• काठमाडौं, १७ असार : सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्यो । सधैं संसदीय दलको बैठकमा शिर्ष नेतृत्वले निर्देशनको शैलीमा मन्तव्य दिने गरेका थिए । तर, सोमबारको बैठक भने फरक रह्यो । सांसदहरुले पार्टी नेतृत्व र सकारको कडा आलोचना गरे ।

    सोमबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्ने २९ जना सांसदहरु पार्टी र सरकार सञ्चालनका साथै बजेट विनियोजका बिषयमा बोलेका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार सांसदहरुले पार्टी, सरकार सञ्चालन देखी बजेट बिनियोजका बिषयमा आफ्ना कुरा राखे ।

    तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएको एक बर्ष भन्दा बढी बित्दा समेत एकता नटुंगिएको भन्दै नेताहरुले आक्रोश व्यक्त गरे । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्र्रति उनीहरुको आक्रोश केन्द्रित थियो ।

    एकता भए पनि जिम्मेवारी नपाएको, तल्लो तहसम्मको एकता टुंगो नलागेको, पार्टी प्रभावकारी रुपमा सञ्चालन नभएको लगायतका बिषयमा केन्द्रीत भई उनीहरुले नेतृत्व प्रति आक्रोश व्यक्त गरे । एकता छिटै टुंगो लगाउँदै पार्टीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

    बैठकमा बोल्ने अधिकांश सांसदको धेरै प्रश्न भने सरकारको कामकारवाहीको बिषयमा केन्द्रीत भई बजेट बिनियोनमा थियो । ठुल्ला नेता र मन्त्रीले बजेट बिनियोजनमा मनोमानी गरेको आरोप सांसदहरुको छ ।

    बैठकमा सांसद भीम रावलले सरकार र पार्टीलाई लिखित सुझाव दिएका छन् । उनले विधेयक ल्याउँदा र सरकारले अरु निर्णय गर्दा पनि पटक्कै सरसल्लाह नहुने भन्दै सरकार र पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखे । रावललाई उद्धृत गर्दै एक नेताले भने, ‘विधेयक ल्याउँदा न पार्टीभित्र सरसल्लाह हुन्छ न बाहिर हुन्छ । मन्त्रीहरूले पनि हाम्रो कुरा गम्भीररूपमा लिनुहुन्न । हामी त कुरै नबुझ्ने जस्तो भइयो ।’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सहभागी हुँदै संसदीय दलका सदस्यहरु । तस्वीर : रत्न श्रेष्ठ ।

    सांसद जनार्दन शर्माले पार्टी र सरकारमा सबै चिज विधिसम्मत हुनुपर्ने बताए । पार्टी नेतृत्वप्रति आलोचना गर्दै शर्माले भने, ‘सरकार ठिक छ भन्नुपर्ने अवस्था छैन । ठिक छैन भनेर हामीले कहाँ भन्ने हो ?’ आफनै पार्टीको सरकार भएका कारण बाहिर आलोचना गर्दै हिँड्न नमिल्ने पार्टीमा पनि आफूलाई लागेको कुरा भन्ने वातावरण नभएको उनले बताए ।

    सांसद रामकुमारी झाक्रीले पार्टी नेतृत्वले आफू निकटकालाई दोहोरो–तेहोरो जिम्मेवारी दिने तर अरु सांसदहरुलाई भूमिका विहिन बनाउने गरेको गरेकी छन् । प्रधानमन्त्री ओलीकै अगाडी झाक्रीले भनिन्, ‘१८ घन्टा एक्लैले काम गरेर हुँदैन । सवै सांसदलाई काम दिनुर्पयो । त्यसो गर्दा काम सहज पनि हुन्छ र देखिन्छ पनि ।’

