काठमाडौँ, असार २२ गते । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आइतबारबाट सुरु हुने बैठकमा मुख्य गरी पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन ।
संरचना निर्माण गर्दा ६० र ४० को अवधारणा अनुसार अगाडि बढ्ने विषयमा केही समय पहिला छलफल भएको थियो तर पछिल्लो समयमा संस्थापन पक्ष पार्टीका संरचना निर्माण गर्ने पक्षमा र वरिष्ठ नेता पौडेलसहितका अन्य नेता अब १४औँ महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्ने पक्षमा देखिएपछि पार्टीको संरचना निर्माण कसरी गर्ने भन्ने विषयले केन्द्रीय समितिमा मुख्य स्थान पाउने भएको छ । बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्षका नेताहरूले आफ्ना समूहका नेताहरूले तयारीसमेत गरिसक्नु भएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, पार्टीको विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्थाअनुरूप नै गठन हुनेछन् ।
विधानभन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरू विल्कुलै निराधार भएको भनाइ पनि प्रवक्ता शर्माको छ । विधानमा पार्टीको नयाँ संरचनाहरू गठनका लागि तदर्थ समितिको कुनै प्रावधान रहेको छैन ।
बैठकमा पार्टीको संशोधित विधानको अनुसारको नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरेपश्चात् पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ ।
साथै जागरण अभियानको प्रथम चरणको समीक्षा र भदौ २४ बाट सुरु हुने दोस्रो चरणको कार्यक्रमबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठकलगतै नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरूबारे जरुरी निर्णय आवश्यक परामर्शपश्चात् हुने जानकारी पनि प्रवक्ता शर्माले दिनुभयो ।