काठमाडौं। गत ५ वैशाखमा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपराह्न ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।
जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट ५ वैशाख राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटसँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो । स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभास मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको छ । स्याटेलाइटमा नेपालको झन्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरूको नाम पनि छ ।
यो १ किलो ३ सय ग्राम तौलको छ । यसमा सरकारले १ करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्बिरसहितका डाटाहरू पठाउन थाल्नेछ । यसले मौसमी सूचना पनि दिन सक्छ । स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन–अनुसन्धान थाल्न सक्ने दाबी सरकारी अधिकारीहरूको छ । स्पेस इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेसबारे जानकारी लिने अवसर मिल्नेछ । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को भनाइ छ ।
यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै व्यहोरेको छ । नेपाली स्याटेलाइट–वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ । भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्ने दाबी गरिएको छ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरूको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नास्टको भनाइ छ ।
‘नेपाली स्याट–१’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ । नास्टका अनुसार स्याटेलाइट पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ । गत ५ वैशाखमा नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो । सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि ६ वैशाखमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिए ।
विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासमा समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाएको हो । अहिलेको स्याटेलाइटको क्षमता कम भएकाले यी सबै काम नगर्ने भए पनि भविष्यमा क्षमता बढाउने बाटो खुलेको ढुंगेलले बताए । नास्टका प्रवक्ता ढुंगेलले नेपालको भौगोलिक अवस्थाको विषय र वन जंगलको अवस्थाको विषयमा स्याटेलाइटले फोटो लिएर पठाउने विश्वास गरिएको छ ।