काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे १५ करोड रुपैयाँ बाँडेको छ ।
आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर १५ करोड ३९ लाख रुपैयाँ रकममध्ये केही रकम पाउनैपर्ने व्यक्ति र संस्थाले पाए पनि धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ । सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता, संस्थादेखि पूर्वमन्त्री र पूर्व सांसद रहेका छन् ।
सरकारले आर्थिक बर्षको पहिलो महिना साउनमा सरकारले ९९ लाख ४५ हजार ६ सय ६९ रुपैयाँ बाँड्यो । गोरखा फुजेलकी गंगामाया अधिकारीलाई २० लाख, राष्ट्रकवि माधव घिमिरेलाई उपचार गराउन १४ लाख ९८ हजार रुपैयाँ, काठमाण्डौका पिताम्बर आङबुहाङलाई १० लाख र पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ सहयोग दिएको छ ।
भदौमा कांग्रेस नेता नरहरी आचार्यलाई ३३ लाख ६१ हजार, निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा मारिएका सन्नी खुन्ना निर्मला पन्तका परिवारलाई १०/१० लाख र घाइतेका परिवारलाई गरी २८ लाख, रामेछापका भिमबहादुर श्रेष्ठलाई १० लाख, स्थानीय तहको चुनावमा घाइते भएका २४ जनाको उपचार खर्च २७ लाख २४ हजार रुपैयाँ सहायता दिइएको छ ।
काठमाण्डौ स्कुल अफ ल को आयोजनामा भएको नेपालको संविधान नामक तीन दिने अन्तराष्ट्रिय सम्मेलनको लागि ३० लाख र हेटौंडाका चन्द्र शर्मालाई १० लाख रुपैयाँ दिएको छ ।
कात्तिकमा सिँचाइ विभागका इन्जिनियर पुरुषोत्तम खरेलको मृगौलाको उपचारको लागि ५ लाख रुपैयाँ दिएको छ । यस्तै बीरगंज भन्सार कार्यालयका नायव सुब्बा संजिव कुमार सिंहलाई पनि ५ लाख रुपैयाँ उपचार खर्च दिइएको छ ।
मंसिरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्चको लागि मन्त्रिपरिषद बैठकले ७ लाख १९ हजार रुपैयाँ सहायता दिएको छ ।
बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया बिकका परिवारलाई ५ लाख, रौतहतमा एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दास र घाइते सुश्मिता दासका परिवारलाई ५ लाख, बर्दियामा प्रहरी नियन्त्रणपछि ज्यान गुमाएका मनोहर यादवलाई मन्त्रिपरिषद निर्णयले १० लाख रुपैयाँ, तनहुँका टुकराज सिग्देललाई १० लाख, झापाका राजेन्द्र बिमलीलाई १६ लाख, प्रधानमन्त्री कार्यालयका लक्ष्मी रोकालाई ३ लाख, म्याग्दीका अर्जुन सुवेदीलाई २ लाख र कपिलवस्तुमा ज्यान गुमाएका दीपेन्द्र चौधरीका परिवारलाई १० लाख रुपैयाँ, कपिलवस्तुका मुमाराम आचार्यका परिवारलाई १० लाख, झापाका मध्मा वलीलाई ३ लाख, चानक उप्रेतीलाई ५ लाख र सुनसरीको दुहवीमा भएको घटनामा ज्यान गुमाएका फिदा हुसेनको परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।
पुसमा २३ जनालाई विभिन्न घटनाको क्षतिपूर्ति स्वरुप ४४ लाख ६४ हजार रुपैयाँ दिइएको छ । यस्तै कानुन व्यवसायीको रजत जयन्ती मनाउन २० लाख र पुस ९ गतेको मन्त्रिपरिषद विभिन्न व्यक्तिको उपचार खर्चको लागि ८० लाख रुपैँया दिएको छ ।
माघमा सरकारले ७९ लाख ९५ हजार रुपैयाँ आर्थिक सहायता र क्षतिपूर्ति रकम वितरण गरेको छ । सर्लाहीमा भएको घटनामा ज्यान गुमाएका रामविलास महतोको परिवारलाई १० लाख, पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा २ लाख रुपैयाँ सरकारले दिएको छ ।
यस्तै माघ ३ गतेको मन्त्रिपरिषद बैठकले ८ जनालाई ३५ लाख रुपैयाँ आर्थिक सहायता गरेको थियो भने १९ गतको बैठकले ४ जनालाई २२ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै म्यादी प्रहरी हुँदा घाइते भएकी उपचार खर्च ९५ हजार र काठमाण्डौकी विष्णा जोशीलाई उपचार खर्च १० लाख रुपैयाँ सरकारले माघ महिनामा दिएको छ ।
फागुनमा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १ करोड २१ रुपैयाँ भन्दा धेरै बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १ करोड २१ लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ ।
सरकारले पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो । गंगालाल श्रेष्ठको जन्म शताब्दी मनाउन पुष्पला स्मृती प्रतिष्ठानलाई ५ लाख रुपैयाँ दिइएको छ ।
माघको २१ र २५ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न व्यक्तिलाई आर्थिक सहायता र उपचारका नाममा ४२ लाख ८० हजार रुपैयाँ दिने निर्णय अनुसार फागुनमा रकम भुक्तानी गरिएको छ ।
यस्तै बाराको प्रसौनीका पानालाय यादवलाई उपचार खर्च ६ लाख २० हजार रुपैयाँ दिइएको छ । यस्तै पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचारको लागि १० लाख रुपैयाँ दिइएको छ ।
माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार दैलेखका नरविर दमाइसहित ४४ जनालाई १० लाख रुपैयाँ सरकारले दिएको छ ।
चैतमा कञ्चनपुर घटनाका घाइतेको उपचारको लागि २० लाख, आवश्यकता अनुसारको सहयोग शीर्षकमा विभिन्न व्यक्तिलाई ४१ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै चैत ११ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार ६ वटा संस्था तथा व्यक्तिलाई ८० लाख रुपैयाँ दिइएको छ ।
यस्तै गोरखाका प्रहरी जवान स्वर्गीय अर्जुन जमरका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ । वैशाखमा ३ करोड ४७ लाख रुपैयाँ वितरण गरेको छ ।
पूर्वमन्त्री केशव बुढाथोकीलाई उपचार खर्च १० लाख, चक्रपाणि नेपाल, कविता श्रेष्ठ, नरहरी गैरे र गिरिराज शर्मालाई गरी २४ लाख रुपैयाँ, चितवनका सन्तोष रानाभाटलाई ६० हजार रुपैयाँ वितरण भएको छ ।
आमाको घर नेपाल संस्था कालिमाटीलाई ५० लाख, सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई १ करोड र मानव सेवा आश्रम काठमाण्डौलाई १ करोड रुपैयाँ सहायता सरकारले दिएको छ ।
यस्तै राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोष महास्थविरलाई उपचार खर्च १० लाख ८० हजार, सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई भारतमा उपचार गराउँदा ३६ लाख ३६ हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई उपचारको लागि १ लाख १३ हजार रुपैयाँ पनि वैशाखमै निकासा भएको छ ।
यस्तै विभिन्न व्यक्तिको उपचार खर्च र आर्थिक सहायताको नाममा १५ लाख रुपैयाँ सरकारले दिएको छ । जेठमा विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ ।
जेठमा १ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । अभियान टाइम्सका साथमा ।