एजेन्सी
ब्राजिल, असार २२
कोपा अमेरिका अन्तरगत तेश्रो स्थानका लागि नेपाली समय अनुसार आइतबार भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ।
दुबै टोली १०-१० खेलाडीमा सिमित भएको खेलमा अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा पहिलो अग्रता लिएको थियो।
सो गोल सर्जियो अग्युरोले गरेका थिए। यसैगरी अर्जेन्टिनाले सो अग्रतालाई खेलको २२ औं मिनेटमा पाउलो डिबालाको गोलमा दोब्बर पारेको थियो।
खेलको ३७ औं मिनेटमा लियोनेल मेसी र चिलीका ग्यारी मेडलले एकअर्जालाई ठेलाठेल गरेपछि रेफ्रीले दुबैलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइदिएका थिए।
मेसीले आफ्नो करियरमा खाएको यो दोश्रो रातो कार्ड हो।
पहिलो हाफ २-० को नतिजामा सकिएको खेलमा चिलीले खेलको ५९ औं मिनेटमा गोल फर्काएको थियो। सो गोल अटुरो भिडालले ए पेनाल्टीमार्फत गरेका हुन्।
कोपा अमेरिकामा आयोजक ब्राजिलले उपाधिका लागि पेरूसँग सोमबार बिहान प्रतिष्पर्धा गर्नेछ।