२०७६ श्रावन १ बुधवार
चर्मरोगमध्ये छिटो सर्ने लुतोबाट छुटकारा पाउन साउने सङ्क्रान्तिको साँझ अगुल्टो आकाशमा फालेर नाङ्लो ठटाउने गरिन्थ्यो । साउने सङ्क्रान्तिको सांस्कृतिक पक्षको अनेक आयाम त होलान् तर अगुल्टो फालेर लुतो भाग्ने कुरा भने अन्धविश्वास बाहेक के नै हुन्छ र !
त्यसो त कतैकतै ‘नाङ्लो ठटाएरै त लुतो भाग्दैन’ भन्ने गरिन्छ । जुम्लामा यो दिन उत्सवका रूपमा अगुल्टो आकाशमा पाल्ने गरिन्छ । राजधानी उपत्यका पनि लुतो फाल्ने प्रचलनबाट मुक्त छैन । काठमाडौँ उपत्यकामा विशेष गरी स्युचाटार, पुरानो नैकाप, गोठाटार, नाङ्लेभारे, मूलपानी, गागलफेदी, गोदावरी, थसीखेल, थानकोट, मच्छेगाउँँ, अनन्त लिङ्गेश्वर, चोभारलगायत क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ अगुल्टो फाल्दै लुतो लैजा भनेर नाङ्लो ठटाएर होहल्ला गर्ने चलन अझै छ । स्युचाटारमा आस्थाका साथ यो पर्व मनाइँदै आएको स्थानीय दशरथ लामिछाने बताउनुहुन्छ ।
आर्यघाट सेवा केन्द्रका व्यवस्थापक वैद्यराज सुवर्ण वैद्य भन्नुहुन्छ, ‘‘धसिङ्घरे, भलायो, कुकुर डाइनोलाई बालेर धूपधुँवार गर्दै यसको ठूटो आकाशमा फ्याँक्दा लुतोलगायत चर्मरोगका जीवाणु नास हुन्छन्, आयुर्वेदमा यी वनस्पतिको यस्तै महìव उल्लेख छ, यसै लुतो लैजा भनेर नाङ्लो ठटाइएको होइन । ’’
ज्योतिषी डा. लोकराज पौडेलका विचारमा वर्षाको समयमा हिलोमा काम गर्नुपर्ने भएकाले चर्मरोग लाग्न सक्छ भनेरै कुकुर डाइनो, भलायो र धसिङ्घरे लगायत वनस्पतिलाई धुवाँधार गरिएको हो, यो चलन त्यति अन्धविश्वासपूर्ण भने होइन ।
आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पदमराज भारती चर्मरोग लाग्दा भरिसक्य नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा गएर चिकित्सकलाई देखाउनु राम्रो हुने सुझाव दिनुहुन्छ । सारै चिलाउने, पानीका फोका आउने र कन्याउँदा पोल्दै छालामा सर्दै जाने लुतो पशुबाट मानिसमा र मानिसबाट पशुमा पनि सहजै सर्ने जीवाणुयुक्त रोग भएको चिकिसत्क बताउँछन् । डा. भारती भन्नुहुन्छ, ‘‘अगुल्टो फाल्ने र नाङ्लो ठटाउनेतिर लाग्नु सट्टा स्वास्थ्य केन्द्रमा जँचाउन राम्रो हुन्छ । ’’
सिनामङ्गल निवासी कर्मकाण्डी ब्राह्मण मनोज भण्डारी भन्नुहुन्छ, ‘‘अगुल्टो फाल्दा परालको कुन्यू, मकैका खोस्टा र खरले छाएका घरमा सल्कन सक्छ, त्यसैले अगुल्टो खुला स्थानमा फाल्ने गरिएको छ । यसरी लुतो फाल्दा ‘ओ हो ! लुतो रोग’ भनेर झसङ्ग पार्छ, त्यसैले यस्तो रोग लाग्ला है भनेर सचेत पनि गराउँछ । ’’
साउने सङ्क्रान्ति सूर्य दक्षिणायण हुँदै जाने भएकाले यो याममा मानिसमा बाथ, पित्त, कफमध्ये बाथ बढ्दै जान्छ र विभिन्न रोग देखापर्छ । ज्योतिषी डा. सुनिल सिटौला भन्नुहुन्छ, ‘‘यो महिनामा सागसब्जी र दूध नखानोस्, बाथ बढ्छ भनेर सल्लाह दिने गरिन्छ । ’
सूर्य दक्षिणायण भनेर सचेतना फैलाउन लुतो फाल्ने गरिएको हुनसक्ने उहाँको भनाइ छ । कृषि व्यवस्थाको युगमा रोग लाग्नै नदिन पनि लुतो भगाउने सांस्कृतिक अभ्यास गरिएको हुने सक्ने डा. सिटौलाको भनाइ छ । सरोज आचार्य गोरखापत्रबाट