इटहरी ।
सुनसरीको धरानमा डेंगुको महामारी फैलिएपछि प्रदेश सरकारले चासो देखाएको छ। बिहीबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत प्रदेश सरकारको नेताहरूले धरानमा अन्तर्क्रिया गर्दै डेंगुबाट बच्न सतर्कता अपनाउन आग्रह गरे।
प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि एकहप्ते कार्ययोजना प्रस्तुत गरेका छन्। कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले भने, ‘डेंगुबाट प्रभावितहरूको प्रदेशका तीनवटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेका छौ ।’ घिमिरेका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र झापाको मेची अस्पतालमा निःशुल्क उपचार गरिनेछ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धरानका जनता स्वयम् सचेत हुनुपर्ने बताए। ‘उपमहानगरपालिका र जनप्रतिनिधिलाई मात्र दोष दिएर हुदैन, धरानका जनता स्वयम् यो विषयमा गम्भीर र सचेत हुन आवश्यक देखिन्छ।’
संक्रमितको संख्या साढे पाँचसय
विहीबार साँझ सम्म सुनसरीमा मात्र डेंगु संक्रमितको संख्या ५ सय ४८ पुगेको छ। धरानमा ४ सय ७४, विजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना बिरामीको उपचार भइरहेको छ।
वीपी प्रतिष्ठान धरानका सहायक निर्देशक डा. विकास शाहले बुधबार सम्म डेंगु लागेको शंका लागेर जाँच गर्न आउने १ हजार ४ सय ९ मध्ये ४ सय ७४ जनामा संक्रमण देखिएको जानकारी दिए।
वीपी प्रतिष्ठान धरानका डा. विजयकुमार खनालले डेंगुबारे पहिचान गरि आफूहरूले उपचार गरिरहेको भएपनि तत्काल घरमा पानी पोख्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘रोगबारे हामीले पहिचान गरेर उपचार गरेको भएपनि तत्काल यसबाट बच्नका लागि घरघरमा पानी पोख्ने अभियान चलाउन जरुरी छ।’ पानी अभावका कारण विशेषगरि धरानमा लामो समयसम्म पानी जम्मा गर्दा त्यसमा लामखुट्टेको लार्भा उत्पादन हुने बताउँदै यसबाट सचेत रहन उनको सल्लाह थियो।
कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले असारको पहिलो साताभित्रमा सचेतनाका लागि अभियान सञ्चालन गर्ने बताईन्। उनले भनिन्, ‘हामीले असारको पहिलो सातासम्ममा अभियानका रुपमा सचेतना कार्यक्रम आयोजना गर्छौँ।’