काठमाडौं । नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्न नसकेको जनस्तरबाट आरोप आइरहेको छ । कांग्रेस भित्र यतीबेला गुटका नेताहरु चल्मलाएका छन् ।
सरकारले गरेका बेथितिहरुलाई राम्ररी जनतासामु लान नसकिरहेका बेला गुटको कोठे बैठक भने राम्ररी अगाडि बढेको छ ।
संयुक्त राज्य अमेरिकाले भारतीय संस्थापन भारतीय जनता पार्टीले नेपाललाई हिन्दू राज्य बनाउनका लागि खर्च गरेको आरोप लगाएको छ । उता, विदेशी संस्थाहरुले क्रिश्चियन धर्म प्रचारमा करोडौं खर्चिएको छ ।
मिडिया काउन्सिल विधेयकलाई कालो विधेयक भन्दै पत्रकारहरु तेस्रो चरणको आन्दोलन चलिरहेको छ । लोकतन्त्रको हिमायती भन्ने कांग्रेसले यो विधेयकको बारेमा निरन्तर आवाज उठाएको छैन् ।
अन्य विधेयकका बारेमा कुनै सुर्ता देखिएको छैन् । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा हुने भनियो । कांग्रेसले मुख खोल्न उपयुक्त ठानेन् ।
जनस्तरबाट सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि सरकार झुक्यो तर कांग्रेस गुटमै रमाएको छ ।
भारतिय दुतावास लौनचौर र चाइनिज गतिविधि चर्किएको छ । भ्रष्टाचार बढिरहेको छ । मुलुका ३ मुख्यमन्त्री विदेश भ्रमणमा रहेका छन् ।
प्रदेश सरकारलाई अधिकार नदिइएको भन्दै चौतर्फी बहस भइरहेका बेला ३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् ।
आर्थिक वर्षको अन्त्यमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् ।
राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् । सरकारले आफ्ना कार्यकर्तालाई राज्य कोषबाट करोडौं बाडेको खबर आइरहेको छ र तर प्रमुख प्रतिपक्षलाई यस्ले छोएको छैन् ।
कांग्रेसले आफ्ना धारणा बनाउन पर्ने होइन र ? तर कांग्रेसको आन्तरिक काइदा भने अर्कै छ । सो पार्टीले नयाँ कार्यसमितिका लागि यसै वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेछ ।
तीनै तहको गत निर्वाचनमा पछारिएर कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो नदेखाएको आरोप छ । महाधिवेशनका लागि नेतृत्वले घनिभुतरुपमा छलफल पनि चलाएको छ ।
तर, कांग्रेसका केहि नेताहरु आफुलाई स्वघोषित प्रभावशाली ठान्दै कोठै बैठकको दौडमा कस्सिएका छन् । 'कांग्रसीहरु सुध्रिने भन्दा आफै बन्ने चर्को लाईनमा लागि परिरहेका छन्' ।
उनीहरुले पार्टी शभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दी कसेका छन् । कांग्रेस बन्ने भन्दा चर्किने लाईनमा अग्रसर भएको देखिन्छ ।
जसले गर्दा पार्टीभित्र विमति बढ्दै गएको छ । समयमै महाधिवेशन गर्नुपर्ने र अवधि लम्ब्याउनुपर्ने दुई थरी आवाज उठ्न थालेको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । महाधिवेशन गर्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र अन्य गुटहरुबीच विमति देखिएको छ । देउवा पक्षले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन चाहेका छन् ।
चुनावमा पराजित भएपछि पार्टीभित्रैबाट चर्को आलोचना खेपेका देउवाले एक वर्ष भए पनि सभापतिमै रहेर कांग्रेस सुर्धाने पक्षमा देखिएको एक नेता बताउछँन् ।
जसलाई उनी निकट मानिने नेताहरुले समर्थन गरिरहेका छन् । देउवा पक्षधर मानिने नेता गोपालमान श्रेष्ठले विधानअनुसार सभापतिले एक वर्ष समय थप्न पाउने भएकाले अर्को वर्ष मात्रै महाधिवेशन गर्दा पनि केही फरक नपर्ने बताउँछन् ।
उता, रामचन्द्र पौडेल पक्षधर मानिने युवा नेता प्रदिप पौडेल भन्छन्,विधानमा एक वर्ष थप्ने व्यवस्था भए पनि अहिले त्यसका लागि उचित कारण नै नभएको बताए ।
सभापति देउवाको चर्को विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समय नथपिकन महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल लम्ब्याउन अहिले जरुरी नभएको पौडेलको भनाई छ ।
पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
विशेष कारण परे '६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख' छ । देउवाले यही प्रावधान टेकेर थप डेढ वर्ष बढाउन चाहेका छन् । तर संस्थापन इतरपक्षले देउवाको चाहना पूरा हुन नदिने भन्दै दबाब दिइरहेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेताहरुले गंगबुस्थित नुवाकोट पार्टी सभापति जगदिश नरसिंह केसीको घरमा डिनरसहितको बैठक बसे । बैठकले पनि नेता रामचन्द्र पौडेलकै लाइनलाई अगाडि बढाएको छ ।
केन्द्रीय समिति बैठक आउन पाँच दिन अघि पौडेल र सिटौला एकै ठाउँमा उभिएका हुन् । कांग्रेसले आउँदो आइतबार (असार २२ गते) केन्द्रीय कार्यसमितिको बैंठक डाकेको छ । पहिलो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुनुपूर्वदेखि केन्द्रीय बैठक बसेको थिएन ।
२२ गते हुने बैठकमा देशैभर भएको जागरण अभियानको समीक्षा, विभागहरु गठन, भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पूर्णता दिनेलगायत एजेन्डामा छलफल हुन लागेको हो ।
बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला पनि सहभागी रहेको ती नेताले जानकारी दिए ।
तर कांग्रेस राष्ट्रिय मुद्धाबाट बिचलित भएर रुखका जरा र हाँगाहरु काट्ने प्रवृतिको राजनीतिले बढवा पाइरहेको छ । मुलुकको ठुलो लोकतान्त्रिक र प्रजातात्तिक दलले जनताका समस्या र सरोकारका मुद्दाहरुलाई गम्भिर रुपमा आवाज उठाउन सकेको छैन् ।