काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सोमवारदेखि कार्यविभाजनमा छलफल सुरु भएको छ । ओली र प्रचण्डबीच सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यविभाजनका विषयमा छलफल सुरु भएको हो ।
दुई अध्यक्षबीच कार्यविभाजनमा सहमति भएमा सचिवालय र स्थायी समिति बैठक बोलाउने तयारी छ । लामो समयसम्म दुई अध्यक्षबीचमा राजनीतिक कार्यदिशासहितको प्रतिवेदनमा सहमति जुट्न सकेको थिएन ।
बुधबारसम्म प्रतिवेदन प्रेसमा जान्छ
नेकपाका महासचिव विष्णु पौडेलले दुई अध्यक्षबीचको सहमतिका आधारमा पर्सिसम्ममा राजनीतिक कार्यदिशासहितको प्रतिवेदन छाप्नका लागि प्रेसमा पुग्ने जानकारी दिए । उनका अनुसार ढिलोमा पर्सिसम्ममा प्राविधिक विषय हेरेर राजनीतिक कार्यदिशासहितको प्रतिवेदन छाप्नका लागि प्रेसमा जानेछ ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी लगायत पार्टीका विभिन्न विभागको पूर्णताका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको छ । दुई अध्यक्षबीच कार्यविभाजन लगायतका विषयमा समेत छलफल सकरात्मक तरिकाले चलिरहेको महासचिव पौडेलको भनाई रहेको छ ।
दुई अध्यक्षबीच आईतबारको छलफलमा राजनीतिक कार्यदिशासहितको प्रतिवेदनका विषयमा सहमति जुटेको थियो ।