ ।
इटहरीका पत्रकार गौतमले विभिन्न समयमा फेसबुक स्टाटसमा दिने अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ ।
इटहरी र धरानका पत्रकारसँग सम्बिन्धत रहेर घटनाको अध्ययन गरी रिपोर्ट पेश गर्न महासंघले मिसन टोली नै बनाएको थियो । पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ ।
मिसन टोलीको निश्कर्षमा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्तिले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा समेत थुप्रै पाइयो ।’
मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’
विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता क्षेत्र नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।