काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ।
आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसङ्गठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशन दिएका हुन्।
वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनहरुले पीडितको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत जानकारी गराएका छटन्।
उनहरुले बाढीबाट भएको दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । विज्ञप्तिमा बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।