    सरकार सिंहदरबारबाट नभइ बालुवाटारबाट चलाइएको गुनासो पनि केही सांसदको थियो । जनताले मत दिएका व्यक्तिहरुलाई बाइपास गरेर केही आसेपासेहरुले सरकार चलाए जस्तो देखिएको भन्दै एक सांसदले भने, ‘राज्य सिंहदरबारबाट चलाउनुर्पयो । अहिले बालुवाटारबाट चलिरहेको छ ।’

    सांसद देबेन्द्र पौडेलले बैठकमा अन्तरक्रियात्मक भएको र त्यसभित्र पार्टी र सरकार दुवैको बारेमा सांसदहरुले नेतृत्वसँग प्रश्न उठाएको बताए । सरकारको काममा एकरुपता हुनुपर्ने, सरकारको काम कारवाही पार्टी घोषणापत्र अनुसार हुनपर्ने पौडेलले बताए । सरकारको काम घोषणापत्र अनुसार थोरै भएको बताउँदै आउँने दिनमा अझै प्रभावकारी रुपमा घोषणापत्र अनुसार नै काम गर्नुपर्ने उनले बताए ।

    सत्तारुढ नेकपाका सांसदहरुले संसद प्रवेश गरेको ढेड वर्षपछि संसदीय दलमा पार्टी नेतृत्वसँग पहिलो पटक अन्तक्रिर्या गर्न पाएका छन् । पहिलो पटक नेतृत्वसंग औपचारिक बैठकमा छलफल गर्ने क्रममा सांसदले पार्टी एकतादेखि बजेटसम्म गुनासै गुनासो राखेका छन् ।

    यसअघिका संसदीय दलका बैठकहरु शीर्ष नेतृत्वले भाषण गर्ने र सांसदहरुले सुन्ने थलो मात्र बनेको थियो । पछिल्लो बैठकमा केही सांसदले त्यसको विरोध गरे । सोमबार भने सांसदहरुलाई बोल्न दिइएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको बचाउ गरे । प्रधानमन्त्री ओलीले पनि सरकारका कतिपय निर्णयमा सरसल्लाह गर्न नपाएको स्वीकार गरे । भने, ‘तर सांसदहरूले धैर्यता गर्नुपर्छ जहाँ पायो त्यही बोल्न हुँदैन ।’

    उनले कतिपय कुरामा सांसद र जनतालाई कन्भिन्स गर्न नसक्दा बाहिर भड्काउने काम धेरै भएको भन्दै दुःख व्यक्त गरे । प्रधानमन्त्री सरकारले निर्णय गर्दा गरेका त्रुटी सच्याउने र त्यसमा सांसदहरूको सुझाव आवश्यक पर्ने बताए ।

    अर्का अध्यक्ष प्रचण्डले सरकारको बारेमा टिप्पणी गरेनन् । अध्यक्ष प्रचण्डले पार्टी एकता छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।

    बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असार महिनाभित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कार्वाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

    असार महिना भित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कारवाहीलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता बैठकमा दुवै अध्यक्षले व्यक्त गरेको प्रमुख सचेतक गुरुङले बताए ।

    प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछ की भन्ने आशंका नगर्न पनि आग्रह गरेका थिए ।

    सरकारको काम कार्वाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको पार्टीका प्रमुख सचेतक गुरुङले बताए ।

    बैठकमा अर्थमन्त्री युवराज खतिवडासँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भूमिसुधारमन्त्री पद्मा आर्यालले ब्रिफिङ गरेकी थिइन् ।

    नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ । आजको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको गुरुङले बताए । नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले व्रिफिङ गरेपछि टुंगिने गरेको थियो । तर यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाव लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले बताए ।

    सांसदहरु भिम रावल, देबेन्द्र पौडेल, जनार्दन शर्मा, प्रभु साह, रामकुमारी झाक्री सहित २९ जनाले आफ्नो कुरा राखेका छन् । बाँकी सांसदले अर्को बैठकमा आफ्नो कुरा राख्नेछन् । आजै नाम टिपाएकामध्ये २० जना सांसदले अझै बोल्न बाँकी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…