मेचीनगर– तीन साताअघि मेचीनगर नगरपालिका–९ नम्बर वडा कार्यालयमा पुगेर ८१ वर्षकी गंगामाया बस्नेत डाको छोडेर रोइन् । वडाध्यक्ष गोपाल खड्कालाई भनिन्, ‘बाबु मलाई ८ वर्षदेखि छिमेकीले बोक्सीको आरोप लगाइरहेका छन्, यति दिनसम्म सहेरै बसेँ । अब त अत्ति भो म कहाँ जाउँ ?’
मेचीनगर–९ धुलाबारीस्थित पाथीभरा टोलमा ‘माता चोक’ छ । त्यहाँ एउटा मन्दिर बनाएर बसेकी छिन् आफूलाई माता बताउने पवित्रा शिवाकोटी । ‘माता’कहाँ एकदिन सोही वडाकी कुमारी चम्लागाईं ग्रहदशा हेराउन गइन् । चम्लागाई ८१ वर्षीया बृद्धाकी सबैभन्दा नजिककी छिमकी हुन् । माताले आफ्नो विधि गरेर चम्लागाईंलाई बक्न लगाइन् । बक्दा उनले तिनै ८१ वर्षीया बृद्धा बनेर भनिन्, ‘म बस्नेतनी आमै हुँ । गोपाललाई मैले नै खाएँ । खसी पनि मैले खाएँ । १२ बजे राति नाच्छु । मेरी छोरी पनि मसँगै नाच्छे ।’
वर्षौंदेखि बोक्सीको आरोप खेपिरहेकी बस्नेत यो सुनेपछि सहनै नसकेर वडा कार्यालय पुगेकी थिइन् । वडाध्यक्ष खड्काले उनलाई निवेदन लेख्न लगाएर तोक लगाइदिए । र, न्यायिक समितिमा दिन भने । तर, न्यायिक समितिले निवदन लिन नमानेपछि ७ जेठमा उनी प्रहरीकहाँ पगिन् । तर, जनप्रतिनिधिले घटना वडा कार्यालयमै मिलाउन खोजे । ‘चम्लागाईँ थरकी छिमेकीले मातासमक्ष विवादित तरिकाले बक्न थालेपछि आमा वडा कार्यालयमा आएर आएर ह्वाँ ह्वाँ रुनुभयो,’ वडाध्यक्ष खड्काले भने, ‘मैले कतैबाट बाँच्ने ठाउँ पाइनँ, चार जना बच्चा खाइसकी भन्छन्, म झुण्डिएर मरुँ कि के गरुँ भन्दै रुनुभयो ।’
वडाध्यक्ष खड्काले माता, चम्लागाईं र बृद्धालाई राखेर सहमति गराउने पनि प्रयास गरे । तर, बृद्धा न्यायको खोजीमा प्रहरीकहाँ धाइरहेकी छिन् । ‘यो जमानामा पनि बोक्सीको मुद्दा बोकेर कसरी अदालत जानु । वडाकै बेइज्जत हुन्छ भनेर मैले वडामै मिलाउन खोजेको हुँ,’ वडाध्यक्ष खड्काले भने ।
आफूलाई माता बताउने पवित्रा शिवाकोटी
चम्लागाईंसँग पहिलेदेखि नै झगडा
पीडित गंगामाया बस्नेत २०४७ सालदेखि मेचीनगरमा बस्न थालेकी हुन् । १० वर्ष पहिले उनको घरछेउमा चम्लागाईं थरका छिमेकी आए । आएको सात दिनमै जग्गाको विषयमा झगडा प¥यो । सोही समयदेखि आफूलाई बोक्सीको आरोप लागेको बृद्धा बताउँछिन् । ‘अहिलेसम्म सहेरै बसेँ,’ बृद्धाले भनिन्, ‘अहिले त महारानीकोमा गएर म बस्नेतनी आमै हुँ, गोपाललाई मैले खाएँ, खसी पनि मैले खाएँ भन्दै बकिछे ।’ कतै जाने बेलामा चम्लागाईंले आफूलाई देखे साइत बिग्रिन्छ भन्दै घरभित्र पस्ने गरेको बृद्धा सुनाउँछिन् । ‘बोक्सीको नातिनी’ भनेर नातिनीको बिहे हुन गाह्रो भएको उनले दुखेसो गरिन् ।
बृद्धाकी छोरी शान्ति पौडेल भन्छिन्, ‘८१ वर्षकी आमालाई यस्तो आरोप आयो, हामीले माफी दिन सकेनौँ, न्याय पाउनैपर्छ ।’ घटनाले ठूलो रुप लिएपछि चम्लागाईं यतिबेला घर छाडेर भाइकहाँ गएर बस्न थालेको स्थानीयले बताए । मंगलबार बृद्धाको उजुरी दर्ता भइसकेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए । जिल्ला अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ आदेश आउनासाथ चम्लागाईंलाई पक्राउ गरिने उनको भनाइ छ । ‘पीडितले चम्लागाईंको नाममा जाहेरी दिनुभएको छ,’ उनले भने, ‘पक्राउपछि चम्लागाईंले बयान दिइन् भने मातालाई पनि ल्याउनुपर्ने हुन्छ ।’
मातालाई स्थानीयको साथ
मातालाई स्थानीयबासीले दर्बिलो साथ दिएका छन् । माताले गाउँका सयौँलाई निको पारिरहेको उनीहरु बताउँछन् । माताले आफूलाई ‘महारानी’ र ‘बुढी लिम्बूनी’ भन्दै लिम्बू भाषामा फलाक्ने गर्छिन् । ‘मलाई बिच्क्याउन नआइज’ भन्दै उनले सञ्चारकर्मीलाई समेत लखेट्न खोजिन् ।
के भन्छिन् माता ?
१६ वर्षसम्म म सामान्य मान्छे थिएँ । एलएलसी दिने बेलामा पढ्दा पढ्दै बेलुकी सुतेकी थिएँ, बिहान उठ्न खोज्दा शरीर नै चलेन । ८ वर्ष भित्तोजस्तै भयो शरीर । ८ वर्षपछि एक्कासी माता उत्रिएँ । यो मेरो रहर थिएन । अहिलेसम्म विवाह भएको छैन । मेरो घर काठमाडौँ गोंगबुमा हो । यहाँ आएर एक्लै बसेर यो मन्दिर बनाएकी हुँ । मकहाँ पीडितहरु मात्र आउँछन् । म जोखाना हेर्दिनँ । फुक्ने मात्र हो । एकदिन एकजना महिला आइन् । मैले फुक्दै जाँदा उनी काम्न थालिन् र के के बकिन् । मैले मेरो मुखबाट बोक्सी भनेको होइन । उनले पनि फलानी बोक्सी हो भनेकी छैनन् । म फलानालाई खान आएकी हुँ भनेर उनका शब्द निस्किए । मैले सयौँ बिरामीहरु निको पारेकी छु ।विवेचना दैनिकमा समाचार छ ।