काठमाडौं। विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाई दोहोरो भिडन्तको हल्ला पिटिएकोप्रति घोर आपत्ति जनाएको छ ।
सो पार्टीका पूर्वि कमाण्ड इन्चार्ज विषमले बुधवार विज्ञप्ति जारी गरी सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाई दोहोरो भिडन्तको हल्ला पिटिएको भन्दै सो आपत्ती जनाएका हुन् ।
कमाण्ड इन्चार्ज विषमले यहि असार १६ गते पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा तिलिचुङ गाउँपालिमा पुगेका बेला हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइएको र दोहोरो भिडन्तको हल्ला फैलाएको बताएका छन् ।
इन्चार्ज विषमले सो समयमा टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म दुई जना कार्यकर्ता वेपत्ता रहेको जनाएका छन् । तीन जना वेपत्ता भएकोमा एकजना पार्टी सम्पर्कमा आईपुगेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दुई जना कार्यकर्ता अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ ।’
यस्तै इन्चार्ज विषमले अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहि पनि पार्टीले उलङ्घन नगरेको प्रष्ठ पारेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तर सरकारले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि निशंस हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुट्ठाभुद्दामा महिनौ थुनामा यातना दिने जस्ता काममा राज्य नै लागिपरेको छ ।’
यसै क्रममा गएको जेष्ठ ८ गते भोजपुरमा तीर्थ घिमिरेको र अस्ति भर्खरै आषाढ ५ गते सर्लाही जिल्लाको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको यसरी नै गिरफ्तारीपछि कायरतापूर्ण हत्या गरिएको विज्ञप्तिमा जनाईएको छ ।
उक्त घटनामा बिदेशी शक्तिकेन्द्रहरुको समेत हात रहेको पुष्टि भएको ने.क.पा.ले जनाएको छ ।
अहिले संखुवासभामा पनि दोहोरो भिडन्तको नाममा हवाई र पैदल सशस्त्र प्रहरी र सशस्त्रका प्रहरीका कमाण्डो फोर्स भनी हेलिकोप्टरबाट उतारिएका प्रहरीहरु अझै गाउँहरु घेरामारी आतंक मचाइरहेको ने.क.पा. पूर्वी कमाण्डले जनाएको छ ।
यस्तै सिन्धुली मरिनबेल्ट र दक्षिण सिन्धुलीको चुरेबेल्टमा यसरी नै सर्च अप्रेशन चलाइरहेको पनि जनाएको छ । सरकारले देशैभरी क्रुर फासिवादी दमन चलाइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो राज्यआतंक र सामाजिक फासिवादी दमनको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पूर्वी केन्द्रीय कमाण्ड घोर भत्र्सना गर्दछ र राज्यको फासिवादी दमन तुरुन्त बन्द गर्न माग गर्दछ ।’विज्ञप्तीमा उल्लेख छ ।
साथै भोजपुर, सिन्धुली र सर्लाहीमा गरिरहेको दमन र अप्रेशन तुरुन्त बन्द गरि पूर्वी कमाण्ड अन्तरर्गत गिरफ्तार गरिएका करिव ३ दर्जनको संख्यामा जेल र हिरासतमा यातना भोगीरहेका नेता तथा कार्यकतालाई बिना सर्त रिहाई गर्न पनि ने.क.पा. पूर्वी कमाण्डले माग गरेको छ ।
ने.क.पा.ले दोहोरो भिडन्तको नाममा हत्या गरिएका पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई सरकारले उचित क्षतिपूर्ति सहित राष्ट्रिय सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कार्वाही गर्न पनि विज्ञप्तिमार्फत माग गरेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकको जीउ–धनको सुरक्षाको जिम्मा लिएको सरकारले धमाधम नागरिकहरुको र देशभक्त क्रान्तिकारीहरुको शिकार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गर्ने सरकारी रबैयाले देशलाई फेरी द्वन्दको चपेटामा धकेल्दै छ र यो स्थिति आएमा यसको सारा जिम्मा सरकार कै हुने छ । ’
यसतर्फ समस्त न्यायका पक्षधरहरु मानव अधिकारकर्मी, वकिल, पत्रकार, बुद्धिजीवि र देशभक्त, क्रान्तिकारी शक्तिलाई सबै घटनाहरुको सत्य–तथ्य निष्पक्ष जाँचबुझ–अनुगमन गरी बाहिर ल्याउन पनि सो पार्टीले आग्रह गरेको छ । साथै सरकारले दमन, अप्रेशन जारी राखे यसका बिरुद्ध प्रतिरोध संघर्षमा उत्रन नेकपाले सम्पूर्ण पार्टी पक्ति र न्यायप्रेमी जनतालाई अपिल समेत गरेको छ ।