हेम गिरी
म जन्मिदा मसँग न मैले मेरो देश भन्ने कुनै देश थियो न त म कुनै देशको नागरिकको रुपमै जन्मिए, जन्मिए त एक देशबिहिन शरणार्थीको रुपमा । मैले जन्मिदा म जन्मेको देशलाई गर्वको साथ मैले मेरो देश भन्न पाइन । अलिक पछि केहि कुरा बुझ्ने भए पछि मैले मेरो पहिचान अनि मेरो देश थाहा पाए । म नेपाली भाषा बोल्ने भुटानी रहेछु । अझ यसो भनौ, म नेपाली भाषी भुटानी शरणार्थी रहेछु । मैले मेरो देश भनिएको भुटान अहिलेसम्म देखेको छैन । नेपालमा जन्मे तर नेपाल मेरो देश हुनै सकेन । मेरो गुनासो नेपाल मेरो देश हुन सकेन भन्नेमा कति पनि छैन । सबै देशको नियम कानुन हुन्छ अनि हामीले त्यसलाई पलन गर्नु पर्छ भन्ने मलाई लाग्छ । जन्मेदेखि २० वर्षसम्म भाषा, रितिरिवाज, संस्कार, संस्कृतिलगायत सबै कुरा मिल्ने नेपाल भन्ने देशमा शरणार्थीको रुपमा बसियो ।
त्यसपछि भाषा, संस्कार सँस्कृति नमिल्ने अमेरिका भन्ने देशमा आप्रवासीको रुपमा बसिरहेको छु अनि करिब ५ वर्ष पछि म यो देशको नागरिक हुने कुरामा पक्का पक्की छु । जन्मेदेखि मेरो नामको नागरिकता अहिलेसम्म बनेको छैन । म जन्मेको देश नेपालले मलाई सधै शरणार्थीको रुपमा परिभाषा गरिरह्यो अनि मेरो देश भनिरहेको भुटान मेरो लागि सधै एकादेशको कथा जस्तै भयो ।
शरणार्थीको रुपमा जन्मिएर भोगेको दुख अनि पिडाको कुरा गर्न थालियो भने धेरै लेख्नु पर्छ तर एउटा कुरा चाहिं लेखौ होला, कहिले काहीं केहि नेपाली साथीभाईहरुसँग केहि विषयमा बहस चल्दा मलाई शिविरे अनि भुटंगे शब्द प्रयोग गर्थे अनि त्यो शब्दहरुले मलाई पोल्छ भन्ने ठान्थे तर मलाई त्यी शब्दहरु धेरै प्रिय लाग्थे ! सिधा भाषामा भन्नु पर्दा तँ शरणार्थी होस्, तँसँग के पो छ र ? भन्थे तर सबैले होइन कोहि यस्ता साथी पनि थिए जस्ले मलाई तँ नेपाली नै होस् भन्थे ।
सामान्य शब्दमा परिभाषा गर्नुपर्दा, अरुको शरणमा रहेका व्यक्तिलाई शरणार्थी भनिन्छ । आफ्नो राज्यको सीमाना पार गरेर कुनै पनि तेस्रो मुलुकमा गाँस, बास र सुरक्षाको व्यवस्था साथ शरण लिनेहरु पनि शरणार्थी हुन् । मूलत: शरणार्थी राष्ट्रियता र नागरिकताविहीन व्यक्ति हुन् । हरेक वर्षको जुन २० तारिकको दिन विश्व शरणार्थी दिवस पर्छ । यही बिहिबार विश्व शरणार्थी दिवस हो । राष्ट्रियता र राष्ट्रविहीन व्यक्तिहरुको लागि त्यो दिन विशेष दिन हो । सो दिन विश्वका देश बिहिन भएका सम्पुर्ण शरणार्थीले विभिन्न कार्यक्रमको आयोजन गरी आफ्नो दु:ख, गुनासो अनि पीडा पोख्ने गर्छन् ।
संयुक्त राष्ट्र संघले सन् २००१ देखि प्रत्येक वर्ष जुन २० लाई विश्व शरणार्थी दिवसको रुपमा घोषणा गरेको छ । शरणार्थी व्यक्तिसँग धेरै पीडा र दु:खका कुराहरु हुन्छ तर शरणार्थी बुझिला वस्तु होइनन् । उनीहरुले शरण प्रदान गर्ने मुलुकमा केवल लुगाको एउटा पोको, पुरानो झोला अनि आफ्नो शरीर मात्र बोकेर आएका हुँदैनन् । शरणार्थीसँग भएको सीप,कला, साहस, प्रतिभा, जाँगर र अनुभव कहिल्यै पनि शरणार्थी हुन्न । शरणार्थी पेट भर्ने काममा मात्र भोका नभई मानवीय व्यवहार प्राप्त गर्न पनि लालयित हुन्छन् ।
शरणार्थीको समस्यालाई दिगो समाधान गर्नको लागि सारोकारवालाहरु लागि परिरहेको देखिन्छ । भुटानी शरणार्थीको विषयमा लेख्नु पर्दा, शरणार्थीको दिगो समाधानको निमित्त रहेको स्वेच्छिक प्रत्यागमन, स्थानीय एकीकरण विलयन अनि तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत तेस्रो मुलुक पुनर्वास कार्यक्रम मात्र सुरु भएर लगभग अन्त्य भैसकेको छ भने अरु दुई विकल्प हाल सुरु भएको छैन । भुटानी शरणार्थीले स्वेच्छिक प्रत्यागमन चाहे पनि त्यो समाधानलाई कुनै पनि सरोकारवालाहरुले थालानी गरेका छैनन् ।
विभिन्न संगठनहरुले स्वदेश फिर्ने अभियान सुरु गर्ने भने पनि त्यो गफैमा सीमित भएको छ । स्वेच्छिक प्रत्यागमन भन्ने स्वदेश फिर्ती भन्ने बुझिन्छ । समान्यत: शरणार्थी बनिसकेपछि मानिस आफ्नो देश फर्कन चाहँदैन भन्ने सोच गलत हो । शरणार्थीको एउटा सपना रहेको छ, कुनै न कुनै दिन आफ्नो देश फर्किने । आफ्नै देशको माटोमा आन्तिम सास फेर्ने ।
त्यस्तै भुटानी शरणार्थी समस्यामा थालनी नभएको अर्को समाधान हो स्थानीय एकीकरण विलयन । भूटार्नी शरणार्थी नेपाली भाषीहरु हुन् । उनीहरुको भाषा संस्कृति र पहिचान नेपालीहरुसँग मिल्न जान्छ । त्यसै कारण उनीहरुलाई एकीकरण गर्दा खासै फरक पर्ने पनि विषय छैन भन्ने यो लेखकको भनाई हो ।
अन्त्यमा, शरणार्थी पनि मानिस हुन्, उनीहरु पनि अरु मानिस झैँ बाँच्न र हाँस्न चाहन्छन् ! म अहिले शरणार्थी होइन, तर मैले यो बिर्सेको छैन अनि कहिल्यै बिर्सिन सक्दिन कि म जन्मिदा शरणार्थी थिएँ अनि मैले मेरो २० वर्षको समय शरणार्थीको रुपमै बिताए अनि अझै नेपालमा मेरा दाजु भाई दिदी बहिनीहरू शरणार्थीको रूपमा बसिरहेको छन् ।