मदन भण्डारीका हत्यारा पत्ता लगाउन केले दिँदैन ? हामी नै सरकारमा छौं : प्रचण्ड
१४ असार, काठमाडौं । मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ अहिले नेकपाभित्र बहसको ‘हटकेक’ बनिरहेको छ । यही सन्दर्भमा शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्यो, जहाँ प्रधानमन्त्री केपी ओलीका साथै अर्का अध्यक्ष प्रचण्डलाई समेत निम्त्याइयो ।
कार्यक्रममा प्रधानमन्त्रीभन्दा अगाडि बोलेका अध्यक्ष प्रचण्डले गम्भीर सवाल उठाए–
कार्यक्रममा प्रचण्डको प्रश्न थियो– ‘अहिले पनि हामी, आम नेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, एउटा भयानक डिजाइनअन्तरगत भएको हत्या हो,… कहिलेकाँही अनौठो लाग्छ, केले दिँदैन हामीलाई ? हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर, भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं । बरु, यसलाई त्यसै त्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्नेजस्तो अवस्था छ ।’
प्रचण्डले दरबार हत्याकाण्ड, दासढुंगाजस्ता काण्डहरु अहिलेसम्म रहस्यमय रहेको बताए । सरकारमा आफ्नै नेतृत्व रहँदा पनि मदन भण्डारीका हत्याराको खोजी गर्ने कार्यमा ढिलाइ भइरहेको प्रचण्डले गुनासो पोखे पनि यसबारे प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएनन् ।
मदन भण्डारी फाउन्डेसनमा प्रचण्डले व्यक्त गरेको विचार उनकै शब्दमा
कमरेड मदन भण्डारीको त्यो प्रवृत्ति (सोच्ने, विचार निर्माण गर्ने र नीति कार्यक्रम विकास गर्ने तरिका त्यसअनुसार आफूलाई ढाल्ने) प्रति सम्मान मात्र होइन, त्यसलाई आत्मसाथ गर्ने ठाउँमा हामी आइपुगेकै हौं । राजनीतिक परिर्वतनसँगै राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको आकांक्षा कसरी सम्बोधन गर्ने भन्दा यो (एकता) बाहेक अरु ठाउँ छैनौं भन्ने पायौं । यसको सबैभन्दा ठूलो प्रमाण मदनको अवसान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्ष हो ।
म आज सबैलाई भन्न चाहन्छु, हामी अब कुनै आग्रहका साथ पछि हटेर होइन, कुनै पूर्वाग्रह समातेर होइन, मदन भण्डारीले जस्तै सबैखाले संकीर्णता र पूर्वाग्रहमाथि विजय हासिल गर्दै देश, काल, परिस्थितिले के माग गरेको छ भन्ने गहिरो आत्मसाथ गर्ने, मिल्ने सक्ने जति सबैलाई मिलाएर अगाडि बढ्ने र जनताको समृद्धिको आकांक्षालाई सम्वोधन गर्न अगाडि बढ्ने संकल्प नै उहाँबाट सिक्नुपर्ने प्रमुख कुरा हो भन्ने लाग्छ ।
म अर्को एउटा पाटो थोरै मात्र भन्न चाहन्छु, कमरेड मदन भण्डारीको अवसान रहस्यमय भयो । र, हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो कुनै दुर्घटना होइन, नियोजित हत्या हो भन्ने सबैलाई लागेको छ । तर, हामीले आजका मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारो फलानो नै हो वा यो यो शक्ति हुन् भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं ।
अहिले पनि हामी आम नेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, त्यो अवसान एउटा भयानक डिजाइन अन्तरगत भएको हत्या हो । हामी सबै साँच्चै हत्यारा को हो भन्ने खोजीमा पनि लाग्छौं । यो विदेशी शक्ति हो कि, उ विदेशी शक्ति हो कि भने लाग्छ । देशभित्रको यो शक्ति र तत्व हो कि भन्ने लाग्छ । तर, नाम लिएर भन्न सक्ने स्थिति छैन ।
