• पछिल्लो समय दुई तिहाइ बहुमतको शक्तिशाली सरकार विरुद्ध जनता सडकमा नै उत्रिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेकै बेला सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको विरोधमा राजधानीबासी सडकमा उत्रिएपछि सरकारले बाध्य भएर उक्त विधेयक फिर्ता लिएको छ।

    सरकार विरुद्ध जनता सडकमा उत्रिँदासमेत त्यसलाई प्रमुख प्रतिपक्षले क्यास गर्न नसकेको भन्दै कांग्रेसको आलोचना हुन थालेको छ। कांग्रेस यतिबेला लामो समयदेखि अपूर्ण रहेका विभाग गठनको तयारीमा लागेको समाचार सार्वजनिक हुन थालेका छन्।

    अझ अनुशासन समितिले निर्वाचनमा घात गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न सुरु गरेको सार्वजनिक भएको छ । अनुशासन समिति गठन भएको सत्य हो र यदि यसले कारवाही सुरु गर्यो भने कसलाई गर्यो? किन गर्यो प्रश्न उठ्छ। यसको जवाफमा पार्टी हित र विधान विपरित काम गर्ने नेता कार्यकर्तालाई कारवाही सुरु गरेको भन्ने पनि आएको छ। तर व्यवहारमा त्यस्तो होइन ।

    अनुशासन समितिले काम गर्नु भन्दा पहिला नेपाली कांग्रेसले एउटा निष्पक्ष, स्वतन्त्र, निर्भिक व्यक्तिको नेतृत्वमा छानविन आयोग गठन गर्नुपर्छ। गल्ती गर्नेले गल्ती गरेको विषय यसको स्वेच्छाले गर्यो वा गराइयो, त्यसमा कार्यकर्ता लेवलमा गल्ती छ वा नेतृत्व तहमा गल्ती छ? भन्ने कुराको पहिला छानविन हुनुपर्छ। छानविन भएर प्रतिवेदन आएपछि त्यस्तो प्रतिवेदनका विषयमा कार्यसमितिले छलफल गर्ने, अपनत्व लिने र कारवाही गर्नुपर्ने भए के कस्तो कारवाही गर्नुपर्ने हो भन्ने सन्दर्भमा अनुशासन समितिलाई जिम्मा दिनुपर्छ।

    अनुशासन समिति आफैं बोक्सी आफैं झाँक्री? अनुशासन समितिमा रहेकै सदस्यले गरेका क्रियाकलाप चाँहि कसले हेर्ने ? नेपाली कांग्रेसले अनुशासन समिति गठन गर्ने र अनुशासन समितिले अनुशासन सम्बन्धि काम कारवाही थाल्नुले बेमौसमको बाजा बजाइ जस्तै हुन थालेको छ।

    अहिले अनुशासनको कारवाही थाल्दा केही सीमित व्यक्तिको फाइदाको लागि अथवा कसैको रिसइबी साँध्नको लागि कारवाही गरिएका तल्लो तहका नेता कार्यकर्ताका कारण कांग्रेसको संगठन बन्ने होइन झनै भत्किन्छ।

    केही दिन अगाडि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षका अध्यक्षद्वय र अन्य नेताहरुको छलफलमा प्रधानमन्त्रीले वर्तमान संसदलाई भंग गरेर ताजा जनादेश लिन जनता समक्ष जाने र त्यसरी पाएको जनताको अभिमतको आधारमा सरकार संचालन गर्ने सोचमा रहेको समाचार पनि सार्वजनिक भएको छ। यसरी हेर्दा मुलुकको राजनीतिक तरल छ। दुई तिहाइ बहुमतले मात्र राजनीतिक स्थायित्व नहुने रहेछ भन्ने कुरा देखिन थालेको छ।

    मुलुकमा संरचनाहरु स्वभाविक संचालनमा छैनन्। प्रतिपक्षमा रहेको कांग्रेसले बेमौसमको बाजा बजाएर अनुशासन समितिले कारवाही गर्न थालेको विषय सार्वजनिक भएको छ। यो कारवाही सिंगो पार्टीको हितको लागि हो वा केही सीमित व्यक्तिको गुटको हितको लागि हो भन्ने गम्भीर प्रश्न यतिबेला उठेको छ। यसरी अनुशासनको कारवाही गर्दा पहिला छानविन गरेर त्यो रिपोर्टको आधारमा माफी दिन सक्ने, सच्चिन सक्ने, सच्चिन लगाउन सकिने वा कारवाही नै गर्ने विषयमा टुंगोमा पुग्ने विषयमा छलफल गर्नुपर्छ।

     

    नेतृत्वले आफू केही काम गर्न नसक्ने, गर्न लगाउन नजान्ने, अनि अनुशासनको कुरा गर्ने? प्रमुख प्रतिपक्षको रुपमा रहेको कांग्रेसले यो बेला बेमौसमको बाजा होइन। संगठन निर्माणमा लाग्नुपर्छ। यसरी अहिले अनुशासनको कारवाही थाल्दा केही सीमित व्यक्तिको फाइदाको लागि अथवा कसैको रिसइबी साँध्नको लागि कारवाही गरिएका तल्लो तहका नेता कार्यकर्ताका कारण कांग्रेसको संगठन बन्ने होइन झनै भत्किन्छ।

    आफ्नो पक्षको होइन भन्दैमा त्यसलाई अनुशासनको नाम दिएर ठाडो कारवाही गर्नुले पार्टीलाई हित हुँदैन । यी नेता कार्यकर्ता पार्टीको संगठनका आधारहरु हुन् । उनीहरुमाथि नै कारवाही गर्दा पार्टीको संगठन भत्किन्छ ।

    गएको निर्वाचनमा ठूलो पराजय व्यहोरेको पार्टीले अर्को निर्वाचनमा पुनरागमन गर्नको लागि संगठन बलियो बनाउनु पर्ने हो तर बिना छानबिन पार्टीको संरचना भत्किने गरी रिसइबीको आधारमा कारवाही गर्दा भोलि पार्टी कता जान्छ ? के यस्तो पाराले भोलि पार्टीले पुनरागमन गर्न सक्ला?

    यसअघि कांग्रेसले जुन जागरण अभियान संचालन गरेको थियो, त्यो जागरण अभियानबाट के सफता प्राप्त भयो? उपलब्धीको समीक्षा पहिला गर्नुपर्छ। किन राजनीतिक रुपमा किन सफलता प्राप्त गर्न सकेन ? यी विषयको पहिला लेखाजोखा वा मूल्यांकन गर्नुपर्छ। त्यसैले पहिला गर्नुपर्ने काम गर्नुपर्छ। समय अनुसार चल्न सिक्नुपर्छ। अब सत्तापक्षको मनपरी रोक्न प्रतिपक्ष सक्षम हुनुपर्छ। त्यसकालागि कांग्रेसले अहिले देखि नै योजना बनाउनुपर्छ।

    लेखक : जगदीश दाहाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…