उर्लाबारी, जेठ ३०
नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) का मोरङ जिल्ला सदस्य रुपेश खतिवडाले उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको छ ।
नेता खतिवडाले आज एक कार्यक्रमका बीच १० जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति स्वरुप विद्यालय पोशाक र शैक्षिक सामग्री गर्नुभएको हो । सोही विद्यालयमा पूर्व विद्यार्थीसमेत रहनुभएका खतिवडाले गत बर्षदेखि जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक कोमलप्रसाद खतिवडाले जानकारी दिनुभयो । नेता खतिवडाले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप बार्षिक रुपमा सहयोग गर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै नेता खवितडाले विद्यालयको विकासमा आफू सहयोगी बन्ने प्रतिबद्धता जाहेर गर्नुभयो । आगामी बर्षभित्रै अक्षयकोष खडा गर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै, सोही अवसरमा विद्यालयले उर्लाबारी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जसमा उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालय प्रथम भयो ।
उर्लाबारी–६ को राधिका माबि दोस्रो र उर्लाबारी–२ को सुनपकुवा माबि तेस्रो भयो । उनीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो । त्यस्तै, विद्यालयले कक्षा प्रथम, दोस्रो र तेस्रोलाईसमेत पुरस्कृत गरेको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रुद्र लिम्बूको सभापतित्वमा भएको थियो ।