• दमौली : नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन्।

    ट्रकका चालक मोरङ ऊर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३० वर्षीय चालक विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

    प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन्। तर करिब दुई घण्टामा नारायणगढ पुगेको ट्रकबाट झर्न नदिएर आफूलाई जर्बजस्ती ट्रकमै बलात्कार गरिएको महिलाको आरोप छ।

    दमौलीका लागि रड लिएर आउँदै गरेको सो ट्रकलाई व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर चालक र सहचालक दुवैले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ।

    विहान करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाको भनाइ छ। घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए।

    ‘महिलाले आफूलाई ट्रकबाट झर्नै नदिएर बलात्कार गरेको बताएकी छन्,’ प्रहरी उपरीक्षक लामिछानेले भने,‘आरोपितसँग बयान लिइरहेका छौं।’ उनका अनुसार महिलाले नाराणगढ आउनासाथ आफूलाई झारिदिन अनुरोध गरेकी थिइन्। तर चालक र सहचालक दुवैले उनलाई ट्रकबाट झर्न नदिएर जर्बजस्ती गाडि अघि बढाएका थिए।

    पीडित ३० वर्षीया महिला विवाहित रहेको बताइएको छ। उनलाई आफन्त सम्पर्कमा आएपछि दमौलीस्थित महिला आ श्रयगृहमा राखिएको छ। आश्रयस्थलमा रहेकी उनले आफूमाथि यस्तो होला भनेर कल्पनासम्म नगरेको बताइन्।

    ‘बसले नरोकेपछि ट्रकलाई हात दिएँ। रोक्यो पनि।’ उनले भनिन्, ‘तर अप्ठेरो पर्दा लिफ्ट दिएका चालकबाट यस्तो होला भनेर सोचिन।’ उनले घटनामा चालक र सह चालक दुवै संलग्न रहेको आरोप लगाइन्। प्रहरीले महिलाको अवस्था सुधार नआउँदासम्म उनलाई आश्रयगृहमा राखिने बताएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…