२०७६ आषाढ ६ शुक्रवार -रसुवागढी
निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका हुन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।
नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ । यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन् । ‘उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ । नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ । तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन । बिहान ६ बजेदेखि नै हामी खट्छौँ । म आफै पनि ५ बजे घटनास्थलमा पुग्ने योजना बनाएको छु,’ प्रजिअ भण्डारीले भने ।
माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘मानवीय क्षति भएको छैन, कामदार सकुशल छन्, उनीहरूलाई बाहिर निकाल्न बिहान उज्यालो हुनासाथ उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइन्छ,’ गैरेले भने । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी भन्छन्–भित्र ११ नेपाली र ६ चिनियाँ मजदुर छन्, राति नै उद्धार गर्न सम्भव भएन, शुक्रबार बिहानैदेखि खट्छौँ
सुरुङ्गबाट सबै कामदारको सकुशल उद्धार, पहिरो रोकिएन
रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताउनुभयो ।
उहाँले आफू सहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रम जारी रहेको बताउनुभयो । बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको समेत फोनमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार राति सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।