• काठमाडौं, २५ असार । नेपाली कांग्रेसभित्र महाधिवेशन राजनीति शुरु भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल चार वर्ष पूरा हुन ६ महिना बाँकी रहँदा सभापति शेरबहादुर देउवाका आलोचक तथा विरोधीहरु तत्काल महाधिवेशनको तिथी निर्धारण गराउने पक्षमा देखिएका छन् ।

    गत आइतबार (असार २२ गते) आयाजित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाका विपक्षीहरुले चौधौं महाधिवेशनको विषय नटुंग्याएसम्म अन्य एजेन्डामा छलफल नगरिने अडान लिए ।

    लामो माथापच्चीपश्चात् भ्रातृ संस्थाहरुको व्यवस्थापन गरी महाधिवेशनमा जान देउवा पक्ष सहमत भएको छ । नेविसंघ, तरुण दललगायत कांग्रेसका अधिकांश भ्रातृसंस्था तदर्थ शैलीमा चलिरहेका छन्, महाधिवेशन गराउनेतर्फ कांग्रेसले कुनै तत्परता लिएको छैन ।

    अब असार २७ गते शुरु हुने कार्यसमितिको बैठकमा भ्रातृसंस्थाहरुलाई व्यवस्थित र सुचारु गर्ने विषयमा छलफल हुने बताइएको छ ।

    बैठकमा पार्टीको नियमावली पारित गरिने, प्रदेश संरचना तथा समिति गठनबारे छलफल हुने र गाउँ, जिल्ला र नगर समिति विषयमा टुंगो लगाइने बुझिएको छ ।

    गत महिना मात्र जागरण अभियान संचालन गरेर एकताबद्ध भएको कांग्रेस आउँदो भदौपछि अर्को चरणको जागरण अभियान सुरु गर्ने योजनामा छ । संस्थापन पक्षले जागरण अभियानमै अल्झाउने र चौधौं महाधिवेशन पछाडि धकेल्दै लैजाने षड्यन्त्र रचेको भन्ने देउवाविरोधी पक्षले ठानेको छ ।

    आगामी माघमा कांग्रेस महाधिवेशनको चार वर्ष पुग्दै छ । पार्टीभित्र देउवाका आलोचकहरु चार वर्ष पुगेलगत्तै चोधौं महाधिवेशन गराउने पक्षमा छन् ।

    खासगरी नेताहरु प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.शशांक कोइराला, दिलेन्द्रप्रसाद बडू र रामचन्दै पौडेललगायतले तत्काल महाधिवेशनमा जान देउवामाथि दबाब दिइरहेका छन् ।

    तर, कुनै कारण देखाएर पार्टीको महाधिवेशन अर्को एक वर्षपछि अर्थात् जम्मा पाँच वर्षपछि पनि गर्न सकिनेछ । देउवाले आगामी माघपछि अर्को एक वर्ष कार्यकाल थप गराउने सम्भावना छ ।

    आगामी भदौ २७ गतेदेखि सतहत्तर वर्ष उमेरमा प्रवेश गर्ने शेरबहादुर बाँचिन्जेल सभापति पदमा रहिरहने मानसिकतामा देखिन्छन् । २०७७ को माघ–फागुनतिर चौधौं महाधिवेशन गर्ने र उक्त महाधिवेशनमा अठहत्तर वर्षका हुने देउवाले पुनः सभापति बन्ने सोच बनाएको बुझिएको छ ।

    तर, देउवाको यो इच्छा सजिलै पूरा हुने सम्भावना भने देखिँदैन । पार्टीमा देउवा अलोकप्रिय भएको र अबको महाधिवेशनमा देउवा विजयी बन्न नसक्ने ठम्याइ पार्टीका विपक्षी नेताहरुको छ ।

    त्यसैले जतिसक्दो चाँडो महाधिवेशन गरेर कांग्रेसलाई देउवाबाट मुक्त गर्ने योजना बनेको हो । तर, पार्टीभित्र देउवाको पक्ष अहिले पनि एकजुट रहेको र महाधिवेशनसम्ममा देउवाले हिन्दूराष्ट्रको एजेन्डा बोक्ने सम्भावना भएकोले फेरि पनि कांग्रेसले नयाँ नेतृत्व नपाउने संकेत देखिँदैछ ।

    देउवाविरोधीहरुमा डा.शेखर कोइराला, प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, र कुलबहादुर गुरुङ आदि सबै सभापति पदका दाबेदार नेता हुन् ।

    यदि विवाद चर्किएर पार्टीत्रि तनावग्रस्त स्थिति बन्यो भने डा.शशांक कोइरालालाई देउवाले साझा उम्मेदवारका रुपमा अघिसार्ने सोच बनाएको बुझिएको छ ।

    शशांकका विरुद्ध कोइराला पक्षले उम्मेदवारी नदिने विश्वास गरिन्छ । आफू सभापति बन्न नसक्ने अवस्था आएमा देउवा शशांकलाई अघि सारेर पार्टीमा रमिता देखाउने मानसिकतामा भएको जानकारीमा आएको छ ।

    रहस्यमीय भ्रमणमा गच्छदार
    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारबाट हालै भएको भ्रमणलाई रहस्यमीय मानिएको छ ।

    केही दिनअघि मोटरबाटो भएर बागडोगरा विमानस्थल (सिलिगुडी) पुगेका गच्छदार त्यहाँबाट सुटुक्क नयाँ दिल्लीतर्फ प्रस्थान गरेका थिए, घटना र विचारमा उल्लेख छ ।

    दिल्लीमा केही महत्वपूर्ण भेटघाटमा रहेका उपसभापति गच्छदार त्यतैबाट अमेरिकातिर लागेका छन् । गच्छदारको भ्रमणबारे नेपाली कांग्रेसका अधिकांश नेताहरु उनको भ्रमणबारे अनभिज्ञ छन् ।

    उनी अमेरिका जानुका मुख्य का रण आँखाको उपचार भन्ने बुझिए पनि दिल्ली भ्रमणको कारण भने कतैबाट पनि खुल्न सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…