• असार १४, काठमाडौं । कांग्रेसको संस्थापन पक्षले पार्टी समायोजनका बेला तत्कालीन लोकतान्त्रिक फोरमलाई पार्टीको क्रियाशील सदस्यता उसले मागेभन्दा बढी दिने तयारी गरेको छ । एकीकरणपश्चात दुई पार्टीका संगठन समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समितिको शुक्रबार बसेको बैठकले तत्कालीन फोरमका २५ हजार ४ सय ६८ जनालाई क्रियाशील सदस्यता दिन सिफारिस गरेको छ ।

    पूर्वलोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ०७५ वैशाख १२ को केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नातर्फबाट २० हजार क्रियाशील सदस्यता समायोजनको माग गरेका थिए ।
    ‘पूर्वलोकतान्त्रिक फोरमको ६३ जिल्लामा रहेका २० हजार क्रियाशील सदस्यलाई कांग्रेसको मौजुदा विधान र नियमावलीबमोजिम लोकतान्त्रिक फोरमले सिफारिस गरेको नामावलीबमोजिम सदस्यता प्रदान गर्न चालु केन्द्रीय समितिको बैठकबाट निर्णय गरी निर्देशन गर्न प्रस्ताव गर्दछु,’ गच्छदारको पत्रमा उल्लेख छ ।

    समिति बैठकले गच्छदारबाट ०७५ चैत २८ मा प्राप्त भएको सूची भन्दै २५ हजार ४ सय ६८ जनालाई क्रियाशील सदस्यता दिलाउने गरी छानबिनका लागि सम्बन्धित जिल्लामा नामावली पठाउने निर्णय गरेको हो । क्रियाशील सदस्यता नामावलीको छानबिनका लागि बैठकले समितिसमेत बनाएको छ । छानबिन समितिमा जिल्ला सभापति, साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति तथा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहनेछन् ।

    तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति जिल्लामा नभएको खण्डमा उपसभापति गच्छदारले तोकेको प्रतिनिधिले बैठकमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइएको छ । निधि संयोजकत्वको समितिले सबै क्रियाशील सदस्यताको सूची सम्बन्धित जिल्लामा पठाई दुई साताभित्रै छानबिन गरी निर्णयसहित केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

    समायोजनका क्रममा गच्छदारलाई उपसभापति दिनुका साथै महासमिति बैठकमा २ सय जनालाई समायोजन गरिसकिएको छ । महासमितिमा ३ सय जनालाई समायोजन गर्नुपर्ने गच्छदारको माग थियो । उनले केन्द्रीय कार्यसमितिमा १५ जना, प्रत्येक विभागमा ३र३, प्रदेश समितिमा ७र७, पूर्वलोकतान्त्रिक फोरमको संगठन रहेको ६३ जिल्लाबाट ७ सय जनालाई महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, नगर, गाउँ र बुथ समितिमा उपसभापतिसहित कम्तीमा १० जना र भ्रातृ तथा शुभेच्छुक संस्थामा २५ प्रतिशतको समायोजन हुनुपर्ने माग गरेका थिए । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…