विनेश खनाल ।
काठमाडौं । चर्चित ३३ किलो सुन काण्ड सेलाएको छैन। सडकदेखि सदनसम्म सुन काण्डको चर्चा उत्तिकै व्यापक छ। सुन तस्करमा संलग्नलाई प्रहरीले पटक पटक पक्राउ गरेपनि तस्करी भने रोकिएको छैन। तस्करहरू कतिसम्म खुलेआम सक्रिय छन् भन्ने भिडियोसहितको प्रमाण यहाँ प्रस्तुत गरिएको छ।
नेपालमा कसरी हुन्छ त सुन तस्करी? एउटा प्रतिनिधि उदाहरण यहाँ सदृश्य उतारिएको छ।
जेठ २५ गते शनिबार राति करिब १२ बजेको समय थियो। कतारको केही दिनको बसाइ सकेर मसहित केही पत्रकार काठमाडौं फर्कने क्रममा थियौं। कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किने क्रममा देखिएको दृश्यले मेरो ध्यान तान्यो। ६-७ जना नेपाली युवाको समूह त्यहाँ निकै सक्रिय देखियो। ती युवा विस्तारै हामीतर्फ आकर्षित भए। उनीहरू एयरपोर्टमा नेपालीहरूलाई छान्दै केही कुराकानी गरिरहेका देखिन्थे। सायद अब हाम्रो पालो आएछ। ती मध्येका एकजना हाम्रो नजिक आए र कुरा गर्न इच्छुक देखिए।
आएका ती व्यक्ति हामीसँग सुरूमा निकै शिष्ट शैलीमा प्रस्तुत भए। उनीसँगै अरू पनि त्यहाँ हामी छेउ थपिदै थिए। पछि थाहा लाग्यो उनीहरूको धन्दा त सुन तस्करीको पो रहेछ। म सहित केही पत्रकार साथीहरू थियौं। हामीले अब आएर उनीहरूको गाँठी कुरा भेउ पायौं। हामीले पत्रकारको पहिचान नखुलाउने र साधारण यात्रु भएर उनीहरूको वास्तविकता उतार्ने योजना इशारा इशारामै तय गर्यौं र त्यही अनुसार कुराकानी गर्न थाल्यौं।
उनीहरू निकै तरिका मिलाएर कुरा गर्थे। हाम्रो लगेज कतिवटा छ? कति ठूलो छ ? लगेजको गारो सार्होबाट उनीहरू सुरू हुन्थे र भाँति मिलाएर ‘हाम्रो सानो सामान लैजाने कष्ट गरिदिनु भए आभारी हुनेथियौं’ भन्दै आफ्नो वास्तविक योजना खुलाउँदै जान्थे।
यात्रुको इच्छा र मनोदशा बुझेर उनीहरू खुल्दै जाने रहेछन्। उनीहरूको योजना थाहा पाएपछि हामी उनीहरूका लागि सहज बन्ने पूरै प्रयासमा थियौं।
अब विस्तारै हामीसँग सहज मान्दै एकजनाले सोधे–‘तपाँइहरूले सुन त बोक्नु भएको छैन होला है?’ हामीले एकस्वरमा भनिदियौं– ‘छैन त’। ती व्यक्तिले केही एकान्ततर्फ संकेत गर्दै हामीलाई आमन्त्रित गरे। हामी पनि नाटकीय भावमा उनीहरूका लागि सहज बन्दै गयौं। उनीहरू विस्तारै खुल्दै हामीसँग प्रस्तुत हुँदै गए।
एकजनाले फ्याट्टै मुख फोरे– ‘अब के ढाँट्नु, हाम्रो पनि सानो काम हुने तपाँइहरूको पनि बाटो खर्च, खाना र होटल खर्च चल्ने त्यसैले सानो कष्ट दिउँ भनेर हो।’
हामीले अनभिज्ञता जनाउँदै थप जानकारी लिने प्रयास गर्यौं।
हामीलाई आफूहरूसँग भएको सुन काठमाडौं पुर्याउन सहयोग गरेवापत काठमाडौंदेखि घरसम्मको ट्याक्सी, बस टिकट, खाने बस्ने बन्दोबस्त र थप नगद ६ हजार रूपैयाँ दिने उनीहरूले अफर अगाडि राखे। उनीहरूका अनुसार हामीले प्रतिव्यक्ति ५० ग्रामको सुनको बाला लगाएर काठमाडौंसम्म ल्याएर उनीहरूका मान्छेलाई त्यो सुन बुझाउनु पर्ने रहेछ।
हामीसँग गफिने व्यक्तिले आफ्नो परिचय पनि खुलाए। उनी चितवनको रत्नगर नगरपालिका बकुलरका रहेछन्। अन्दाजी ३० बर्षे देखिन्थे। नाम उनले विश्वास लामा बताएका थिए। सात वर्ष अघि धादिङको गजुरीबाट बसाइँ सरी चितवन गएको इतिहास पनि सुनाए।
