• काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र केपी ओली सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच गठबन्धन तर्फ नजिकिएका छन्।

    मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा एकसाथ प्रदर्शन गरिरहेका कांग्रेस र राजपा नयाँ गठबन्धनतर्फ उद्यत भएका हुन्। सर्लाहीका कुमार पौडेललगायतका गोली काण्डमा छानबिन समिति बनाउन माग गर्दै दुई दिनदेखि दुवै दलले संयुक्त विरोध गर्दै आईरहेका छन्।

    सप्ताह पुराण लगाइरहेको अवस्थामा बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवास पुगेका राजपाका शीर्ष नेताले देउवासँग यसबारे छलफल गरेको राजपा अध्यक्ष राजकिशोर यादवले बताए। ‘तत्कालका लागि विशेष मुद्धामा रहेर एकै ठाउँमा उभिने तर केही समयपछि गठबन्धन नै बनाएर जाने बारेमा छलफल भईरहेको छ’ यादवले  भने, ‘गठबन्धन बनाउन केही समय लागे पनि मुद्धाहरूमा भने दुवै पार्टी एक ठाउँमा उभिन थालिसकेका छन् ।’

    सोहीअनुसार सर्लाही गोली काण्डमा संसदीय छानबिन समिति बनाउनु पर्छ भन्ने विषयमा मतैक्य राखेर अगाडि बढेको उनले उल्लेख गरे। सर्लाहीमा गत असार ५ गते कुमार पौडेल तथा असार १५ गते सरोजनारायण सिंह प्रहरीको गोलीबाट मारिएका थिए। छानबिन समिति नबनेसम्म संसद अवरुद्ध पार्ने दुवै दलले चेतावनी दिइसकेका छन।

    मंगलवारको प्रतिनिधिसभा बैठकमा कांग्रेसकी पुष्पा भुषाल र अध्यक्ष यादवले दुवै घटनाबारे समान धारणा राखेका थिए । तर, भुषालले बिषादी परीक्षण रोक्का विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गरे पनि राजपा भने उक्त विषयमा मौन देखिएको छ ।
    रेशम चौधरीलाई टिकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले फागुन २२ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पछि राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो।

    चौधरीका लागि आफनो पार्टीको समर्थन रहेको ओली सरकारले केही पनि सहयोग नगरेको भन्दै सो फैसला आएलगत्तै राजपाले फागुन २२ गते साँझ समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

    उक्त निर्णयको झन्डै ३ महिनापछि राजपा कांग्रेससँग गठबन्धन गर्न अघि बढेको हो । सोहीअनुसार मंगलबार र बुधबार प्रतिनिधिसभा बैठकमा एकै स्वरमा देखिन पुगेको अध्यक्ष यादवले जानकारी दिए।

    संविधान संसोधनको माग गरिराखेको राजपा र प्रतिपक्ष कांग्रेसबीच कुन कुन अजेन्डामा रहेर गठबन्धन हुनेछ, त्यो भने स्पष्ट पारिएको छैन। तर, त्यसका लागि दुवै दलका शीर्ष नेताले भित्रभित्रै प्रयास भने जारी राखेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…