• काठमाडौं । शक्ति मोहलाई पार्टी एकताको आवरण दिएर अघि बढेका उपेन्द्र यादवलाई धेरैले चिसो पानी खन्याइदिएका छन् । गत वैशाख २३ मा बाबुराम भट्टराईको नयाँ शक्तिसँग घाँटी जोडेका यादवलाई पहिलो त स्वयं सत्ता साझेदारले नै चिसो पानी खन्याए ।

    नवगठित समाजवादी पार्टीबाट गत शुक्रबार मात्रै कल्पना धमला, देवेन्द्र पराजुली, गुणाखर बस्याललगायत संघीय परिषद्का १८ सदस्य र प्रदेश समितिका ४० नेता कार्यकर्ता सत्तारुढ नेकपा प्रवेश गरे । यसरी सँगै सत्तामा रहेको दलमा प्रवेश गरेर आफ्नै नेता कार्यकर्ताले समेत चिसो पानी खन्याइदिए ।

    एक अर्थमा अहिलेको प्रचण्ड गर्मीमा कसैले चिसो पानी खन्याइदिनु त राहतै हो । तर, उपप्रधानमन्त्रीसमेत रहेका यादवको मधेसी दलबाट उठेर राष्ट्रिय शक्ति हुने अभियानमा आघात हुन पुगेको छ । चिसो पानी खन्याएको कथा त्यत्तिमै सकिँदैन ।

    गत साता जब राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका एक सदस्य महन्थ ठाकुरसँग यादवको भेट भयो, त्यहाँ पनि चिसो पानीमा नचोपलिइ सुख पाएनन् उनले । यादवले ठाकुरसँग पार्टी एकताको प्रस्ताव राम्ररी राख्न नपाउँदै चिसो पानीमा चोप्लिनु परेको हो ।

    अनौपचारिक गफगाफमै महन्थले जरैसम्म हाने । उनले भने, हिजो अशोक राईको पार्टीसँगको एकतामा पनि तपाईको राष्ट्रिय पार्टी वा शक्ति बन्ने मोहले काम गर्यो । आज बाबुराम भट्टराईसँग जोडिँदा पनि तपाई त्यही दशामा हुनुहुन्छ । म त राष्ट्रिय पार्टी छाडेर पहिचानवादी क्षेत्रीय पार्टी बनाउन हिँडेको मान्छे ।

    तपाईसँग केको पार्टी एकता ? तपाईको र मेरो उद्देश्य र बाटो नै फरक छ । महन्थले यति भनेपछि उपेन्द्रको बोली बन्द भएको सुनाउँछन्, महन्थ निकट नेताहरु । महन्थले यति भन्ने आँट किन नराखुन र ? हिजो कांग्रेसको केन्द्रीय पदाधिकारी (कोषाध्यक्ष), उपसभामुख र पटक पटक मन्त्री नै भइसकेको मान्छे ।

    अर्कोतिर समाजवदाी पार्टीले एकीकरणपछि वार्ता समितिका केही सदस्य हेरफेरबाहेक अन्य कुनै प्रगति गर्नसकेको छैन । यादवले मुखले भनेकै भरमा एकता प्रक्रिया अघि बढिहाल्ने भन्ने पनि भएन । मूल कुरा राजपा ६ वटा दल मिलेर बनेको हो । त्यहाँ शीर्षस्थ ६ नेता छन् ।

    बाबुराम जोडिनुअघि एकल निर्णयमा चल्ने उपेन्द्रको पार्टीमा बल्ल दुई टाउका भएका छन् । एकताको कुरा अघि बढाउने हो भने पनि भोलि केन्द्रीय तहका नेताको व्यवस्थापन नै गर्न कठिन छ । अल्पमत बहुमतका कुरा आउनेवित्तिकै फेरि उपेन्द्रलाई चिसो पानी नै हुने हो ।

    के छ त प्रगति ?
    भन्नलाई त समाजवादी र राजपा दुवैतिरका नेता आफूहरु एकताको गृहकार्यमा लागिरहेको भनिरहेका छन् । तर, प्रगति कति भयो ? भनेर हेर्ने हो भने शून्य छ । आलोपालो नेतृत्व प्रणालीअनुसार अहिले राजपाको अध्यक्षमण्डलको संयोजक अनिल झा छन् ।

    उनका अनुसार समाजवादी पार्टीसँगको एकताको कुरा औपचारिक गफगफाभन्दा माथि गएको छैन । उनले भने, दुवैतर्फ वार्ता समिति बनेका छन् । तर, ती वार्ता समितिबाट यस्तो प्रगति भयो भनेर अहिलेसम्म कुनै जानकारी आएको छैन ।

    यस्तै उनले आफूहरुले समाजवादी पार्टीसँग मात्रै एकीकरण गर्ने भनेर वार्ता समिति नबनाएको र विचार तथा सिद्धान्त मिल्ने राजनीतिक दल, समूह र व्यक्तिसँग एकीकरण गर्ने भनेरै लागिपरेको सुनाए ।

