बझाङ, असार ४ – जीप दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ । यो जीप दुर्घटनालाई जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारबीच क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तले परम्पराअनुसार घाटमा दाहसंस्कार गरेका हुन् ।
जिल्ला अस्पताल सिमखेतबाट सुरु भएको मृतक दश जनाको शव यात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको ठूलो भिडभाड थियो । दश जनाको लामबद्ध शव यात्रामा आफन्त र अन्य मानिसहरुको रुवावासी पनि सुन्न सकिन्थ्यो ।
कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाउँका मृतक दुई जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर घाटमा सामूहिक अन्त्येष्टि गरिएको थियो । त्यस्तै जीपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको कपडे घाटमा अन्त्येष्टि गरिएको हो ।
शव यात्रामा एक हजारभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । घाटमा शव जलिरहँदा अन्त्येष्टिमा सहभागी भएकाहरुको आँखा रसाएका थिए । सामूहिक दाहसंस्कार गरिएको स्थल सदरमुकाम चैनपुर पारिपट्टी स्थानीय जनप्रतिनिधि, पार्टीका नेता, कर्मचारी र स्थानीयकोसमेत उपस्थिति रहेको थियो ।
घटनाले जिल्ला नै शोकमा डुबेपछि मष्टा गाउँपालिकाले बुधबार औपचारिक रुपमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिका लागि जीपका मालिकले तीन/तीन लाख दिने सहमति भएको छ । जीप दुर्घटनामा परेर घाइते भएका नेपालगञ्जमा उपचार गराइरहेका पाँच जनाको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।