• झापा । झापाको अर्जुनधारा नगरपालिकामा मापदण्ड विपरीत बनाइएको घरको नक्सामा सरकारी छाप र प्राविद्यिकहरुको किर्ते सही गरिएको पाइएको छ ।
    घटना अनुसार अर्जुनधारा–८ निवासी मञ्जु थापाको निर्माण सम्पन्न भएको घरको नक्सामा नगरपालिकाको छापसँगै नगरपालिकाका इन्जिनियर निरज अधिकारी र सब इन्जिनियर प्रदीप पुरीको किर्ते सही गरिएको पाइएको हो ।

    स्रोतले दिएको जानकारी अनुसार नगर प्रमुख हरिकुमार रानाका प्रेस सल्लाहकार सागर गौतम नै उक्त कार्यमा संलग्नता रहेको छ । नातामा आफन्त पर्ने घरधनी थापासँग १२ हजार रुपैयाँ लिई उनले उक्त कार्य गरेको स्रोतको दावी छ ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलसँग यस विषयमा बुझ्दा उनले प्रेस सल्लाहकार गौतमलाई नगरपालिकामा नआउन मौखिकरुपमा जानकारी गराइएको र उनलाई लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको बताए ।

    यता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नगर अध्यक्ष प्रेमसागर सापकोटाले आरोपको विषयमा पुष्टी नभई बोल्न नमिल्ने बताए पनि उनलाई असार १ गतेदेखि लागु हुने गरी पार्टीले प्रेस सल्लाहकारको जिम्मेवारीबाट फिर्ता बोलाइएको जानकारी दिए । “पार्टीले जुन जिम्मेवारी दिएर पठाएको थियो त्यो वहन गर्न सकेन र फिर्ता बोलाइएको हो”–उनले भने ।

    कसरी उजागर भयो घटना ?
    बैंक कर्जाको प्रक्रियाका लागि घरको निर्माण कार्य सम्पन्न भएको नक्सासहित गत जेठ २६ गते घरधनी थापा अर्जुनधारा–८ शनिश्चरे बजारमा रहेको मितेरी विकास बैंक लिमिटेडमा पुगेकी थिइन् ।
    नक्सा भ्यालुऐसनको लागि बैंकले भ्यालुऐटरकोमा पठाएपछी नक्सा शाखाको स्थानमा गरिएको सब इन्जिनियर प्रदीप पुरीको सही, शाखा प्रमुखको स्थानमा गरिएको इन्जिनियर निरज अधिकारीको सही र प्रयोग भएको छापमा शंका लागेपछी रुजु गर्न पुनः नगरपालिकामा उक्त नक्सा पठाएपछी घटना उजागर भएको हो ।
    नगरपालिकाको छाप जसरी हुनुपर्ने नभएको र शाखा प्रमुख इन्जिनियरको अधिकारीको सहीसँगै उनको नामसहित पद उल्लेख भएको छाप नक्सामा नहुनुले नक्सालाई शंकास्पद बनाएको भ्यालुएटरले पत्रकारसँगको भेटमा बताए ।

    घटना उजागर भएपछी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूर्तेल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगरका अध्यक्ष सापकोटा, नेपाली काँग्रेस नगरका सभापती हेमराज खरेल, इन्जिनियर अधिकारी, आरोपित गौतम र घरधनी थापासहित छलफल भएको थियो ।
    सो छलफलको क्रममा आरोपित गौतमले ‘गल्ती मैले गरे यसको सजायको भागीदार बन्नुपर्छ भने म बन्छु’ उनलाई उद्धरीत गर्दै स्रोतले बताए । उक्त छलफलमा रकम लेनदेनको विषय नभएको आरोपित गौतमले बताए पनि घरधनी थापाबाट लिएको १२ हजार रुपैयाँ छलफलमा बस्न अघि फिर्ता गरेको स्वमं घरधनीले जानकारी दिएको स्रोतको दावी छ ।

    कसरी पुग्यो आरोपित गौतमको हातमा घरको नक्सा ?
    मापदण्ड विपरीत निर्माण भएको घरको नक्सामा सही गर्न मिल्दैन भनेर नगरपालिकाका इन्जिनियर अधिकारीले घरधनी थापालाई नगरपालिकाबाट फर्काएका थिए । बैंकिङ लोनका कारण हतारीएको थापाको त्यस क्रममा प्रेस सल्लाहकार गौतमसँग भेट हुन पुग्यो । पटक–पटक प्रेस सल्लाहकार गौतमबाट इन्जिनियर अधिकारीलाई उक्त नक्सामा सही गर्न अनुरोध भएकोमा नियम विपरीत हुने कार्यमा इन्जिनियरले सही गर्न नमानेपछी अन्त्यमा प्रेस सल्लाहकार आफैले उक्त कार्य गरेको देखिन्छ ।

