काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसको राष्टिय जागरण अभियान र नेतृत्व परिवर्तनको विषयलाई लिएर दुई युवा नेता प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्य गगन थापाबीच आरोप प्रत्यारोप चलेको छ ।
कार्यक्रम जारी रहदा केन्द्रीय सदस्य थापाले वर्तमान नेतृत्वबाट काँग्रेसमा जागरण नआउने धारणा कार्यक्रमहरुमा राखे ।
त्यसको प्रतिरोधमा प्रवक्ता शर्माले अहिल्यै नेतृत्व परिवर्तनको बेला नभएको र पार्टीलाई नवीन ढङ्गले रूपान्तरण गर्न जागरण अभियानले सघाउने बताए ।
अभियानका कार्यक्रम सकिएपछि पनि उनीहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ । थापाले पहिलो चरणको जागरण अभियानमा जिल्ला जिल्लामा पुग्दा सन्तुष्टि नदेखिएको बताए ।
तल्लो तहका नेता कार्यकर्ताले असन्तोषबीच काम गरिरहेको, भ्रातृसंस्थाहरूको अधिवेशन नहुँदा सबैतिर अन्योल रहेको र संघीयता अनुरुप पार्टीको संरचना नहुँदा कार्यकर्ता अलमलमा रहेको बताइरहेका छन । यस्तो अवस्थामा कांग्रेस जागृत हुन नसक्ने उनको तर्क छ ।
तर, प्रवक्ता शर्माले भने ०४६ सालपछि जागरण अभियानले कांग्रेसमा उत्साह ल्याएको बताउँदै हिडेका छन् । जागरण अभियानको डिजाइनर समेत रहेका शर्माले उद्धेश्य अनुरुप कार्यक्रम सफल नभएपछि त्यसको बचाउ गर्दै हिडेका छन् ।
जागरण समापन हुँदै गर्दा पार्टीमा एकताको सन्देश दिएको, अभियानले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई जोड्ने काम गरेको, आम पार्टीको संयन्त्रलाई जोड्दै नेतासँगै पार्टी दौडिरहेको सन्देश दिएको बताउँछन ।
प्रवक्ता शर्माको दाबीलाई थापाले ठाडै खण्डन गर्छन । अभियानमा नै गुटगत ‘गन्ध’ आएको थापाको तर्क छ । जागरणकै सिलसिलामा जिल्ला जिल्लामा पुग्दा जिल्लाका कार्यक्रमले तरङ्ग ल्याए पनि पार्टीको संरचना अस्तव्यस्त हुँदा संरचनाले काम गर्न नपाएको बताउँछन् ।
सङ्घीयता अनुरूपका संरचना नहुँदा, भ्रातृसंस्थाको अधिवेशन नहुँदा तल गएर कसरी काम गर्ने भन्ने अन्योल जिल्लामा रहेको थापाको भनाई छ । केन्द्रको गुटगत रोग जिल्ला तहमा रहेको र जागरणको खटन पटनमा पनि गुटगत गन्ध देखिएको उनको दावी छ ।
थापाको भनाईलाई खण्डन गर्दै प्रवक्ता शर्माले जागरण अभियान कसैलाई छल्ने गरी नल्याएकोले यसबाट पार्टीले गति लिएको दाबी गर्छन ।
चुनावको परिणामपछि कांग्रेस जागरण अभियानको पहिलो चरणले ग्यारेजमा थन्किएको जस्तो लागेको कांग्रेसको गाडी स्टार्ट भएको उनको तर्क छ ।
दोस्रोे चरणमा गाडी हाइवेमा आउँने र तेस्रो चरणमा गन्तव्यका लागि गति लिने उनको भनाई छ । पार्टीको महासमिति बैठकले निर्णय गरेर सुरु गरिएको कार्यक्रम भएकाले कसैले दोष लगाउने ठाँउ नभएको उनले बताए ।
थापाको तर्क भने त्यो भन्दा अलि भिन्न छ । ढिलो गरी जागरण अभियान सञ्चालन गर्दा १४ औँ महाधिवेशन समयमा हुने सम्भावना अब टरेको उनको सङ्केत छ ।
नियमित महाधिवेशनका लागि यसै वर्षको फागुन अन्तिमसम्मको समयावधि रहेपनि समयमै महाधिवेशन हुने सम्भवना नरहेको उनको भनाई छ । अभियान टाइम्सका साथमा ।