काठमाडौं । गुट उपगुटको महासंघ भनेर चिनिने नेपाली कांग्रेसका फेरी वेग्रल्ती गुट उपगुट देखिएका छन् ।
१३ औं महाधिवेशनपछि सस्थापन र नेता रामचन्द्र पौडेलको मात्रै गुट रहेकोमा अहिले दुई गुटभित्र दर्जनौ उपगुट जन्मिएका छन् ।
सस्थापनको नेतृत्व गरेका सभापति शेरबहादुर देउवा र अर्को गुटको नेतृत्व गरेका नेता पौडेलले आफ्नो गुटलाई सम्हाल्न सकेका छैनन् ।
पौडेलको गुटभित्र महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंहहरूले आ–आफ्ना गुट चलाएका छन् ।
सुजाताले कांग्रेसका असन्तुष्ट नेताहरूलाई जम्मा गरेर जीपी फाउण्डेशनका नाममा समानान्तर कांग्रेस चलाइरहेकी छिन् । जीपी फाउण्डेशनलाई प्रत्येक जिल्ला, नगर र गाउँपालिका तथा विदेशमा प्रवास समितिहरू समेत बनाइएका छन् ।
नेता कृष्णप्रसाद सिटौलाले पनि गुटलाई सक्रिय बनाएका छन् । सिटौला समूहबाट गगन थापा धेरै सन्तुष्ट छैनन् । थापाले आफूलाई सकेसम्म कसैलाई पनि नचिढाउने गरेर अगाडि बढाएका छन् ।
आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा थापाले आफूलाई अगाडि बढाइरहेको चर्चा कांग्रेसभित्र रहेको छ । सिटौला समूहका अर्का नेता प्रदीप पौडेलले आफूलाई धेरै राम्रोसँग अगाडि बढाउन सकेका छैनन् ।
पौडेलले आफूलाई सिटौला समूहबाट अलग बनाएर डा.शेखर कोइरालाको क्याम्पमा प्रवेशको तयारी गरिरहेको एक नेताले बताए ।
सस्थापनमा उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा.प्रकाश शरण महत, बालकृष्ण खाँणले अलग गुट चलाइरहेका छन् । देउवा गुटभित्र उपगुट चलाइ रहेका नेताहरूबीच बोलचाल नै छैन ।
देउवा गुटमा सबैभन्दा ठूलो र शक्तिशाली गुट आरजु राणाले चलाइ रहेकी छिन् । आरजुका कारण कांग्रेस बिग्रेको आरोप धेरैको छ ।
गुटकै कारण कांग्रेसको राष्ट्रिय जागरण अभियानले राम्रो हुने मौका पाएन । कतिपय जिल्लाहरूमा कुटाकुटको अवस्था भयो । कुनै ठाउँमा विरोधी गुटले कार्यक्रम बिथोल्ने, कार्यक्रममा सहभागी हुन नजान निर्देशन दिने जस्ता अराजक क्रियाकलाप गरे ।
२५ जेठमा सम्पन्न भएको कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान प्रभावकारी बन्न सकेनन् । एक महिनामा कांग्रेसका नेताहरूले एकताको सन्देश दिन सकेनन् । बरु गुटको गन्ध दिइरहे ।
जागरण अभियानमा केन्द्रीय प्रतिनिधिहरूलाई ओझेलमा पार्ने गरेर नेता पौडेल आफै जिल्लाहरू घुमे । पौडेल मात्रै होइन डा.शेखर कोइरालाले पनि आफूलाई पार्टीलाई खटाएको काभ्रे जिल्लालाई छाडेर अरु जिल्लामा पुगे ।
सबै जिल्लाहरूमा स्थानीय नेता तथा कार्यकर्ताहरूले शीर्ष नेताहरूलाई मिल्न नै दवाव दिए । उनीहरूको सुझावलाई पार्टीका नेताहरूले पूरा गर्ने छन् वा छैनन् भविष्यले नै देखाउनेछ ।