उनले सुनको बाला हामीलाई देखाउँदै त्यही बाला लगाएर काठमाडौं एयरपोर्टमा उनका मान्छेसम्म पुर्याउनु पर्ने सविस्तार जानकारी दिए। त्यो सुनको बालाको बिल पनि हाम्रै नाममा बन्ने र एयरपोर्टमा कुनै तनाव नहुने उनले आस्वस्त पार्दै धेरैजनाले यसैगरी सुन नेपाल लैजाने गरेको र केही समस्या नभएको सुनाए।
हामीले शंकाको प्रश्न गर्यौं–‘प्रहरीले हामीलाई समात्यो भने?’ उनले जुक्ति सुझाए– ‘बिल देखाउनुस्, बिल हामी बनाइदिन्छौं, मैले किनेर ल्याएको हो भन्नुस्। एअरपोर्ट बाहिर पुगेपछि हाम्रो मान्छेलाई फोन सम्पर्क गरेर बुझाइदिनुस्। काम सकिन्छ।’
उनले हामीलाई गौशालामा रहेको होटल जनकमा बास बस्न आग्रह गर्दै त्यहाँको सबै खर्च व्यहोर्ने बताएका थिए। खानपान र आवासको सबै खर्च उनले भुक्तान गर्ने सुनाएका थिए।
उनीहरू करिव ढुक्क थिए कि हामी उनीहरूको सुनको बाला बोक्ने भरिया हुँदैछौं। हामी पनि सकेसम्म धेरै सूचना र उनीहरूको सञ्जालबारे जानकारी लिने योजनामा थियौं। तर उनीहरू सचेत हुन्थे र कामसँग मात्रै मतलव राखेर कुरा गर्थे। दायाँवायाँ कुरामा उनीहरूको रूची देखिएन।
अब अरू के के प्रकृया बाँकी रहे त ?
दैनिक यस्तै काममा अभ्यस्त उनीहरूले बाँकी प्रकृया पनि पूरा गर्न तम्सिए। अब उनीहरूले हाम्रो अनुहार र पासपोर्टको फोटो पनि खिच्ने र मोवाइलमा राख्ने सुनाए। यसो किन गर्नु परेको रे भन्दा नेपालमा सुन बुझ्नेलाई चिन्न सहज होस् भनेर।
हामीलाई सुन बोक्ने भरिया बनाउने मध्येका अर्काले पनि अब परिचय खुलाए– चितवनकै भरतपुरका सिर्जन थापा। उनी निकै उत्साहित हुँदै हामीलाई हौसला दिँदै थिए।
हामीले जति सूचना फुत्काउन सक्थ्यौं प्रयास गर्यौं। उनीहरू हाम्रा प्रश्न थपिदै जाँदा सशंकित हुँदै जान्थे। हाम्रो हुलिया देखेर पनि उनीहरूले लख काटे क्यार पछि पछि उनीहरू हामीबाट तर्किदै पनि थिए। अन्तिममा हामीले पनि उनीहरूसँगको यो उल्झन् अब टुंग्याउनु पर्छे भन्ने ठानेर प्रहरीले समात्ने डर देखाउँदै सुनको भरिया बन्न हामीले इन्कार गरिदियौं। उनीहरू जसरी हामी छेउ आएका थिए, त्यसैगरि अरू नेपालीहरू खोज्दै हामीबाट टाढिए। हामीले त्यो बीचमा उनीहरूको आँखा छलेर केही अडियो र केही भिडियोमा त्यो संवाद उतार्ने प्रयास गरेका थियौं। तलको भिडियोमा हेर्नुहोला ।
सरकारले खाडी मुलुकबाट आउने नेपाली कामदारले ५० ग्रामसम्म सुन ल्याउन छुट गरेको छ। यही कानुनी छिद्र प्रयोग गरेर नेपाली सोझा कामदारलाई सुनको भरिया बनाएर तस्करी गर्ने गिरोहका यी त प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरूले नै दिएको सूचनालाई मान्ने हो भने यस्तो धन्दा गर्ने कतारमा मात्रै सयौंको संख्यामा छन्। कोही एयरपोर्टमै आएर सेटिङ मिलाउँछन्, कोही कामदारको कोठासम्मै पुगेर। कोही होटलमा वा कोही चिनजानका मान्छेलाई भरिया बनाएर तस्करीको धन्दा चलाउँदै आएका छन्।
डिसी नेपाल
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=Slw2348yPpY