असार ५ गते
यही असार ३ गते मङ्गलबार जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।
भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।