• काठमाडौं । पार्टी एकता घोषणा भएको एक वर्ष पूरा हुनासाथ सत्तारुढ दल नेकपात्रिको विवाद सतहमा आउन थालेको छ । पार्टीको कार्यदिशाबारे पार्टी एकता घोषणा गर्दाको सहमतिविपरीत अभिव्यक्ति र अडान देखिन थालेपछि विवादले विस्तारै फराकिलो आकार लिन थालेको छ ।

    पार्टी एकता घोषणा गर्दा एकता महाधिवेशनसम्म तत्कालीन एमालेल अंगालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादीले अंगालेको एक्काइसौं शताब्दीको जनवाद र माओवादीलाई स्थगन गरेर समाजवाद उन्मुख जनताको जनवादलाई मानेर जाने सहमति भएको थियो ।

    अलिक अघिदेखि नै पार्टीका नेताहरुले आ–आफ्नो ढंगले ब्याख्या विश्लेषण गर्दै आइरहेका थिए, ती अभिव्यक्तिलाई नेतृत्व तहमा धेरै संवेदनशील तरिकाले लिइएको थिएन तर पछिल्लो समयमा नेतृतवबाटै कार्यदलले तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको सिद्धान्त बहुदलीय जनवाद नै उल्लेख गर्नु पर्ने अडान राखेपछि पार्टीभित्र यसले आशंका जन्माएको मात्र छैन, एकतामै समस्या हुने हो कि भन्ने प्रश्नले आमकार्यकर्ता चिन्तित बनेका छन् ।

    अहिले विचारको लेपमा नेताहरुले दुनो सोझ्याउने शैलीका कारण नेकपाभित्र समस्या उत्पन्न भएको छ । पछिल्लो समय पार्टी विभाजित हुने, सरकार परिवर्तन हुने जस्ता आशययुक्त टिप्पणी अरुभन्दा सरकारमै रहेका व्यक्तिहरुबाट बढी सार्वजनिक हुन थालेको छ । यो खालको अवस्था किन उत्पन्न भयो त ?

    यसको मुख्य कारण आफ्नो स्वार्थका लागि प्रधानमन्त्रीलाई गलत सल्लाह दिनेहरुले त कतै यसो गरिरहेका छैनन् प्रश्न गम्भीर भएर उठ्न थालेको छ । ओली नेतृत्वको वर्तमान सरकारले १६ महिना बिताइसकेको छ तर जनताका काम देखिने गरी अझै हुन सकेको छैन ।

    अहिले सरकारले काम गर्न खोजिरहेको छ, मेलम्चीको पानी ल्याउन खोजिरहेको छ, बाटाघाटाहरु पनि बन्दैछन्, भौतिक निर्माणका काम हुँदैछन्, तत्काल परिणाम नआए पनि ती काम हुन्छन्, अरु काम पनि पाइपलाइनमा छन् तर सकारलाई त्यसबाट जस मिल्न सकिरहेको छैन ।

    पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको छ । सल्लाहकार र विज्ञले काम राम्रो गर्न सकिरहेका छैनन् । त्यसैले यसको दोष अन्त थोपर्न खोजेर हुँदैन । पहिलो कुरा सरकारका विज्ञ र सल्लाहकार ठीक हुनुपर्यो, सरकारलाई सही सल्लाह दिनुपर्यो ।

    अहिले पार्टीमा नयाँ समीकरण बनेको र भत्कन थालेको समाचार आउन थालेका छन् । यसले नेताहरु देश र जनताको हितमा भन्दा आफ्नो स्वार्थपूर्ण शक्ति निर्माणमा लाग्न थालेको आभाष नेकपाका नेता, कार्यकर्ता र जनतालाई हुन थालेको छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।

    किनकी अहिले जनताले कुन नेता कता जान्छन्, कसरी शक्तिशाली बन्छन्, कसरी पदमा पुग्छनु कसरी समीकरण बनाउँछन् भनेर हेरिरहेका छैनन् हामीलाई के दिन्छन् भनेर हेरिरहेका छन् ।

