बझाङ । बझाङ्गमा जीप दुर्घटना हुँदा एकै परिवारका ३ सहित १० जनाको मृत्यु भएको छ।
सोमबार जिल्लाको मष्टा गाउँपालिकामा जीप दुर्घटना परी एकै परिवारका ३ जनाको ज्यान गएको छ। मष्टा गाउँपालिका १ कोटदेवल गाउँका मात्र ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका १ डौठीमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा मष्टा गाउँपालिका १ का ४२ वर्षीय कलकबहादुर खड्का, उनका १७ वर्षीय छोरा सुनिल खड्का र उनकी श्रीमती वर्ष ३८ की जुनधारा खड्काको घटनास्थलमा नै मृत्यु भएको छ।
यसैगरी सोही वडाका २३ वर्षीय हिक्मत खड्का, ४९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खड्का, ९ वर्षीया विपना खड्काको मृत्यु भएको छ। यसैगरी ३० वर्षीय भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल र सोही वडाका २३ वर्षीय चालक सुरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेमा मष्टा गाउँपालिका १ का वर्ष १४ की संगीता खड्का, वर्ष २८ का गोकुल शाही वर्ष २८ का जनक द्वाल, वर्ष २८ की अनिता द्वाल र वर्ष १० का गणेश खड्का रहेका छन्।
सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको प्रहरीले अनुमान गरेको छ। चालकले उकालोमा फोर ह्वील नहालेका कारण पनि जिप अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
घाईतेहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर घटनास्थलमा पुगेको थियो। गम्भिर घाइते भएका ३ जनालाई उपचारका लागि सो हेलिकोप्टरमा नेपालगञ्ज लगिएको छ भने अन्य २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।