• ललितपुर । गुठी विधेयक विरोधि आन्दोलनले काठमाडौं उपत्यका मात्रै नभएर देशव्यापी रुप लिन थालेको छ । विधेयकविरुद्ध काठमाडौं उपत्यका शुरु भएको आन्दोनल चर्किँदै जाँदा, जनकपुरका सन्तमहन्थहरु समेत आन्दोलनमा होमिन थालेका छन् । काठमाडौं उपत्यकामा आन्दोलनको श्रृंखला जोडिन थालेको छ ।

    गुठी विधेयकको विरुद्धमा उपत्यकाका बिभिन्न स्थानबाट उर्लेको मानव सागरमा सहभागिहरुले, अब आन्दोलन देशब्यापी रुपमा अघि बढ्ने चेतावनी दिए ।

    ललितपुरको दरबार क्षेत्रमा बिहीबार साँझपख आयोजित विशाल सभालाई सम्बोधन गर्दै ज्यापु समाजका अध्यक्ष चन्द्रमान महर्जनले तत्काल विधेयकफिर्ता नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने चेतावनी दिए ।

    अध्यक्ष महर्जनले भने, ‘नेवार समुदाय अरिंगालको गोला हो, सरकारले ढुंगा हान्यो, अब हेरोस् के हुन्छ’ ।

    आन्दोलनमा सहभागी नेवार समुदायका विभिन्न जातजातिले ऐक्यबद्धता जनाउँदै नेवार समाज गठन गरी आन्दोलन थप शसक्त रुपमा अघि बढाउने उद्घोष गरे ।

    नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले गुठीको सम्पत्ति हडप्ने प्रयास स्वरुप विधेयक ल्याइएको आरोप लगाए । सरकारले अहिले सार्बजनिक सरोकारको बिषयमा छलफल नै नगरी विधेयकल्याएकोमा उनीहरुले जनाएका छन् ।

    आफुहरुको आन्दोलन मत्थर पार्न सरकारले नेवार समुदायका अगुवा संर्घष समितिका केही सदस्यलाई गुलियो देखाए पनि त्यो गुलियोमा झिंगा बनेर नफस्ने उनीहरुले अडान छ ।

    नेवार समुदायको मात्र नभई देशभरीको संस्कृति मास्ने र गुठीयारको हक खोस्ने प्रयास भएको दबुका अध्यक्ष ताम्राकारले दाबी गरे ।

    देश चलाउन पठाएकाहरुले नै सिधै आफुहरुमाथि हमला गरेको रत्नाकर महाबिहारका करुण बज्राचार्यले बताए । ‘गुठी संस्कृति १५ सयदेखि २ हजार बर्ष पुरानो हो’, अक्रोशित हुँदै उनले भने, के यो गुठी तिम्रा बाउबाजेले बनाएको हो ? होइन भने मनपरी नियम बनाउन पाइन्छ?’

    गुठी, संस्कृति सम्पदा र भावनासंग जोडिएकोले अब विधेयकखारेज नभसम्म आन्दोलन नरोकिने नेपाल उद्योग बाणिज्य महासंध ललितपुरका पुर्व अध्यक्ष अजरमान जोशीले बताए। सरोकारवालासँग छलफल नै नगरी पछाडीको ढोकाबाट प्राधिकरण गठन गर्ने नियतले राखएको र त्यो स्वीकार्न नहुुने उनको भनाइ छ ।

    कोणसमालाई सम्बोधन गर्दै आदिवासी वकिलहरुको संस्थाका महासचिव शंकर लिम्बुले प्रधानमन्त्रीलाई कुर्सीमा हैन, शंख र घण्टी बजाएर मैदानमा आउन चुनौती दिए ।

    ऐतिहासिक सम्पदालाई कानुनी रुपमा डकैती गरेर लैजान खोजेको भन्दै लिम्बुले प्रधानमन्त्रीलाई भने, ‘गुठी लाने हो भने खरानी घसेर आऊ, हामी दान दिन तयार छौं’ ।

    सभामा सहभागीहरुले निजी गुठीलाई व्यापार गर्न खोजेको आरोप लगाए । विधेयकको दफा ६३ ले सबै निजी गुठी प्राधिकरणमा लैजाने र प्राधिकरणमा राजनीतिक मान्छे हुलेर लुट्ने व्यवस्था गर्न लागिएको उनीहरुको दाबी छ । खाली खुट्टा र चप्पलमा काठमाडौं छिरेकाहरुले नेवारहरको गुठी जग्गा हडप्ने प्रपञ्च गरेको आरोप पनि उनीहरुले लगाए ।
    ललितपुर, काठमाडौं र भक्तपुर लगायतका विभिन्न ठाउँबाट ललितपुरको पाटन दरबार क्षेत्रमामा भेला भएकाहरुले, गुठी विधेयकबिरुद्ध श्रृंखलाबद्ध आन्दोलनको उद्घोष समेत गरेका छन् ।

    यो आन्दोलन अब गुठी विधेयक फिर्ता नभएसम्म जारी रहने संघर्ष समितिले जनाएको छ । प्रत्येक टोलटोलमा जम्मा भएर अब शसक्त आन्दोलन सुरु गर्ने उनीहरुले बताए ।

    उनीहरुले काठमाडौंका टोखा, बुढानिलकण्ड लगायतका ठाउँमा दिनहुँ प्रदर्शन गर्ने तालिका पनि सार्वजनिक गरेका छन् । काठमाडौबाट शुरु आन्दोलन ललितपुर हुँदै शुक्रबारदेखि देशब्यापी रुपमा अघि बढ्ने आमसभामा सहभागिले बताए । शुक्रबार बेलुका पनि ललितपुरकै दरबार क्षेत्रमा जम्मा भएर विशाल मसाल जुलुस निकाल्ने उनीहरुले बताएका छन् ।

    सभामा सहभागिहरुले नेवार समुदायको नसा नसामा गुठी संस्कृति भएको हेक्का नराखी विधेयक ल्याउने भूमिसुधारमन्त्रीको राजिनामा समेत मागेका छन् ।

    सडक विस्तारका बिरुद्धमा उठेका नेवार समुदायको टाउको ताकेर हिर्काएको भन्दै उनीहरुले गृहमन्त्री रामबहादुर थापा बिरुद्ध समेत नाराबाजी गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…