२०७६ जेष्ठ ३०
विज्ञानको युगमा पनि धामी–झाँक्रीको विश्वास नगर्न अरूलाई सल्लाह दिँदै आउनुभएका भक्तपुर लोकन्थलीस्थित नयाँ बस्तीका चिकित्सक दम्पती छोरीको उपचार गर्न धामी–झाँक्रीकै सहरा लिन वाध्य हुनुभयो ।
चिकित्सक दम्पती छोरीलाई लिएर थिमि सरस्वती खेलमा बस्दै आउनुभएका लामा गुरुकहाँ उपचार गर्न पुग्नुभयो । यो तथ्य अरूले पनि चाल पाए । यो दम्पती त प्रतिनिधि पात्र मात्र हुन्, नेपालको संस्कार, संस्कृति, शिक्षा र चेतनाको स्तरले अझै पनि बिरामी हुँदा धामी–झाँक्रीमा पुग्ने परम्परा कायमै छ ।
चिकित्सकभन्दा पहिला धामी–झाँक्रीकहाँ जाने प्रचलन छ । हिमाल, पहाड, तराई–मधेस वा राजधानी काठमाडौंँ हरेक ठाउँमा झारफुक गर्ने परम्परा कायमै छ । काठमाडौंँका गल्ली–गल्ली र सडक पेटीमा अनि महँगा कोठा भाडामा लिएर झारफुक गरेर राम्रो दाम कमाउने पनि छन् । त्यति मात्र होइन, यही पेसामा लागेर ज्यानै लिने पनि छन् ।
आफूलाई शक्तिशाली धामी बन्नका लागि धनुषा जिल्लाको ढल्केवरमा अढाइ वर्षका आर्यन साहको कथित धामी शत्रुद्यन महतोले हत्या गरे । अहिले उनी प्रहरीको खोरमा छन् । बिरामीलाई कालो बोका, कालो पाठी, रातो भाले पूजा गर्नुपर्छ भन्ने धामी–झाँक्री पनि धेरै छन् ।
कतिपय तान्त्रिकले दोबाटोको कालो मसान लागेको रहेछ, बोका, भाले बलि दिनुपर्छ पनि भन्छन् । यस क्षेत्रमा पर्याप्त विकृति, विसङ्गति भए पनि उपचारका लागि जानेको संख्या भने घटेको छैन ।
पाटन अस्पतालका मनोचिकित्सक डा. रवि शाक्यका विचारमा ‘जिउँदो मान्छेले सिन्कोको सहरा लिन्छ’ भने झैं रोगव्याधी लागेपछि धामी–झाँक्रीदेखि नाम चलेका चिकित्सकसम्म जाने चलन छ, त्यहाँ पुग्दा उनीहरूमा सकारात्मक प्रभाव पर्छ । डा. शाक्यले नेपालमा मात्र होइन शतप्रतिशत साक्षर मुलुकमा पनि यस्ता परम्परा कायमै रहेको बताउनुहुन्छ । बाजे, बज्यै रिसाउलान्, अरुले पनि भनेका छन्, जाऊँ न त भनेर धेरै मानिस धामी–झाँक्रीकहाँ पुग्ने गरेको भनाइ उहाँको छ ।gorkhapatraBATA -नारद गौतम