मैले कुन कुरामा जोड दिन चाहेको छु भने नेपालको इतिहासमा माथिल्लो स्तरका राजनीतिक हत्या, परिहत्याका लामो श्रृंखला छ । राणा शाहीको उदयदेखिको मात्र कुरा गर्ने हो भने पनि कोतपर्वदेखि थुप्रै हत्या प्रतिहत्याका घटना नेपाली समाजले देखेको छ ।
पछिल्लो चरणमा मदन भण्डारी र जीवराज आश्रितको जसरी अवसर भयो, त्यो रहस्यमय छ, नियोजित छ भनेर भनेका छौं । तर, मैले अघि नै भनें, किटेर भन्न सक्ने अवस्था छैन । कताकता, उहाँको गाडी चलाउने ड्राइभरको जसरी हत्या हुन गयो, त्यो पनि प्रमाण नष्ट पो हुन गयो कि भन्ने लाग्छ । उसलाई मात्र बचाइराख्न सकेको भए कुनै न कुनै दिन त्यो यर्थाथ बाहिर आउँथ्यो कि जस्तो लाग्छ । उसको पनि हत्या भयो ।
मेरो प्वाइन्ट कहाँ हो भने नेपालको इतिहासको हत्या परिहत्याहरुमा हत्याराहरु पत्ता लागेका छैनन् । र, हत्यारालाई जनसमक्ष ल्याएर, दोषी ठहर गरी कारबाही गरेर फेरि त्यस्ता घटना रोक्ने प्रयासमा हामी सफल छैनौं । अहिले पनि छैनौं ।
मदन भण्डारी–जीवराज आश्रिमको भयानक हत्याकाण्डपछि दरबार हत्याकाण्ड भयो । त्यो अर्को भयानक हत्याकाण्ड । त्यसको पनि यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौं । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा नारायणहिटी अगाडि उभिएर भनें, (हत्यारा) पत्ता लगाई छोडिन्छ तर… । पत्ता लगाउन सकिएन ।
कहिलेकाँही अनौठो लाग्छ, केले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर, भन्न सक्ने ठाउँमा कहिँ न कहिँ छैनौं । बरु यसलाई त्यसैत्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्ने जस्तो अवस्था छ ।
यो सन्दर्भमा मेरो प्वाइन्ट कता हो भने मदन भण्डारीको त्यो रहस्यमय अवसान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुरा ग्यारेन्टी हामीले किन गर्न सकिरहेको छैनौं ? मदन भण्डारीप्रति प्रतिक्रियावादीहरु बढी नै सशंकित, आतंकित थिए । मदन भण्डारी बाँचिराख्यो भने त यसले नेपाल खाने भयो भन्ने भय थियो भन्ने सिद्धान्ततः बुझ्न गाह्रो छैन । मोटामोटी हिसाव त्यही हो । किनभने, खुलामञ्चमा उभिएर राजा र सामन्तवादका प्रतिनिधिहरुलाई चोरआंैला ठड्याएर ‘हिम्मत छ भने श्रीपेच फुकालेर मैदानमा आऊ’ भन्न सक्ने, लाखौं जनतालाई उद्देलित तुल्याउन सक्ने नेताको हैसियत मदन भण्डारीमा थियो ।
वैदेशिक प्रतिक्रियावादीहरुलाई पनि ठा–ठाडै लल्कार्न सक्ने, उनीहरुले बोलाउँदा मलाई फुर्सद छैन भन्न सक्ने नेता पनि हो । ठूला देशका नेताहरुले बोलाएर फकाई फुल्याई गर्दा मदनलाई मनाउन सकिन्छ कि भनेर सोच्दा फुर्सद भएपछि आउँला, अहिले मलाई फुर्सद छैन भन्ने हैसियत राख्ने नेता पनि हो । तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौं कि कमजोरी ? मलाई लाग्छ, हामी कसैले पनि यसलाई कमजोरी ठान्दैनौं । मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रक्रियाप्रतिको गर्व, दृष्टिकोण हो त्यो । त्यसअर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर भन्छौं ।
त्यसो हो भने कहिलेकाँही चिन्ता लाग्ने के हो भने आजभोलि हामी आफ्नो छाला बचाउन लाग्ने चिन्तामा त छैनौं ? अलि भाषा नरम गरेर, नरिसाउन् प्रतिक्रियावादी धेरै भन्नेतिर पो जान थालेका त छैनौं ? यो आरोप होइन, विचार गर्नुहोला । हामी त आजसम्म मारिएका त छैनौं । मदन कति वर्षमा ? ४०÷४२ । हामी त अहिले ६०÷६५÷ं६८ हुँदैछौं । जे होस् मारिएका छैनौं । मारिन पनि सक्छौं । यहाँ विचारणीय छ ।
