• नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमा गर्ने हो भने अब ८ महिनाभित्र वडादेखि केन्द्रसम्मको अधिवेशन सक्नुपर्ने हुन्छ । तर त्यसको छाँटकाँट देखिएको छैन । पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर मतभेद सुरु भइसकेको छ । अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयवस्तुमा केन्द्रित भएर ऋषि धमलाले नेता डा. शेखर कोइरालासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
    देशको राजनीति कता जाँदैछ ?

    देशको राजनीतिको बारेमा त प्रधानमन्त्री केपी ओलीलाई सोध्नुपर्छ । उहाँले नै देशको नेतृत्व गरिरहनुभएको छ ।

    तपाईले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गर्नुभयो किन ?
    प्रधानमन्त्री ओलीले संविधान मिचिरहनुभएको छ, सभापति देउवाले विधान मिचिरहनुभएको छ । विधानमा भएका प्रावधानहरु साढे तीन वर्षदेखि लागु भएको छैन । देश संघीय संरचनामा गइसक्दा पनि पार्टीको संरचना परिवर्तन गर्न सकिएको छैन ।

    कांग्रेसको विधान किन कार्यान्वयन हुन सकेन ?
    निर्वाचनमा पराजित भएपछि हामीहरुमा विचलन आयो । तिक्तता पनि बढ्यो । महासमितिको एजेण्डा पनि कार्यान्वयन हुन सकेको छैन । विधानको केही धारा र उपधाराहरु अहिले पनि लोकतान्त्रिक छैन ।

    पार्टीभित्रको समस्या समाधान कसरी गर्ने त ?
    २२ गतेदेखि केन्द्रिय समिति बैठक बस्दैछ । सभापतिजीले केही कुराहरु राख्नुहोला । तर समस्या समाधान छिटै होला जस्तो देखिदैन । गाउँपालिका छैन, नगरपालिका छैन, वडा छैन । प्रदेश बनेको छैन । ति सबैलाई तदर्थवादमा लाने, महाधिवेशन समयमा नगर्ने जस्ता काम भयो भने समस्या थपिन्छ । पार्टीभित्र तिक्तता पनि बढ्छ । त्यसैले सभापतिजीले केन्द्रिय समिति बैठकमा महाधिवेशनको प्रस्ताव ल्याउनुपर्छ । सबैले समर्थन गर्नुहुन्छ ।

    देउवाले त तल्लो तहमा तदर्थ समिति बनाउने संकेत गर्नुभएको छ नि ?
    तदर्थ समिति बनायो भने त पार्टी झन कमजोर हुन्छ । तदर्थ समितिमा जतिसुकै राम्रो मान्छे भए पनि स्वीकार्य हुन सक्दैन । त्यही व्यक्तिले चुनाव जितेर आयो भने प्रभावकारी हुन्छ । कांग्रेसलाई उर्जा दिने हो भने अधिवेशन नै गर्नुपर्छ । अर्को कुरा विधानमा तदर्थ समितिको व्यवस्था पनि गरेको छैन । म चाँही तदर्थ समिति स्वीकार गर्न सक्दिन ।

    सभापति देउवा पूर्ण असफल हुनुभएकै हो त ?
    सभापति देउवाको योगदान कम छैन । विद्यार्थीकालदेखि नै उहाँले नेपाली कांग्रेसलाई मलजल गर्दै आउनुभएको हो । तर अब उहाँले नेतृत्व छोड्ने बेला भएको छ । संगठन राम्रो बनाउनका लागि संक्रमणकालिन व्यवस्थालाई टेकेर अगाडि जानुपर्यो ।

    सभापति देउवामा अहिले नेतृत्व क्षमता छैन भन्न खोज्नुभएको हो ?
    सभापतिजीले नै गुटगत राजनीति गरेपछि समस्या आउँछ नि ? सबैलाई समेट्न सक्ने क्षमता देखिएन । अझै पनि छाती ठूलो गर्नुभयो भने सधैँभरी उहाँको नाम रहिरहन्छ । संक्रमणकालिन व्यवस्थाअनुसार प्रदेश, गाउँपालिका र वडाको अधिवेशन गराउन सक्नुपर्छ । रोकिएको नविकरण प्रक्रिया फुकुवा गराइदिनुपर्यो । नयाँ क्रियाशिल सदस्यता वितरणको प्रक्रिया सुरु गरिदिनुभयो भने देउवाको प्रशंसा हुन्छ । सफल ठहरिनुहुन्छ ।

    तपाईले भनेजस्तो देउवाले गर्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
    गर्नुहुन्छ कि गर्नुहुन्न त्यो त उहाँको कुरा हो । उहाँको टिमले कस्तो सल्लाह दिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । आफू जित्ने भए गर्ने नत्र नगर्ने सोच हटाउनुपर्यो । गिरिजा र शुशीलले समयमा महाधिवेशन गर्नुभएन भनेर अहिले मैले पनि नगरे हुन्छ भनेर त भएन नि । त्यसबेलाको समय र अहिलेको समयमा धेरै अन्तर छ नि । अहिलेको समयमा महाधिवेशन टार्ने हो भने पार्टीलाई धेरै क्षति पुर्याउँछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…