    यता प्रेस सल्लाहकार गौतम आफैले सरकारी छाप र प्राविद्यिकको सही किर्ते भएको प्रति अनभिज्ञता प्रकट गरेकी घरधनी थापाले आफूले उनीबाट त्यसको कार्य हुन्छ भनेर नसोचेको बताइन् । उनी भन्छिन्– “मैले त्यसो गर्नु भनेको होइन उहाँले आफै त्यसो गर्नुभएछ,‘मलाई त इन्जिनियरको घर पुगी सही गराएर ल्याएको भन्नुभयो”

    गल्तीको जिम्मेवार कन्सल्टेन्सी पनि ?
    स्थानीय रामरत्न कन्सल्टेन्ट एण्ड बिल्डर्स प्रा.लि. र घरधनीबीच प्रपोज नक्साको लागि भएको सम्झौता विपरीत नगरपालिकाले तोकेको मापदण्ड अनुसार घर नबनाउनु नै पहिलो गल्ती भएको नगरपालिकाका इन्जिनियर अधिकारीले बताए ।
    नगरपालिकाका अमिन र प्राविद्यिक सर्भे गर्न जाँदा १६ फिट बाटोबाट केही भाग छोडेपनी सेटब्याकको भागमा घर बनिएपछी सर्भेमा संलग्न प्राविद्यिकबाट मापदण्ड विपरीत घर निर्माण भएको घरधनी थापाले जानकारी पाएकी थिइन् ।

    सेट ब्याक घरधनीकै हुने, उपयोग गर्न मिल्ने भए पनि सडकको क्षेत्रभित्र पर्ने उक्त स्थानमा स्थायी संरचना बनाउन नहुने इन्जिनियर अधिकारी बताउँछन् । उनको अनुसार नगरपालिकाले वर्गीकरण गरेको चार प्रकारको नगरस्तरीय सडकहरु अन्र्तगत अधिकतम ४० फिट र न्यूनतम २० फिट हुनुपर्ने र आवासिय भवनको लागि डेढ मिटर अर्थात् पाँच फिट तथा व्यापारीक भवनको लागि २ मिटर अर्थात् ६.६ फिट सेटब्याकको भाग हुनुपर्ने व्यवस्था छ ।

    कन्सल्टेन्सीको शुल्क र नगरपालिकामा लाग्ने राजश्वसहित बुझाउने शर्तमा पेश्की पाँच हजार रुपैयाँसमेत दिएको कन्सल्टेन्सीले मापदण्डको विषयमा जानकारी नदिँदा आफूले दुःख पाएको घरधनी थापाले बताइन् । काँही जानुनपर्ने सबै कार्य सम्पन्न गरेर नक्सा घरमै ल्याइदिने कन्सल्टेन्सीका सञ्चालक किरण सिटौलाको आश्वासनमा भर पर्दा आफू पीडित हुनुपरेको उनले बताइन् । “हामी चाँही फस्यौं कन्सल्टेन्सीले फसायो हाल्यो येतीखेर आएर के गर्नु न कुट्न मिल्ने न मार्न मिल्ने”–उनी विलौना गर्छीन् ।

    घरको नक्सा बनाउँदा सम्झौता विपरीत भई गल्ती भएको स्वमं कन्सल्टेन्सी सञ्चालक सिटौला स्वीकार्छन् । घरधनीको हतारका कारण समस्या सृजना भएको बताउँदै प्रपोजतर्फ नक्सा पास नभए पनि एक्जिस्टीङतर्फ पास गर्दा हुने उनी बताँउछन् । तर एक्जिस्टीङतर्फ नक्सा पास भन्दा पनि बनिएको घरको अभिलेखिकरणमात्र गर्न मिल्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
    कानुनमा यस्तो व्यवस्था छः
    कानुनमा सरकारी छाप र सही किर्ते गर्नेलाई सरकारवादी फौजदारी मुद्दा लगाउन मिल्ने हुँदा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ सम्म जरीवाना लिइने व्यवस्था उल्लेख गरिएकोे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…