• काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटि भएको पाइएको हो । आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको हो ।
    परीक्षा प्रक्रियामा लोकसेवा आयोगका एक जना सदस्यको अनिवार्य उपस्थिति हुने प्रावधान छ । तर, लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले त्रिविको परीक्षा प्रक्रियामा आफूलाई औपचारिकता निभाउन मात्रै बोलाइएको बताए ।
    उनले भने, ‘मन लागेपछि बोलाउने, मन नलागेपछि नबोलाउने काम भएको छ । लोकसेवा आयोगको अनुभवका आधारमा जानुपर्छ भन्दा पनि सल्लाह नमानेको पाएँ ।’ प्रश्नपत्र बनाउनेदेखि परीक्षणसम्मको गोपनीयतामाथि प्रश्न चिह्न उठेको स्रोतले बताएको छ ।

     

    आयोगले प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा आयोगका पदाधिकारी र सत्तारुढ दलका नेताका नातेदारहरूको नाम निस्किएको भन्दै तीव्र विरोध भएको थियो । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले लिएको परीक्षा सन्दर्भमा भइरहेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनियमितता देखिए प्रमाणसहित अदालतमा जाने बताए । उनले भने, ‘हामीले अन्तर्वार्ताको नतिजा रोक्न भनेका छौं । अनुसन्धान अन्तिम चरणमा पुगेको छ । ’

     

    यसैबीच, सोमबार आयोगको मूलगेटमा विद्यार्थी संगठनहरूले ताला लगाएका छन् । सोक्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रहरीले अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवहरू महेश श्रेष्ठ, सूर्य कार्कीलगायत १७ जनालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलले त्रिवि सेवा आयोगभित्रको अनियमितता नरोकिँदासम्म आन्दोलन जारी रहने बताए । आयोगका पदाधिकारी बर्खास्त गर्नुपर्नेलगायतका माग राख्दै विद्यार्थीहरू २८ दिनदेखि त्रिवि सेवा आयोगको मूल गेटमा अनशनमा बसेका छन् ।
    यसैबीच, सोमबार तोकिएको अन्तर्वार्ता रोकिएको छ । त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले परीक्षाको विषय सरकारसँग पनि जोडिएको बताए । उनले भने, ‘यो विषय सरकारसँग पनि जोडिएको छ । हामीले अन्तर्वार्ताको काम रोकेका छैनौं ।’

    आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो । परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा नतिजा सार्वजनिक भएको थियो । १६ असारसम्म अन्तर्वार्ताको अन्तिम समय तोकिएको छ । परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघसंगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…