• भोजपुर भिडन्त प्रकरण थप शंकास्पद बनेको छ । हिँजो विप्लव कार्यकर्तासँग भिडन्त भएको उक्त भिडन्तमा नेपाल प्रहरीका जवान १ जना र विप्लव कार्यकर्ताको गोली लागि निधन भएको प्रहरीले बताएको थियो । यता विप्लव माओवादीले भने निक्कै शसंकित तथ्य बाहिर ल्याएको छ । त्यहाँ कुनै दोहोरो गोली हानाहान नभएको प्रहरी स्वयंले विप्लव कार्यकर्ता र आफ्नै सहकर्मी जवानलाईपनि मारेको दावी गरेको छ ।

    के नेपाल प्रहरीले प्रायोजित भिडन्तमा आफ्नै सहकर्मी मार्न सक्छ ? यो सबैले प्रश्न गर्न थालेका छन् । गत जेठ ७ गते ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाककाउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लागेको २० दिनमै प्रहरीले चलाएको गोली लागेर उनले ज्यान गुमाएका थिए। तर, राजुलाई प्रहरीले गिरफ्तार गरेपछि गोली हानेर हत्या गरेको दाबी विप्लवले गर्दै आएको छ।

    विप्लवका एक नेता शैलेशले आफ्नो समूहमा रहेका तीर्थलाई प्रहरीले घेरामा हालेपछि समातेर यातना दिइ गोली हानेर हत्या गरेको दाबी गरेका थिए। अनि विप्लव रिसाए आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेपछि हत्या गरेको भन्दै विप्लवले त्यसको बदला लिने योजना सुरुबाटै बनाएको थियो । तर सोलुखम्बुको छेस्काममा प्रहरी चौकी कब्जा गरेको समाचार बाहिरिएसँगै विप्लवका नेता कार्यकर्ताले लुक्नुपर्ने बाध्यता आएको थियो । गत जेठ १९ गते छेस्काम चौकी घटनापछि सरकारले सशस्त्र र जनपथको ठुलो टोली उतारेर विप्लवको खोजी थालेको थियो ।

    त्यसक्रममा भोजपुर, संखुवासभा र खोटाङबाट समेत प्रहरी टोली डिएसपीकै कमाण्डमा परिचालित थियो। प्रहरीको निरन्तर निगरानीका कारण खुम्चिन बाध्य विप्लवका कार्यकर्ता बर्षेझरीसँगै चलायमान भएका थिए। प्रतिकुल मौसमका कारण प्रहरीको गस्ती नियमित हुन नसकेपछि विप्लवका कार्यकर्ताको उपस्थित सदरमुकाम नजिकका गाउँसम्म पुगेको थियो ।

    सदरमुकाममै विप्लवका कार्यकर्ता ट्याम्के(मैयुङको धोद्रेमा आफ्ना एक कार्यकर्ताको प्रहरीले ज्यान लिएपछि विप्लवका कार्यकर्ता आक्रमक भएका थिए । यसको पुष्टि असार १८ गते ट्याम्के(मैयुङ–१ को वडा कार्यालयमा आगजनी र तोडफोडले पुष्टि गर्छ । त्यही दिन भोजपुरको देउरालीस्थित सौदा चोकमा एउटा घरेलु बम भेटिएको थियो । जसलाई निष्कृय पार्न नेपाली सेनाको २ नम्बर बाहिनी कार्यलयबाट टोली नै आउनु परेको थियो ।

    घटना के हो ?
    भोजपुर सदरमुकाम भन्दा केही तल शनिबार र बुधबार हटिया लाग्ने गर्छ । उक्त हटियाको पश्चिमतर्फ जनयुद्धको समयमा माओवादीमा हिँडेर भागेकी एक कार्यकर्ताले पाँचधारे होटल चलाइरहेकी छन्। उक्त होटलमा बुधबार बिहान साढे ८ बजेपछिको समयमा पुगेका थिए विप्लवका ओखलढुंगा सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ । उनको घर भोजपुरको साविक बोया गाउँ विकास समिति (हाल षडानन्द नगरपालिका) मा पर्छ । उनी अर्का साथीसहित पाँचधारे होटलमा बसेका थिए ।

    प्रहरीको सूचनालाई मान्ने हो भने उनी बिहानै मदिराले मातेको अवस्थामा थिए। प्रशान्त पाँचधारे होटलमै रहेका बेला नेपाल प्रहरीका घुमुवा सञ्जीव राईसहितको सादा पोशाकको टोली होटलमा पस्यो । ‘होटलमा पसेपछि प्रहरीको सादा पोशाकको टोली र प्रशान्तबीच विवादको अवस्था उत्पन्न भयो’, भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा भन्छन्, ‘विवादकै क्रममा प्रशान्तले प्रहरी जवान सञ्जीवमाथि गोली हाने। त्यसपछि प्रहरीको जवाफी कारबाहीमा प्रशान्तको पनि ज्यान गयो।’

    के भन्छन् आइजीपी प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले
    भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन्। बुधबारको संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराएका छन्। भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ महानिरीक्षक खनालले भने।

    घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए। महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो। भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ।

    विप्लवको फरक दाबी

    यता भोजपुर नै घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’का एकजना केन्द्रीय सदस्यले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको हो । ती केन्द्रीय सदस्यले अहिलेसम्म प्रहरी र सेनामाथि आक्रमण गर्ने आफूहरुको कुनै नीति नभएको दाबी गरे ।

    ‘प्रशान्त ओखलढुंगा सेक्रेटरी हुन्। उनी पार्टीमा बिदा लिएर घर गएका थिए। उनले कुनै किसिमको हतियार बोकेका थिएनन्  विप्लवका ती नेताले भने, ‘प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागेको हो। प्रशान्त निसश्त्र थिए।’ विप्लवका ती नेताले आफ्नै गोलीबाट सञ्जीवको मृत्युपछि प्रशान्तलाई प्रहरीले समातेर गोली हानेको दाबी गरे। ‘प्रशान्तलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानिएको छ’, उनले भने, ‘उनीसँग हतियार थिएन, उनको कार्यक्षेत्र भोजपुर नभएकाले उनी निशस्त्र अवस्थामा ओखलढुंगाबाट त्यहाँ पुगेका थिए।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…