    उपेन्द्र यादवले बढ्ता जोडबल गरेको र उनको शक्तिमोहलाई प्रस्ट्याउने गरी झाले भने, एकीकरण भनेर हामीले समाजवादीलाई आइदेऊ बचाइदेऊ भनेर रुने धुने काम हुँदैन ।

    र, खुट्टा ढोक्ने कुरा आउँदैन । यद्यपि, अनौपचारिक छलफल भइरहेको छ । यस्तै, वार्ता समितिबाट पनि प्रगति नभएकै कुरा आए । राजपाले राजेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । जसमा वृशेषचन्द्र लाल, केशव झा, रमेश यादव र सुनील रोहित सदस्य छन् ।

    राजपाको वार्ता समिति संयोजक राजेन्द्र महतोले समाजवादीलाई पत्राचारसम्म भएको जानकराी दिए । तर, उनका अनुसार दुई वार्ता टोलीबीच छफल भने भएको छैन । समाजवादीबाहेक अन्य आदिवासी जनजाति दल तथा संगठनसँग पनि कुरा भइरहेको उनले बताए ।

    समाजवादी पनि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । जसमा परशुराम खापुङ, रकम चेम्जोङ, नवराज सुवेदी र रामसहाय यादव छन् । समाजवादीको वार्ता समिति संयोजक श्रेष्ठले राजपासँगको एकताका लागि विषयवस्तुको उठानसम्म भएको बताए ।

    अन्य प्रगति भएको छैन, उनले भने, कुरा मिल्ने भए त पहिले नयाँ शक्तिसँग एकता हुँदै कुरा टुंगिन्थ्यो । त्यो बेला तीन पार्टी एकता हुने कुरा भएकै हो नि ! तर, भएन । वार्मअप सम्म भएको छ । अरु प्रगति छैन ।

    सरकार नछोडी एकता अघि बढ्दैन
    उपेन्द्र यादवलाई चौतर्फी संकट परिरहेको छ । राजपाका अनुसार सरकार नछोडी एकताको कुरा अघि बढ्दैन । राजपाको वार्ता टोली सदस्य वृशेषचन्द्र लालले राजपा संघीय सत्तामा जाने कुरा सम्भव नरहेकाले एकीकरणको बाँकी काम अघि बढाउने हो भने समाजवादीले संघीय सत्ता छोड्नै पर्छ भने ।

    गठबन्धन बनाउने र मोर्चाबन्दी गर्ने छलफल त अरुसँग पनि भइरहेकै छन् । अनि, प्रदेशमा गठबन्धन सरकार चलिरहेकै छ ।

    उनका अनुसार संविधान संशोधनमा राखिएको अडान, सांसद रेशम चौधरीको थुना, पार्टी कार्यकर्तामाथिका झुटा मुद्दा र संविधान संशोधनको बहाना बनाई सत्तामा गएको समाजवादीलाई सरकारले संशोधनको कुनै संकेत नदिनु राजपा सरकारमा जान नसक्ने कारण हुन् ।

    राजपाले समाजवादीमाथि र नयाँ शक्तिको माथि टाउको मात्रै जोडिएको हो, कार्यकर्ता तहमा अझै एकीकरणको संचार भएको छैन । भोलि नेता कार्यकर्ता व्यवस्थामा ठूलो झमेला हुन्छ यो हो राजपाको शंका ।

    प्रचण्डको एजेन्डा थन्कियो
    सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ एजेन्डा भने तत्काललाई थन्किएको छ । मधेसवादी यी दुई शक्ति मिले कांग्रेस पनि आउँछ र आउने माघसम्ममा आफू प्रधानमन्त्री बन्न पाइन्छ भन्ने दाउ थियो प्रचण्डको ।

    तर, उनी आफ्ना आन्तरिक समस्याले केपी ओलीतिरै नतमस्तक हुन बाध्य भएका छन् । आफ्नै दुःखले उनी ओलीकहाँ आत्मसमर्पण गर्न पुगे । द्वन्द्वकालीन मुद्दाको तरबार देख्नेवित्तिकै उनी सेलाइहाल्छन् ।

    ओलीको अघिल्लो कार्यकालमा पनि सत्ता साझेदारीमै रहादा उनले राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान गरेकै हुन् । त्यसमा पनि द्वन्द्वकालीन मुद्दाकै त्रासले उनले हठात सरकारबाट खुट्टा झिक्ने निर्णय लिए ।

    आन्तरिक कमजोरीले उनी भोलिपल्टै युटर्न भए । आउली मख्ख परे । तर, केही दिनमा सरकार गिराए । र, कांग्रेसको समर्थनमा प्रधानमन्त्री भइछाडे, तरुणमा उल्लेख छ ।

    उनले त्यही कदमकै झल्को दिने गरी यसपल्ट पहिले मधेसवादी दललाई मिलाउने, अनि कांग्रेसलाई साथ लिएर सत्तामा उक्लिने डोरी फसाउँदै थिए । तर, राजपा टेढिएसागै तत्काललाई त्यो एजेन्डा थन्किएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…