• नेपाली कांग्रेसका युवा नेता गगन थापा अमेरिकी दूतावासको १२ वर्ष पुरानो एक गोप्य रिपोर्ट (केबल)लाई लिएर विवादमा तानिएका छन्।

    अमेरिकामा मुख्य कार्यालय भई नेपाली भाषामा समेत सञ्चालित अनलाइन पोर्टल https://nepali.breaknlinks.com/14717 ले त्यसलाई समाचार बनाएपछि उनी विवादमा तानिएका हुन्।

    उक्त पोर्टलले अमेरिकी दूतावासले २०६४ चैत २८ मा निर्धारित पहिलो संविधानसभा चुनावताका तयार गरेको एक गोप्य रिपोर्टमा थापालाई ‘दूतावासको मुख्य सम्पर्क’ अर्थात् ‘कि एम्बेसी कन्ट्याक्ट’ का रूपमा उल्लेख गरिएको बारेमा समाचार लेखेको थियो।

    थापाले आफूप्रति ‘गलत नियत’ राखेर उक्त पुरानो रिपोर्टमाथि समाचार प्रकाशित गरिएको बताए। उनले उक्त सूचना कुनै नौलो नभई आठ वर्षदेखि गुगलमा सार्वजनिक रूपमा उपलब्ध रहेको पनि जानकारी दिए।

    थापाले आफूलाई दूतावासले केबलमा किन त्यसरी उल्लेख गर्‍यो भन्ने जानकारी नभएको तर एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कांग्रेस नेतृ सुजाता कोइराला र नेता प्रकाशशरण महतलाई समेत ‘कि एम्बेसी कन्ट्याक्ट’ कै रुपमा उल्लेख गरेको केबल सार्वजनिक भइसकेपछि थाहा भएको बताए।

    दूतावासले किन थापालगायतलाई त्यसरी परिचित गरायो भन्ने प्रश्नमा अमेरिकी दूतावासँग सम्पर्क गरे पनि जवाफ प्राप्त भइसकेको छैन।

    ‘एक त त्यो रिपोर्ट कुनै नौलो र हालै खुलासा भएको होइन, २०६८ देखि ती गुगलमा सार्वजनिक रूपमा उपलब्ध छन्,’ थापाले भने, ‘फेरि, मलाईमात्र विषयवस्तु बनाएर समाचार तयार गर्नुले उक्त अनलाइनको नियत गलत देखिन्छ।’

    थापाले समाचारमा आफूलाई जबरजस्ती दूतावासको ‘एजेन्ट’को रूपमा चित्रण गर्ने कुनियत राखिएको दोहो¥याउँदै आफूले राज्यको गोप्यता वा ‘स्टेट सेक्रेट’ कहिल्यै कसैसमक्ष नखोलेको उल्लेख गरे।

    ‘जुनकुरा हामीले त्यतिबेला सार्वजनिक रूपमा भन्दै आएका थियौं, मैले त्यही भनेको छु,’ थापाले भने, ‘यसमा गोप्यता के छ?

    विकिलिक्सले करिब दशक अगाडि विश्वभरका अमेरिकी गोप्य कूटनीतिक केबल सार्वजनिक गर्दा नेपालस्थित अमेरिकी दूतावासका रिपोर्ट पनि खुलासा भएका थिए। अहिले चर्चामा ल्याएको केबल पनि तिनैमध्ये एक हो।

    रिपोर्टमा थापालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्टी नेपाली कांग्रेसमा ‘कि एम्बेसी कन्ट्याक्ट’ भनी उल्लेख गरिएको छ। दूतावासका तत्कालीन उपनियोग प्रमुख तथा हालका राजदूत र्‍यान्डी बेरीले पहिलो संविधानसभा चुनावको निर्धारित मितिभन्दा ३८ दिन पहिले उक्त कूटनीतिक केबल तयार गरेका थिए।

    रिपोर्टमा थापालाई उद्यृत गर्दै नेपाली कांग्रेसले युवा उम्मेद्वार बनाउन चुकेकाले पार्टीले चुनावमा युवा जमातको समर्थन गुमाउने, तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला शारीरिक रूपले कमजोर रहेकाले चुनाव प्रचारमा उपस्थित हुन नसक्ने र पार्टीका धेरै असन्तुष्ट नेताले आफ्नै उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दिनसक्ने उल्लेख छ।


    साथै, नेपाली कांग्रेस नेतृत्वको सरकारले मधेशी शक्तिलाई बढी अधिकार दिएको भन्दै पार्टीको गढ मानिने तराई क्षेत्रमा बसोबास गर्दै आएका धेरै पहाडेमूलका कांग्रेस समर्थकले तत्कालीन एमालेलाई भोट दिनसक्ने थापाले बताएको रिपोर्टमा उल्लेख छ।

    रिपोर्टमा थापालाई उद्यृत गर्दै माओवादीले नेपाली कांग्रेसको आधार इलाकामा आफ्नो सामथ्र्य केन्द्रित गर्दै एमाले गढमा भने पन्छिने रणनीति अबलम्वन गरेकाले नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसक्ने उल्लेख छ।

    गणतन्त्र पक्षधर चर्चित विद्यार्थी नेता थापा त्यतिबेला नेपाली कांग्रेसबाट समानुपातिक सभासदका लागि प्रस्तावित थिए।

    ‘यदि मैले त्यतिबेला ‘गुड फेथ’मा केही विशेष कुरा सेयर गरेको थिएँ भने के अवस्था हुन्थ्यो होला?,’ उनले भने।

    विदेशी कूटनीतिज्ञसँग नियमित भेट भइरहने उल्लेख गर्दै थापाले त्यो आफ्नो राजनैतिक दैनिकीको हिस्सा भएको बताए।

    ‘केही अघि म जापान गएँ, चीन पनि गएँ, अब भारत र बेलायत जाँदैछु। ती देशका राजदूतसँग मेरो भेट हुन्छ, केही बात हुन्छ, उनीहरूले आफ्ना रिपोर्टमा मलाई कसरी उल्लेख गर्छन्, म कसरी जानुँ?’

    नेपालन्युज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…