बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी सुमनकृष्ण श्रेष्ठ वर्ष २०१९ र २०२० का लागि एसिया प्यासिफिक डेभ्लोब्मेन्ट कमिटिको डेभ्लोब्मेन्ट अफिसरमा चयन हुनु भएको छ ।
कोरियामा बिहिवार सम्पन्न एसिया प्यासेफिक कन्फ्रेन्सबाट राष्ट्रिय उपाध्यक्ष श्रेष्ठलाई उक्त कमिटिमा चयन गरिएको हो ।
अन्तराष्ट्रिय जेसीजको एरिया बि अन्तर्गत रहेको ३६ वटा शाखा रहेको यस क्षेत्रमा श्रेष्ठले यस कमिटिको अफिसर हुने मौका पाउनु भएको हो । यस कमिटिको अध्यक्ष बंगलादेशबाट चयन भएका छन् ।
यस कमिटिको सदस्य बनेपछि जेसीआईका विभिन्न देशमा हुने बैठकहरुमा सहभागि हुने अवसर पाइनेछ । यसैगरी जेसीआईले गर्ने विभिन्न कार्यक्रमहरुसँग पनि नेपाल जेसीजले सहकार्य गर्ने अवसर पाउनेछ । ‘यो अवसर पाउनु नेपाल जेसीजका लागि ठूलो सफलता हो’ सदस्यमा चयन भएपछि बधाई व्यक्त गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले भन्नु भयो–‘जेसीआईका माध्यमबाट विश्वका विभिन्न देशसँग नेपाललाई चिनाउने अवसर मिलेको छ । यसले हामी नेपाली र नेपालको गौरवलाई अझ उचाइमा लैजानेछ । उपाध्यक्ष सुमनजीलाई यो अवसरलाई पूर्ण सदुपयोग गर्नु हुन अनुरोध गर्दै नेपाल जेसीजको तर्फबाट हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभकामना दिन चाहान्छु ।’
पाटन जेसीज वर्ष २०१८ का अध्यक्ष श्रेष्ठ जनकपुरमा सम्पन्न महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्ष बन्नु भएको थियो । एरिया ए अन्तर्गतको मध्य भागको (इटहरी, धनकुटा, बेलबारी, उर्लाबारी, दमक, कमलनगरलगायत) निरुपित रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै आउनु भएका श्रेष्ठ जनवरीको पहिलो महिनामै नेपाल जेसीजबाट अफिसर अफ द मन्थको अवार्ड पाउनु भएको थियो । अत्यन्तै शालिन र भद्र स्वभावका श्रेष्ठ जेसीज अभियानसँगै सफल व्यवसायी समेत हुनुहुन्छ ।