• काठमाडौं। जारी क्रिकेट विश्वकपको समीकरण निकै गजबको भएको छ । अहिलेसम्मका खेल, बाँकी रहेका खेल र आपसमा खेल्ने टिमको अहिलेसम्मको प्रदर्शन हेर्दा सेमिफाइनलमा फेरि भारत र पाकिस्तानबीच हाइभोल्टेज भिडन्त हुने देखिएको छ । हिजो अस्ट्रेलियासँग इङल्याण्ड पराजित भएपछि पाकिस्तानको लागि सेमिफाइनलको बाटो सहज भएको छ र सेमिफाइनलमा उसले भारत प्रतिद्वन्द्वी पाउने सम्भावना उच्च छ । यसअघि सेमिफाइनलमा भारत र पाकिस्तानबीच २०११ मा भिडन्त भएको थियो ।

    लिग चरणका ४५ खेलमध्ये ३२ खेल सकिँदा अहिले अस्ट्रेलिया ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा ११ अंक भएको न्यूजिल्याण्ड दोस्रो, ५ खेलमा ९ अंक भएको भारत तेस्रो, ७ खेलमा ८ अंक भएको इङल्याण्ड चौथो, ७ खेलमा ७ अंक भएको बंगलादेश पाँचौं, ६ खेलमा ६ अंक भएको श्रीलंका छैटौं, ६ खेलमा ५ अंक भएको पाकिस्तान सातौं, ६ खेलमा ३ अंक भएको वेष्ट इण्डिज आठौं, ७ खेलमा ३ अंक भएको दक्षिण अफ्रिका नवौं र ७ खेलमा सबै हारेको अफगानिस्तान अन्तिम स्थानमा छन् । दक्षिण अफ्रिका र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

    नियमअनुसार अंक तालिकाका शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन् । अहिलेसम्म चौथो स्थानमा रहेको आयोजक इङल्याण्डको सेमिफाइनल यात्रा निकै कठिन छ । उसले अब भारत र न्यूजिल्याण्डसँग मात्र खेल्न बाँकी छ । यी दुवै टिम यति बलिया छन् कि जारी विश्वकपमा अहिलेसम्म एउटा खेल पनि हारेका छैनन् । यी दुई एक आपसमा भिड्नुपर्ने खेल भने वर्षाका कारण रद्द भएको थियो । इङल्याण्डले विश्वकपमा न्यूजिल्याण्डलाई १९८३ मा हराएपछि अहिलेसम्म हराउन सकेको छैन । भारतलाई १९९२ मा हराएपछि अहिलेसम्म हराउन सकेको छैन ।

    यदि इङल्याण्डले भारत र न्यूजिल्याण्डसँग हार्यो भने उसको लागि संकटको स्थिति हुनेछ । लिग चरणका खेल सकिँदा उसको ८ अंक मात्र हुनेछ । उता पाकिस्तानले ३ खेल खेल्न बाँकी छ । पाकिस्तान आज बलियो न्यूजिल्याण्डसँग भिड्दैछ । त्यसपछि उसले बंगलादेश र अफगानिस्तानसँग खेल्न बाँकी छ । पाकिस्तानले आज बलियो न्यूजिल्याण्डसँग हारे पनि उसले बाँकी २ खेलमा बंगलादेश र अफगानिस्तानलाई हराउन सजिलो छ । यी दुई खेल जितेमा पाकिस्तानको अंक ९ हुनेछ र उसले इङल्याण्डलाई उछिन्नेछ ।

    भारत अहिले ५ खेलमा ९ अंकसहित तेस्रो स्थानमा छ । भारतले अब वेष्ट इण्डिज, इङल्याण्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । बाँकी खेलमध्ये तुलनात्मक रुपमा भारतको लागि कठिन खेल इङल्याण्डसँगको हो । अरु टिमलाई हराउन उसलाई त्यति कठिन हुने देखिँदैन । यदि भारतले सबै खेल जितेमा ऊ अंक तालिकाको शीर्षमा पुग्नेछ । अहिलेसम्म एउटा पनि खेल नहारेको भारतको लागि त्यो असम्भव पनि छैन ।

    न्यूजिल्याण्डले अब पाकिस्तान, अस्ट्रेलिया र इङल्याण्डसँग खेल्न बाँकी छ । अहिलेसम्म न्यूजिल्याण्डको नेट रनरेट सबैभन्दा उच्च छ तर बाँकी खेलमा न्यूजिल्याण्डका प्रतिद्वन्द्वी बलिया छन् र भारतका केही प्रतिद्वन्द्वी कमजोर छन् । यस्तोमा भारतले नेट रनरेट बढाएर न्यूजिल्याण्डलाई उछिन्यो भने न्यूजिल्याण्डले समेत बाँकी सबै खेल जितेको अवस्थामा पनि भारत अंक तालिकाको शीर्षमै रहनेछ र न्यूजिल्याण्ड दोस्रोमा रहनेछ ।

    यदि यस्तो भयो भने नियमअनुसार तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल भिडन्त हुनेछ । यो अवस्थामा पाकिस्तान चौथो टोली र भारत पहिलो टोली हुनेछन् र उनीहरुबीच सेमिफाइनलको भिडन्त पर्नेछ । रोचक त के भने यदि यस्तै समीकरण बन्यो भने यी दुईबीचको सेमिफाइनल म्यान्चेस्टरको त्यही मैदानमा पर्नेछ जहाँ यी दुईबीच समूह चरणको खेल भएको थियो ।

    सेमिफाइनल पुग्ने सम्भावना भएका अरु टिमको कुरा गर्दा पाँचौं स्थानमा रहेको बंगलादेश आशावादी छ । उसको ७ अंक छ । तर, उसको बाटो कठिन छ किनकि उसले अब भारत र पाकिस्तानसँग खेल्न बाँकी छ । इङल्याण्डलाई हराएर तालिकाको छैटौं स्थानमा रहँदै आशावादी रहेको श्रीलंकाको ६ खेलमा ६ अंक छ । तर उसले पनि वेष्ट इण्डिज, दक्षिण अफ्रिका र भारतसँग खेल्न बाँकी भएकोले बाटो कठिन छ । वेष्ट इण्डिजको ३ अंक मात्र छ । उसले सबै खेल जितेमा उसको पनि ९ अंक हुन सक्छ । उसले बाँकी भएका खेलमा श्रीलंका र अफगानिस्तानलाई हराएर ७ अंक त बनाउन सक्ला तर भारतलाई हराएर ९ अंक बनाउनु चुनौतीपूर्ण हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…