उर्लाबारी । उर्लाबारी–मधुमल्ला सडक खण्डको कालोपत्रे बनिनसक्दै भत्किएर खाल्डैखाल्डा बनेपछि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको पहलमा ढुङ्गा गिटी हालिएको छ ।
कालोपत्रे सडकमा ठूलठुला खाल्डा बनेपछि यात्रु तथा सवारी साधनहरु समस्यामा परेका थिए । स्थानीयबासीहरुको गुनासोको आधारमा प्रमुख फागोले उर्लाबारी क्षेत्रका क्रसर ब्यवसायीहरुलाई गिट्टी हाल्दिन अनुरोध गरेका थिए । सोही आधारमा शुक्रबार क्रसर ब्यवसायीहरुले खाल्डाखुल्डीमा गिट्टी हालेका हुन् । उक्त सडक खण्डको उर्लाबारी क्षेत्रभरी भएका खाल्डा पुर्ने जनाइएको छ । ०६९ जेठ ४ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले ठेक्का लिएको थियो । ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता भएको ८ वर्ष बितिसक्दा समेत ठेकेदारले सडक निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरिसकेको छैन । ठेकेदार कम्पनीलाई अख्तियारमा मुद्दा परेको छ ।