    अहिले गर्ने समय पनि छ यस्तो बेला पार्टीका नेताहरु एकताबद्ध भएर सबै हस्तक्षेपलाई परास्त गरेर देशको विकास गर्नु पर्ने अवस्थामा निहीत स्वार्थमा गुट बनाएर पार्टीलाई कमजोर बनाउने, जनता चिन्तित पार्ने र बैरी हँसाउने काममा नेतृत्व लाग्नु हुँदैन कि नेता ।

    अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा निकै ठूलो संकट देखिँदैछ । होस नपुर्याएर बल्लबल्ल प्राप्त भएको अवसर गुम्न पनि सक्छ । साम्राज्यवादी शक्ति दुई तिहाईको कम्युनिस्ट सरकार बनेदेखि चिन्ताले छट्पटाएका छन् ।

    उनीहरुले पैसाको खोलो बगाएर भए पनि नेकपाको अहिलेको शक्तिलाई समाप्त पार्ने योजना बनाउँछ । तर, माथिल्ला तहका नेताहरु यस्ता विषयमा त्यति गम्भीर भएको देखिँदैनन् । सरकारका मन्त्री र सल्लाहकारहरुको दूरदर्शी दृष्टिकोण देखिन्न ।

    देश, जनता र पार्टी भड्खालमा हालेर पद प्राप्त गर्नु देश र जनतालाई धोका दिनु हो । यस्तो चरम अवसरवादले कुनै व्यक्तिलाई त फाइदा होला पार्टी र जनतालाई फाइदा हुँदैन । यसर्थ जनतालाई धोका दिएर व्यक्तिलाई मात्र लाभ हुने काममा कोही नलाग्नु नै सबैको हितमा हुन्छ ।

    यो कुरा विशेष गरी मूल नेतृत्व र वरिष्ठ नेताहरुले जनतालाई शिरमा राखेर काम गर्नु अति नै आवश्यक छ । साथै पार्टी विरोधी सबै क्रियाकलापलाई चिर्न र निमिट्यान्न पार्न पार्टीले राष्ट्रव्यापी पार्टी सुदृढीकणसहित जनअभियान संचालन गर्न ढिला भइसकेको छ, यो कुरामा बेलैमा ध्यान पुगे मात्र पार्टीको साख बलियो हुनेछ ।

    पार्टीका तमाम कार्यकर्ताहरुले यस पार्टीलाई जोगाएका छन् । तर, अब कार्यकर्ताहरुमा पनि विस्तारै धैर्यताको बाँध टुट्न सक्छ, त्यसैले समयमै विवेक पुर्याएर काम गर्नु देश र जनतालाई हित गर्नु हो । यसमा नेताहरुको ध्यान पुगोस् ।

    राजनीतिक सफाइ
    पार्टीमा विभिन्न खालका समीकरण बनिरहेको भनिरहेका बेला सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । उनले राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । देशमा माफिया सक्रिया रहेकामा चिन्ता व्यक्त गर्दै उनले अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन् भने ।

    बाँकी एकताको काममा ढिलाइ
    पार्टी एकतालाई अन्तिम रुप दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पछिल्लो समय छलफल हुन नसकेको बुझिएको छ ।

    प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा केही दरार आएकोले यस्तो समस्या भएको नेकपाका एक नेताले बताए ।

    उनका अनसार अहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयले दुई नेताबीच दरार पैदा गरेको बुझिएको छ, छलफलमा उल्लेख छ ।

    अहिले पार्टी एकता हुन नदिन र विथोल्न धेरै शक्ति लागिपरेका बेला पार्टीमा आएको बेला पार्टी एकतालाई अन्तिम रुप दिएर त्यसका विरुद्ध लड्नु पर्ने आजको आवश्यकता भएको र दुवै नेताले अब ढिला नगरी पार्टी एकता टुंग्याएर सरकारको कामलाई अझै तीब्रता दिनु पर्ने ती नेताको निष्कर्ष छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…