काठमाडौंँ, असार ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो ।
नेपाली काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले समय उपलब्ध नगराउनु भएकाले विरोध गर्नुपरेको जनाएको छ ।प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहनुभएकाले उहाँको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भन्नुभयो ।
सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा नेपाली काँग्रेसका सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गर्नुभएको थियो । नेकाका सांसदलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी सभामुखले पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्टममा पुग्नुभए पनि सम्बोधन नगरी त्यहीँ उभिरहनुभएको थियो । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार ११ बजे बस्ने गरी बैठक स्थागित गरिएको घोषणा गर्नुभयो ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख थियो । रासस