एउटा, हामीले दोषी पत्ता लगाउन सकेका छैनौं, त्यसकारण फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौं । अर्कोतिर फेरि नदोहोरियोस् भनेर छाला जोगाउन लाग्ने खतरा पैदा भएको छ । किनभने, दोषी पत्ता लगाएर त्यसलाई जनताको बीचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन । नभए प्रश्न उठ्छ । यसबारे हामी घोत्लिन आवश्यक छ ।
फेरि पनि म मूल ठाउँमा जान चाहन्छु, मदन भण्डारी गतिशील, सिर्जनशील, समयकाल परिस्थितिलाई सुक्ष्म ढंगले विश्लेषण गर्ने र त्यसअनुसार नीति कार्यक्रम विकास गर्ने नेता । आग्रहमा टाँसिइराख्न नचाहने, पूर्वाग्रह नराख्ने । सबैको नेता हुन र मन जित्न सक्षम । जनतालाई आन्दोलित गर्न र प्रतिक्रियावादीमाथि तिखो प्रहार गर्न पनि त्यतिकै सक्षम ।
उहाँको सच्चा उत्तराधिकारी बन्नुपर्छ भन्ने सच्चा उद्देश्यका साथ हामीले असोज १७ मा चुनाव पनि मिलेर लड्छौं र पार्टी एकता पनि गरिछाड्छौं भनेर घोषणा गरेका हौं । जनता र आम कार्यकर्ताबाट अनुमोदित पनि भयो र हामीले मदन–जीवनकै स्मृति दिवसमा पार्टी एकता पनि ग¥यौं । यसको ऐतिहासिक अर्थ छ । मलाई लाग्छ, हामी हिजो दुई धारा अलग अलग हुँदाहुँदै एक ठाउँमा आयौं । १२ बुँदे, शान्ति सम्झौता, संविधान निर्माणमा सहकार्यमार्फत एक ठाउँमा आयौं, त्यसरी नै आयौं, जसरी मदन भण्डारी सांस्कृतिक मोर्चा, माले, एमाले हुँदै आउनुभयो । जसरी उहाँ विभिन्न नीति हुँदै जनताको बहुदलीय जनवादसम्म आउनुभयो । त्यसैले नै हामी पनि अब समाजवादको रणनीति अन्तरर्गत जनताको जनवाद हुँदै अगाडि बढ्छौं भनेर आयौं । यही यसको ऐतिहासिकता र मर्म हो ।
सिद्धियो भने दुबै एकचोटि…..
मलाई चिन्ता भएर पनि मैले अलि जोड गरेर भनिराखेको छु, यो कुरा तपाईहरु सबैले बुझिदिनु भएन भने … । अब दुईटा नेताले मात्र बुझेर हुँदैन । हिजो त चुनावको बेला थियो, दुईटा नेताले एउटा घोषणा गरिदिएपछि ‘मिलेर चुनाव लड्ने, चुनाव जित्नुपर्छ’ भन्ने कुराले सहजरुपमा कुदायो । तर, अब पार्टी निर्माण, सरकारलाई सफल बनाउने, जनताका आकांक्षाहरुलाई सम्बोधन गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक चिन्ता भएन भने दुईटा नेता असफल हुने खतरातिर जान सक्दैन भन्न सकिँदैन ।
हामी अलिकति पनि यो पार्टीलाई सुदृढ गर्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षा सम्बोधन गर्न असफल भयो भयौं भने त्यो दुई नेताको मात्र, नेपाल कम्युनिस्ट पार्टीको मात्र असफलता हुने वाला छैन । योपटक हामीले साहस वा दुस्साहस जे ग¥यौं, हामीले पार्टी एकता ग¥यौं । यो असफल भयो भने कम्युनिस्ट आन्दोलन यही रुपमा अगाडि आउन शायदै सम्भव होला ।
बरु दुई पार्टी रहिरहेको भए एकले अर्कालाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो । अब त्यो पनि छैन । सिद्धियो भने दुबै एकचोटि… ।
यो पार्टी (नेकपा) सकिए पनि कांग्रेस छँदैछ नि, कांग्रेसले लिड गर्ला भन्ने स्थिति पनि नेपालमा छैन । कांग्रेसले कम्युनिस्ट पार्टीमा झगडा भएर फुटिदिए हाम्रो पालो आउँथ्यो भन्ने सोच्दै नसोचे हुन्छ । यो सिस्टम पनि जाने र देशको एकता खतरामा पर्ने वाला छ ।
तपाईहरु (कार्यकर्ताहरु) सबै आएर खत्तम छ नि भनेर सुनाइदिने … तपाईहरुले धेरै गर्नुभयो भने हामी पनि मान्छे नै हो, दिमाग खराब हुन्छ । तपाईहरु राम्रो गर्नुस्, हामी छौं भनेर प्रेरित गर्ने हो भने फेरि पहाडै बोकेर हिँड्न पनि हामी तयार छौं ।