देबु बानियाँ
बाहुण्डाँगी । कोरियामा सोमवारबाट सुरु भएको अन्तराष्ट्रिय जेसीजको एसीया प्यासिफिक कन्फ्रेन्समा (एसप्याक) सहभागी नेपाल जेसीजको टोलीले कन्फ्रेन्समा नेपालको राष्ट्रिय झण्डा फरफराएका छन् । कन्फ्रेन्सको उद्घाटन समारोहमा नेपाल जेसीजका तर्फबाट राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले मञ्चबाट नेपालको झण्डा प्रर्दशन गर्दै सबै सहभागिलाई अभिवादन गर्नु भएको थियो । यसैगरी, कन्फ्रेन्समा सहभागि हुन नेपाली पोषाकमा ढाका टोपी लगाएर
कन्फ्रेन्स स्थल पुगेको १७ जनाको नेपाल जेसीजको टोलीले कन्फ्रेन्स स्थलमा नेपालको झण्डा फरफराएका थिए ।
विश्वका विभिन्न देशबाट कन्फ्रेन्समा आएका विशिष्ट व्यक्तिहरु तथा देशका अध्यक्षहरुलाई नेपालका तर्फबाट मायाको चिनोका रुपमा समेत राष्ट्रिय झण्डा प्रदान गरिएको छ ।
राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको नेतृत्वमा रहेको टोलीमा निवर्तमान अध्यक्ष सिनेटर श्रीधर बस्याल, अन्तराष्ट्रिय निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, कार्यकारीणी उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल (मिलन), कार्यकारीणी उपाध्यक्ष जेसी अमिश ढकाल, वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष जेसी अशोक शंकर, महासचिव सिनेटर अभिषेक श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ, राष्ट्रिय उपाध्यक्षहरु सुमनकृष्ण श्रेष्ठ, २०१८ का राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ, नेपाल जेसीजका आइटी कोडिनेटर आशिष शर्मा काठमाडौँ जेसीजका अध्यक्ष भुवनकुमार श्रेष्ठ, सदस्य सरु श्रेष्ठ, महासचिव अनुप सुनुवार, सदस्य तिलबहादुर गुरुङलगायत रहनु भएको छ । उहाँहरु सबैले देशको नाम र गरिमा जेसीजहरुका माध्यबाट विश्वमा लैजाने उदेश्यका साथ कार्यक्रम स्थलमा झण्डा फरफराउनु भएको थियो । निवर्तमान अध्यक्ष सिनेटर श्रीधर बस्यालले विश्वका कुनै पनि देशमा नेपाल जेसीजको पहिचान फरक रहेको बताउनु भयो ।
यसैगरी, कन्फ्रेन्समा नेपाल जेसीजको तर्फबाट राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले रिर्पाेट प्रस्तुत गर्नु भएको थियो । नेपाल जेसीजले अहिलेसम्म गरेका गतिविधिहरुलाई अध्यक्ष पौडेलले कन्फ्रेन्समा उत्कृष्ट रुपमा प्रस्तुत गर्नु भएको नेपाल जेसीजका अन्तराष्ट्रिय निरुपित कार्यकारीणी उपाध्यक्ष रविन पोखरेलले बताउनु भयो ।
यसैगरी, कोरिया कन्फ्रेन्समा नेपालको पश्चिम जिल्ला कैलालीमा रहेको टिकापुर जेसीज र फिलिपिन्सको ओलनगपो जेसीजबिच भगिनी सम्बन्ध कायम गरिएको छ । नेपालका तर्फबाट अन्तराष्ट्रिय निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेलले फिलिपिन्सको ओलनगपो जेसीजबिच भगिनी सम्बन्ध कायम गराउनु भएको हो । जेसीजभित्र जुनसुकै देशसँगको सहकार्यलाई केहीले पनि अवरोध नगर्ने यो सम्बन्धले पनि स्थापित गरेको छ । कोरिया कन्फ्रेन्स बिहिवारसम्म सञ्चालन हुनेछ ।