अहिले सरकारले संघीय संसदमा पेश गरेको गुठी सम्वन्धि विधेयकले मुलुकको राजनीति तताएको छ । गुठीका उल्लेख गरिएका प्रावधानको प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा, राप्रपा संयुक्त राजपा, समाजवादी पार्टी, गुठीयार, मोही, आम सर्वसाधारण मात्रै होइन, प्रमुख सत्तारुढ दल नेकपामा पनि विवाद देखिएको छ । सरकारले परम्परा, सस्कृति, मूल्य मान्यता ध्वस्त पार्न लागेको भन्दै सत्तारुढ दलकै सांसदले सरकारको चर्को आलोचना गरेका छन् । यतिसम्मकी एउटा विधेयककै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र अन्य जनप्रतिनिधिलाई बोलाएर छलफल गर्न बोलाएर छलफल गर्न बाध्य बनायो । नेकपाका प्रभावशाली नेताहरु योगेश भट्टराई, भिम रावल, पुष्पकमल दाहाललगायतले फिर्ता लिनु पर्ने धारणा राखेका थिए । त्यो मध्य सबैभन्दा बढि उपत्यकामा नेकपाबाट निर्वाचित सांसद आक्रोषित बनेका छन् । आक्रोषित बन्ने मध्यमा पहिलो नम्वरमा आउँछन्, काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानान्धर । उनीसंग हामीले गुठीका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सारसंक्षेप :
आफ्नै पार्टीबाट मन्त्री बनेर सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा माग्नुभयो, खास कारण के हो ?
हो, मैले संसदमा गुठियारलाई सामन्ती भन्ने सञ्चार मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेको हुँ । म नेकपाबाट सांसद बनेको हुँ । बास्कोटा जी पनि नेकपाबाटै सांसद बनेर मन्त्री बन्नु भएको हो । गुठी प्रथालाई सामन्तवाद भन्ने उहाँको अहमता हो ।
त्यो अहमताले काम गर्दैन । गुठीलाई सामन्ती प्रथा जोड्नुलाई कडा आपत्ती जनाएको हुँ । उहाँले राजीनामा नदिने बेलासम्म हाम्रो आन्दोलन जारी राख्छौं । सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।
बास्कोटाले राजीनामा दिनु पर्नाको खास कारण के हो ?
सरकारका प्रवक्ता भएर सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनु पर्ने हो । तर, त्यसको ठिक विपरित मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरिरहनु भएको छ । मेरो माग “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” भन्ने हो ।
गुठीलाई त सामन्तबादको सूचक मानिन्छ । तपाईहरु त समाजवादको उद्धेश्य बोकेर हिड्नु भएको व्यक्ति किन यस्तो विधेयक आउँदा विरोध गर्नुभयो ?
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भन्ने अधिकार उहाँलाई कस्ले दियो ? पार्टीले आधिकारिक धारणा नबनाउँदै सामन्तवाद भनेपछि राजिनामा नै माग्नुपर्ने अवस्था आएको हो ।
आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ । हामीले कि भनाई सच्याउन प¥यो, होइन भने राजीनामा दिन प¥यो भन्ने माग गरिरहेका छौं । त्यो माग पुरा नहुँदासम्म आन्दोलन गरिरहन्छौं ।
गणतन्त्रलाई पनि सरकारले धरापमा पारेको आरोप लगाइरहनु भएको छ, कारण के हो ?
दुई तिहाईको सरकारका मन्त्रीहरुले जनताको पक्षमा काम गर्नु पर्ने हो । तर, त्यसको ठिक विपरित आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन् । सरकार भ्रष्टाचारमा लिप्त भएका उदाहरण बाहिर आइरहेका छन् । मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धराप पर्छ भन्ने मेरो भनाई हो ।
तपाईहरुले विधेयक फिर्ता लिन माग गर्नु भएको छ कि, संशोधन गर्न भन्नु भएको छ ?
हाम्रो माग विधेयक फिर्ता लिनु पर्छ भन्ने हो । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबाट फर्किएपछि विमानस्थलमा विधेयक फिर्ता हुन्छ भन्नुभएको थियो । अब सरकारले निर्णय गरेर विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी नै ल्याउछौं ।
म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नु होला काठमाडौं के हुन्छ ? यो मेरो चुनौती होइन, सरकारलाई सुझाब हो । सुझाव नमानेमा अवस्था के हुन्छ, त्यो सरकार आफैले बुझोस । गुठी विधेयक फिर्ता लिएर हुँदैन, खारेज गर्नु पर्छ आम नागरिकले भन्न थालिसके । बुधबार माइतीघर हेर्नु भयो होला नी बास्कोटा जीले ।
सरकारले ल्याएको विधेयकले गरिव गुरुवा र मोहीलाई फाइदा हुन्छ भन्ने सरकारको धारणा छ, तपाईहरु भने विरोध गरिरहनु भएको छ, कारण के हो ?
त्यो हावादारी कुरा मात्रै हो । सरकारले ल्याएको गुठी विधेयकले कसैलाई पनि फाइदा गर्दैन । बाबु बाजेले गुठी मार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको छ ।
सरकारको यो कामले जनमत भड्काईरहेको छ । अर्को निर्वाचनमा यसको प्रभाव कस्तो हुन्छ देख्नेछ । पुर्ण रुपमा फिर्ता गरे हुुन्छ । मन्त्री अर्यालले छलफल भन्नु भएको छ जनता मान्ने वाला छैन् ।
सबैभन्दा बढी गुठी विधेयकको विरुद्धमा काठमाडौं उपत्यकामा आन्दोलन भएको छ, कारण के हो ?
सबैभन्दा धेरै गुठी र मन्दिर भएको काठमाडौं उपत्यकामा हो । यहाँका धार्मीक सम्पदाहरु प्राय सबै गुठीबाट सञ्चालित छन् । तसर्थ बाबु बाजेले चलाउदै आएका गुठीलाई मस्न खोज्दा कोही टुलुटुलु बसेर हेर्दैन । आफ्नो शक्ति देखाएर त्यो कार्य असफल बनाउँछ ।
उपत्यकाका जनता अहिले त्यही गर्नका लागि आन्दोलन गरिरहेका छन् । विधेयक फिर्ता नहुँदासम्म कुनै पनि हालतमा हाम्रो आन्दोलन रोकिन्न । विधेयक फिर्ता भएन भने काठमाण्डौ यो भन्दा बढि जुरुक्क उठ्छ । त्यो अवस्थामा सरकारले काठमाडौंलाई रोक्ने सामथ्र्य राख्न सक्नेछैन ।
तसर्थ हामीले सरकारलाई बेलैमा सचेत बनाएका छौं । सिंगो सरकार र सरकारका प्रवक्ता मन्त्री बास्कोटा धर्म संस्कृति बारे अनभिज्ञ हुनु दुर्भाग्य हो । राजतिलकका साथमा ।