असार ११, काठमाडौं । लोकदोहोरी प्रतिष्ठानदेखि संसदसम्म पुगेको ‘गलबन्दी’ विवाद सुल्झिएको छ ।
बुधबार लोकदोहोरी गीत गलबन्दीका सर्जक तथा गायक प्रकाश सपूत र शम्भु राईबीच ४ बुँदे सहमति पश्चात् विवाद सुल्झिएको हो ।
सहमतिसँगै गलबन्दी गीतको संगीतकारमा शम्भु राईको नाम थपिने भएको छ । यसअघि प्रकाश सपूतको मात्रै नाम थियो । अब दुवैको रहनेछ ।
सपुतको ‘गलबन्दी च्यातियो’ बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको विवाद सुरु भएको थियो । कतिले प्रकाश सपूतको पक्षमा बोलेका थिए भने कतिले शम्भु राईको गीतको लय प्रकाशले चोरेको भन्दै गाली गरिरहेका थिए ।
अब भने यो विवाद टुंगिएको छ ।